कला


इटलीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटलीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

नेपालखबर
जेठ ३०, २०८३ शनिबार १४:२, काठमाडौँ

इटलीको लोनाटो डेल गार्डामा ‘नेपाल टुडेः इन द फरेस्ट, इन द भिलेज’ शीर्षकको फोटोग्राफी प्रदर्शनी आयोजना गरिएको छ।

प्रदर्शनीमा इटालियन क्युरेटर फिलिपो माज्जाको छनोटमा तीन नेपाली फोटोग्राफरः किशोर शर्मा, उमा विष्ट, र सागर क्षेत्रीका प्रस्तुति राखिएका छन्। 

प्रदर्शनी अगस्ट ३० सम्म जारी रहनेछ। 

प्रदर्शनीमा रहेको किशोर शर्माको फोटो शृ‌ंखला 'लिभिङ इन द मिस्ट'ले घुमन्ते राउटे समुदाय र उनीहरूको जीवनशैलीबारे सात वर्षको अवधिमा गरिएको फोटो दस्तावेजीकरण प्रस्तुत गरेको छ।

उनी शीर्षकको फोटो पुस्तकका रूपमा पनि प्रकाशित यो शृंखलाले 'आधुनिक' संसारमा समाहित नहुन राउटेहरूले गरिरहेको प्रतिरोधको दुर्लभ झलक देखाउनुका साथै वैकल्पिक र स्वायत्त जीवनशैलीको सम्भावना पनि प्रस्तुत गर्छ। 

उमा विष्टको फोटो शृंखला ‘वनका हाम्रा गीत’ले छाउपडी प्रथाले महिनावारीका बेला गोठमा बस्न बाध्य अछाम जिल्लाका किशोरीको पीडा भन्छ। 

सन् २००५ मै गैरकानुनी र २०१८ मा दण्डनीय अपराध घोषणा गरिए तापनि सामाजिक बहिष्कारको डर र अन्धविश्वासका कारण छाउपडी कुप्रथा कायमै छ। 

त्यसैगरी सागर क्षेत्रीको फोटो शृंखला ‘ग्रहण’ले नेपालको दक्षिणी सीमावर्ती क्षेत्रमा रहेको मधेसका जनताको राज्यसँगको जटिल सम्बन्ध र प्रायः विवादित बनाइने पहिचानको चर्चा गर्छ। 

प्रदर्शनीको परिचयमा क्युरेटर फिलिपो माज्जाले हालको पश्चिमा फोटोग्राफीको अवस्था र दक्षिणी गोलार्धमा यसको भूमिका बिचको तीव्र भिन्नताबारे चर्चा गरेका छन्।

साथै नेपालको समकालीन फोटो कलाकारहरूको उदीयमान पुस्तामा थप प्रकाश पार्दै उनी भन्छन, ‘केवल फोटोग्राफीमा केन्द्रित हुँदै नेपालले आफूलाई लैंगिक मुद्दा, स्मृति र पहिचान, उत्तर-उपनिवेशिक सम्पदा, राजनीति, समाज, धर्म र संस्कृतिजस्ता विषयवस्तुहरूको अन्वेषण गर्ने युवा कलाकारहरूले भरिपूर्ण देशको रूपमा प्रस्तुत गरेको छ। समकालीन कलाकारहरूको वर्तमान पुस्ता सम्भवतः नेपालमा अवस्थित पहिलो पुस्ता हो, जसले सार्वजनिक र निजी सुविधाहरूको अभावको बाबजुद पनि आफ्नो काममार्फत दृढ कलात्मक पृष्ठभूमि, सक्रिय ऊर्जा, शक्तिशाली सामग्री र निडर अभिव्यक्तिको स्वरूपहरू प्रस्तुत गरेका छन्।’

प्रदर्शनीको क्याटलग प्रसिद्ध इटालियन प्रकाशन गृह सिल्भाना एडिटोरियलले प्रकाशन गरेको छ। यस परियोजनालाई इटालियन संस्कृति मन्त्रालयको स्ट्राटेजिया फोटोग्राफिया २०२५ कार्यक्रम अन्तर्गत सहयोग प्राप्त भएको छ।

'नेपाल टुडेः इन द फरेस्ट, इन द भिलेज' जुन ११ देखि अगस्ट ३०, २०२६ सम्म इटलीको ब्रेसियाको लोनाटो डेल गार्डामा सार्वजनिक प्रदर्शनीमा रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad