कला


डम्बर याक्सो लिम्बुको ‘शीतल शीतल हावा चल्दा’ गीत सार्वजनिक (भिडिओ)

‘दर्जनौँ देश घुमेँ, तर नेपालजस्तो सुन्दर कहीँ कतै फेला परेन’
डम्बर याक्सो लिम्बुको ‘शीतल शीतल हावा चल्दा’ गीत सार्वजनिक (भिडिओ)

मगेन्द्र राई
असोज २५, २०८१ शुक्रबार ९:४३, काठमाडौँ

कवि तथा गीतकार डम्बर याक्सो लिम्बुको रचनामा ‘शीतल शीतल हावा चल्दा’ म्युजिक भिडिओ  सार्वजनिक भएको छ। याक्सोको यो चौथो प्रस्तुति हो। 

अब चाँडै दुईवटा म्युजिक भिडिओ पनि बजारमा ल्याउने जानकारी लिम्बुले नेपालखबरलाई दिए।

लोकप्रिय युवा गायक कञ्चन थलङको  स्वर रहेको ‘शीतल शीतल हावा चल्दा’ म्युजिक भिडिओ थलङकै युटुब च्यानलबाट बुधबार  (असोज २३ गते) सार्वजनिक गरिएको हो। कम्पोज पनि थलङले नै गरेका हुन्। 

कुमार सानु पुनको मिक्सिङ रहेको उक्त गीतको अरेन्ज सन्जिब सुब्बाले गरेका हुन्। संकारा स्टुडिओमा रेकर्डिङ गरिएको गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन्। 

भिडिओ सम्पादन र रंग विकाश धमलाका हुन् भने निर्देशन निकेश खड्काले गरेका हुन्। सुदीप खड्काको निर्माण व्यवस्थापन रहेको उक्त भिडिओमा मेकअप पुनम चौधरीले गरेकी हुन्।

गीतको भिडिओमा गायक स्वयं थलङ  र अञ्जना तामाङले अभिनय गरेका छन्। प्रेमिल र रोमान्टिक उक्त गीतको छायांकन काठमाडौँको साखु जर्सिङ पौवा भन्ने सुन्दर स्थानमा गरिएको हो।

सम्झनाको भग्नावशेषमा पुरिसकेको प्रसंगलाई पुनर्जीवन दिएको रचनाकार याक्सोले बताए। यो गीत उनी झन्डै ४० वर्षअगाडि ब्रिटिस गोर्खामा भर्ना भएपश्चात् हङकङमा हुँदा लेखिएको हो।

उनले सम्झनाहरू उप्काउँदै भने, ‘विवाह गरेपछि बेलायती सेनामा भर्ना भइयो, हङकङको उष्णतामा सैनिक अभ्यास गरिरहँदा गोधुली साँझमा शीतल हावाको झोक्काले अनुहारमा स्पर्श गर्दा साक्षात् आफ्नै श्रीमतीको मायालु हातले पसिना पुछिदिएझैँ भान हुन्थ्यो, अनि एकैचोटि घरपरिवारको यादले सताउँथ्यो, हो त्यही वातावरणले यो गीत कोरलेको हो।’

उनी सानैदेखि कविता कोर्थे। तर निकै लजालु स्वभावका उनी आफ्ना कतिपय कविताको भ्रूणहत्या भएको बताउँछन्। लेखेको कविता लाजका कारण त्यतिकै थन्क्याँथे रे। केही समय शिक्षण पेसामा हुँदा लेखन यात्राले गति लिएको थियो।

तर उनको साहित्यिक यात्रा सेनामा भर्ती भएपछि अवरुद्ध भयाे। लाहुरेको संसार अर्कै थियो। उनी साहित्यिक सडकबाट करिब पूर्ण रूपमा मोडिए।

‘नदीलाई किनारले पछ्याइरहेजस्तै जिन्दगीलाई पनि सम्झनाले पछ्याइरहने रहेछ’, उनी पुराना कुरा सम्झेर भावुक हुन्छन्। 

उनले थपे,  ‘जीजिविषाको क्रममा भोगाइको संसर्गले रचना जन्माउँदो रहेछ।’

हाल उनी आफ्नो अवकाश जीवन नेपालमा बिताइरहेका छन्। उनले यो फुर्सदिलो समय समाजसेवा र साहित्यिक सेवामा लगाइरहेका छन्। उनको गत वैशाखमा मेरा मनका अव्यक्त भावहरू कविता संग्रह सार्वजनिक भएको छ।

तपाई‌ंका धेरैजसो साथी बेलायत बसेर पाउन्ड थाप्दै सुविधाजनक जीवन बिताइरहेका छन्, तपाईंले त नेपाल नै रोज्नु भो नि किन?

नेपालखबरको जिज्ञासामा उनले भने,  ‘त्यो आआफ्नै छनोट हो, आआफ्नै दृष्टिकोण  हो, मलाई के लाग्छ भने हामी चारो खोज्न गएका चखेवा हौँ, साँझमा आफ्नो गुड फर्कनैपर्छ, चिल जतिसुकै आकाशमा उडे पनि आखिर धर्तीमा झर्नै पर्दछ, मान्छेहरू नेपालमा बेथिति छ, सब भद्रगोल छ भन्छन्, हामीले नकारात्मक मात्र हेर्नु हुन्न, दिन र रातजस्तै हरेक कुराका सकारात्मक र नकारात्मक पक्ष हुन्छन्, मैले सैनिक सेवामा छँदा दर्जनौँ देश घुमेँ, तर नेपालजस्तो सुन्दर कहीँ कतै फेला परेन। मलाई त आमाको काखजस्तै लाग्छ नेपाल।’

ताप्लेजुङ हाङ्पाङका स्थायी बासिन्दा याख्सो हाल ललितपुर तिखेदेवलमा बस्छन्। बाँकी जीवन समाजसेवा र साहित्यमा व्यतीत गर्ने मनशाय बनाएका उनले  बालकृष्ण समको भनाइ साभार गर्दै भने, ‘देशभक्ति त मर्दैन चुथ्थै देश भए पनि।’

गीतको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad