दुई दिनअघि रमित ढुंगानाले फिल्म ‘नमेटिने घाउ’ को प्रदर्शन मिति तोक्दै फस्टलुक पोस्टर सार्वजनिक गरे। जसमा पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो स्थान पाए। साथै प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा, कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मासहित एसिडपीडित मुस्कान खातुन पनि पोस्टरमा देखिए। तर, पोस्टरमा अर्का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने अटाउन सकेनन्।
आज फेरि निर्माण टिमले फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरिएको छ, जसमा नेपालसहित मुख्य कलाकार आउँदा प्रधानमन्त्री ओली भने छैनन्।
राजनीतिमा ओली र नेपालबीच राम्रो सम्बन्ध छैन। ओली सत्तामा हुँदा नेपाल प्रतिपक्षमा छन्। लामो समय एउटै पार्टीमा बिताए पनि पछिल्लो समय उनीहरू राजनीतिदेखि व्यक्तिगत रूपमा फरक बाटोमा छन्। हुँदाहुँदा एउटै फिल्म खेलेर पनि पोस्टरमा ओली र नेपाल सँगै अटाउन सकेनन्। किन त?
निर्माता तथा निर्देशक रमित ढुंगानालाई प्रश्न सोधिएको थियो।
जवाफमा उनले भने, ‘उहाँहरूको केही आपत्ति छैन। एउटैमा भएको पोस्टर पनि आउँछ। तर, सुरुमा उहाँहरू सबैलाई मुख्य स्थान दिइएको फरकफरक पोस्टर आउँछ। अस्ति प्रधानमन्त्री ओलीज्यूको पोस्टर सार्वजनिक गरिएको थियो। आज पूर्वप्रधानमन्त्रीज्यूको आएको छ। केही दिनमा ज्ञानेन्द्र शाही र देवेन्द्र पौडेलजी समेटिएको पनि आउँछ।’
एउटै फिल्ममा यी दुई धारका नेता- सहजै तयार भए नेपाल, स्क्रिप्ट नै सच्याए ओलीले
सत्य घटनामा आधारित यो फिल्म देश नेपालभित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको वास्तविक घटनामा आधारित रहेर निर्माण गरिएको छ।
भोलि फिल्मको ट्रेलर सार्वजनिक हुँदै छ। रमित ढुंगाना निर्देशित यो फिल्म आगामी भदौ ७ गते रिलिज हुँदै छ। यस फिल्ममा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री नेपाललगायत केही राजनीतिकर्मीले पनि अभिनय गरेका छन्। फिल्मको कथा शिवम् अधिकारी लेखेका हुन्। यस फिल्ममा पर्साकी तेजावपीडित मुस्कान खातुनसहित सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, सुनील कटुवाल लगायत कलाकारको अभिनय छ।
Shares

प्रतिक्रिया