कला


दीपकले साइबर सेनाको कमान्डर भनेपछि आक्रोशित बने निर्माता सन्तोष सेन

दीपकले साइबर सेनाको कमान्डर भनेपछि आक्रोशित बने निर्माता सन्तोष सेन

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १५:४७, काठमाडौँ

असोज २४ गतेबाट प्रदर्शन भएका फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ ले आक्रामक व्यापार गरिरहेका छन्। रिलिजअगावै शितयुद्भ सुरु भएको दुवै फिल्मबीच बक्सअफिसमा भिडन्त भइरहेको छ।

रिलिजअघिबाटै ‘छक्का पञ्जा ५’ का प्रचार सामग्रीमा निकै नकारात्मक प्रतिक्रिया आएका थिए। साथै हरेक प्रचारमा १२ गाउँ लेखेपछि दीपकराज गिरीले केही साइबर सेना लागेको आरोप लगाएका थिए। यसपछि अभिनेता विराज भट्टले साइबर सेना भन्नेहरूलाई हलमै आएर फिल्म हेर्न चुनौती दिए।

यसैबीच, साइबर सेनाको विवाद पुन ब्युँतिएको छ। हालै ‘द प्रकाश सुवेदी शो’ मा पुगेका अभिनेता दीपकको अभिव्यक्तिले फेरि विवाद सुरु भएको हो।

प्रकाशले निर्माता सन्तोष सेनको तस्बिर देखाउँदै कुन रूपमा चिन्नुहुन्छ? सेक्सनमा दीपकलाई सोधेका थिए। जवाफमा उनले सेनलाई साहसी निर्माता बताउँदै सेनको प्रचार शैली राम्रो रहेको बताए।  
‘अहिले त उहाँलाई कमान्डर पनि भन्दा रहेछन् नि, हो ?’ उनको कमान्डर भन्ने शब्द साइबर सेनालक्षित थियो।

दीपकले पनि घुमाउरो पारामा सन्तोष साइबर सेनाको योजनाकार रहेको जवाफ दिए। ‘उहाँ कमान्डर हो भन्ने कुरा मैले पनि सुनेको छु। ठीक छ, कमान्डिङ राम्रो छ। त्यो सकारात्मक कमान्डिङ रहोस्।’

पत्रकार सुवेदीले फेरि सोधे, ‘तपाईँले अहिले जति गाली खाइरहनुभएको छ, त्यसमा सबैभन्दा ठूलो हात उहाँको हो? जवाफमा दीपकले आफूले त्यही सुनिरहेको बताए। तर, करिअरको यो क्षणमा आएर कसैले आफूमाथि प्रहार गरेको हो भनेर दाबी गर्न नैतिकताले नदिए बताए।

‘मेरो कानमा चाहिँ आएको छ। तँविरुद्ध क्याम्पेनिङ गर्‍यो भन्छन्। तर, म सुनेको भरमा दौडिन्नँ। यदि हो भने पनि ठीक छ नि। मैले केही गर्न सक्दिनँ। तर, म होइन भन्छु। मलाई ‘छक्का पञ्जा ४’मा उहाँले एकदमै नैतिक बल दिनुभएको थियो।’

दीपकले साइबर सेनाको कमान्डरको संज्ञा दिएपछि निर्माता सन्तोष सेन आक्रोशित बनेका छन्। उनले बुधबार फेसबुकमा २५ मिनेट लामो भिडिओ राख्दै आफूलाई विना प्रमाण लाञ्छना लगाएको बताएका छन्।

‘जसले उहाँहरूलाई भनेको हो, उसलाई कारबाही त गर्नुपर्छ। प्रकाश दाइलाई कसले भनेको हो? त्यो मान्छे पनि ल्याउनुपर्‍यो। अनि दीपक दाइले पनि मैले सुनेको हो भन्नुभएको छ। उहाँलाई सुनाउने मान्छे पनि ल्याउनुपर्‍यो। मान्छेलाई त्यत्तिकै लाञ्छना लगाउन त मिल्दैन नि। यदि मैले गरेको हो भने मलाई थुन्नुपर्‍यो। गाली गर्ने समूह बनाएर मान्छेलाई डिप्रेसनमा पार्न सुहाउँछ? त्यो हो भने मलाई थुन्नुपर्छ। मलाई जेल हाल्नुपर्छ। म जेल जान तयार छु,’ उनले भनेका छन्।

‘१२ गाउँ’ हेर्न हलमा आएका दर्शकलाई साइबर सेना र साइबर स्याल भनेर अपराधी करार गरिएको उनको भनाइ छ। साथै कसैले २० करोड कमाउँदैमा उद्योग नधानिने समेत दीपकलक्षित कटाक्ष गरे।
‘दीपकराज गिरीले इन्डस्ट्री धानेको भन्ने मनगढन्ते कुरा गरिएको छ। एउटाले २० करोड कमाउँदैमा इन्डस्ट्री धानिँदैन। फिल्म रिलिज भएपछि उल्टै प्राविधिक, सर्भरलाई पैसा तिर्नेको पनि उत्तिकै भूमिका छ। तपाईँले ८ वटा फिल्मबाट एक अर्ब कमाउनुभएछ। बधाई छ। यो कमाइअनुसार तपाईँले धेरै गर्न सक्नुहुन्थ्यो,’ सेनले भनेका छन्, ‘प्रतिभाशाली कलाकार लिएर ठूलो क्यानभासमा फिल्म बनाएर नेटफ्लिक्समा रिलिज होस् भन्ने चाहना राख्नुपर्थ्यो के दाइ। अनि नेपाली फिल्म क्षेत्र अगाडि बढ्थ्यो। हामी खाली अंकगणितमा सीमित छौँ। अंकगणितले व्यक्तिगत रूपमा फाइदा होला तर इन्डस्ट्रीलाई भएन। जुन तरिकाले समीरका १२ गाउँका लागि दर्शकहरू उर्लिएका छन्,त्यसको नतिजा नै यही हो।’

सेनको आगामी फिल्म ‘बलिदान’ मा समीर भट्ट मुख्य भूमिकामा देखिँदैछन्। समीर आफ्नो फिल्मको हिरो भएकाले पनि बढी सहयोग गरेको सेनले स्वीकारे। समीर विश्वसम्म चिनाउने एक मात्र कलाकार रहेको उनको ठहर छ। समीरको उदयलाई लिएर फिल्म क्षेत्रका व्यक्तिहरू खुसी नरहेको उनको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad