महिला कलाकार धेरै भए पनि नेपाली फिल्म क्षेत्रमा महिला निर्देशक र प्राविधिकको संख्या पुरुषको तुलनामा निकै कम छ। यसैलाई मध्यनजर गर्दैँ २१ औँ किम्फमा महिला निर्देशकका फिल्महरुलाई विशेष महत्वका साथ समावेश गरिएका छन्।
महोत्सवको दोस्रो दिन महिला निर्देशकका फिल्म प्रदर्शनसँगै महिला विशेष छलफल गरिएको थियो। निर्देशक आकांक्षा कार्की, विदुषी गिरी, सरिता साह र डिना मुफ्टीका साथमा फिल्ममा महिलाको निर्णायक भूमिकाले पार्ने प्रभावहरुबारे ‘वुमन बिहाइन्ड द क्यामेरा’ शीर्षकमा गरिएको थियो।
अमेरिकी राजदूतावासको सहप्रस्तुतिमा रहेको सेसनको प्रारम्भमा नेपालका लागि अमेरिकी राजदूतावासकी इन्फर्मेसन अफिसर मिस जेहरा नाकभीले आफ्नो धारणा राखेकी थिइन्।
‘क्यामेरामा महिलाहरुको सहभागिता र अनुभवका कुराहरुलाई आज हामी सेलिब्रेट गरिरहेका छौँ। अहिलेका यिनै महिला फिल्ममेकरहरु भविष्यका महिला फिल्ममेकरका लागि प्रोत्साहनका स्रोत हुन्,’ उनले भनिन्।
मिस जेहराले कथावाचनले मानिसको मनस्थिति र आवेगलाई प्रस्तुत गर्ने भएकोले कथा सशक्त माध्यम रहेको बताइन्।
पूजा पन्तले सहजीकरण गरेको छलफलमा सहभागीहरुलाई पहिलो प्रश्न सोधिन्, ‘महिला फिल्ममेकर भएर तपाईंहरुले पुरुषहरुले बनाइरहेका फिल्ममा भन्दा अन्य के-के कुराहरु थप्नुहुन्छ ?’
निर्देशक तथा अभिनेत्री सरिताले भनिन्, ‘मैले जे महसुस गर्छु, जे अनुभूत गर्छु त्यो भोगाई र अनुभूति कोही अरुले भन्दा धेरै कुराहरु छुट्न सक्छ। त्यही कुरा मैले बढी प्रष्टसँग भनेर न्याय गर्न सक्छु जस्तो लाग्छ। मैले थप्ने भनेको त्यही छुटेका कुराहरु हुन्।’
सोही प्रश्नको जवाफमा आंकाक्षाले भनिन्, ‘महिलाहरुले बढी संवेदनशील र समभावका साथ कथाहरु भन्छन् भन्ने लाग्छ। प्रोसेसमा उनीहरु बढी इमान्दार भए भने स-साना कुराहरुलाई प्राथमिकता दिने उनीहरुको नजरीयाले फिल्मलाई फरक बनाउन सक्छ।’
‘मेरा लागि चाहिँ दृष्टिकोण महत्वपूर्ण हो। लस्ट इन ट्रान्सलेसन र हर भन्ने फिल्म समान भोगाइबाट जन्मेका फिल्म हुन्। तर यी दुवै फिल्म बिल्कुलै भिन्न छन्,’ अर्की निर्देशक विदुषीले भनिन्।
दुई दशकदेखि फिल्म बनाइरहेकी अर्की वक्ता डिनाले फिल्म क्षेत्रमा अनस्क्रिन महिला प्रतिनिधित्व बढिरहे पनि पर्दापछाडि अझै धेरै महिला फिल्ममेकरहरुको खाँचो रहेकोमा जोड दिइन्।
छलफल सहजकर्ता पूजाले महिला फिल्ममेकरले फिल्डमा भोग्नुपर्ने समस्याबारे सोधेकी थिइन्।
जवाफमा डिनाले भनिन् ‘मैले मेरो फिल्ममा स्वभाविक रुपमा विकास हुने मित्रताको कथा देखाएको छु। फिल्ममा दलित र गैरदलित किशोरीको कथा छ। जातीय विभेदबारे बनेको फिल्मकै छायांकनमा दलित समुदायका कलाकारहरुलाई अभिनय गराएको भनेर हामीलाई विभेद गर्ने काम समुदायबाट भएको थियो।’
सरिता र विदुषीले महिला फिल्ममेकरलाई काम गर्ने क्रममा सहजै विश्वास नगरिने समस्या रहेको बताइन्। महिलाको नेतृत्व क्षमता र सक्षमतामा शंका गर्नु नै सबैभन्दा ठूलो समस्या हो। यसबारे डिनाले भनिन्, ‘महिला नेतृत्व पनि उत्तिकै शक्तिशाली हुन्छ भन्ने कुरा स्वीकार्न जरुरी छ।’
दर्शकहरुसँग अन्तक्र्रियासमेत गरिएको कार्यक्रममा अभिनेत्री लुनिभा तुलाधरले आफूलाई कहाँ देख्नुहुन्छ भनेर वक्ताहरुसमक्ष प्रश्न राखेकी थिइन्। जवाफमा सरिताले भनिन्, ‘पाँच वर्ष मात्र नभई सधैंभरि फिल्म बनाइरहन्छु र महिलाका दबिएका, नसुनिएका, नभनिएका कथाहरु फिल्ममा ल्याइरहन्छु।’
निर्देशक डिनाले यसमा थप्दै भनिन्, ‘महिलाहरुको नजरबाट हेर्दा फिल्म क्षेत्रमा उनीहरुको भविष्य सकारात्मक छ।’
छलफलअघि वक्ताहरुमध्येका विदुषी गिरीको चिसो घर, सरिता साहको थ्रेसहोल्ड र आंकाक्षा कार्कीको सनई प्रदर्शन भएको थियो।
Shares

प्रतिक्रिया