चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत फिल्मको व्यापार सार्वजनिक गरेको छ।
बोर्डका अनुसार जेठ ८ गतेबाट प्रदर्शन भएको फिल्म ‘मितज्यू’ को व्यापार एक करोड ३२ लाख ५३ हजार ३४२ रुपैयाँ पुगेको छ। आइतबारसम्म फिल्मका ४६ हजार १५४ टिकट बिक्री भएका छन्।
अनिल बुढा मगर निर्देशित यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल र टेरिया मगर मुख्य भूमिकामा छन्। यसै फिल्ममार्फत चर्चित डान्सर टेरियाले सिनेक्षेत्रमा डेब्यू गरेकी हुन्।
त्यस्तै, सोही दिन रिलिज भएको फिल्म ‘काजी’ले ४४ लाख ४८ हजार ६० रुपैयाँ ग्रस कमाएको छ। सोही अवधिसम्म यसलाई १४ हजार ३२४ जनाले हेरेका छन्। यस फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन्। फिल्मले विवाहित दम्पतिबीचको प्रेमलाई समेटेको छ।
जेठ १५ गतेबाट रिलिज भएको ‘रोल नम्बर १’ ले एक करोड ३५ लाख १५ हजार ९९३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यसलाई ४७ हजार १५१ जनाले हेरेका छन्। ‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको लगानी रहेको यस फिल्मले शैक्षिक विषयवस्तुलाई उठान गरेको छ।
जोन योञ्जनको निर्देशन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। फिल्मको बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।
‘कुम्भ’ को भने व्यापार बिजोक छ। यस फिल्मले तीन लाख ९१ हजार १० रुपैयाँ ग्रस कमाएको छ। सोही अवधिसम्म यो फिल्मलाई एक हजार ६७९ जनाले हेरेका छन्।
निमेष श्रेष्ठ निर्देशित ‘लाइफ ड्यामेज’ले ३४ लाख ६६ हजार २९० रुपैयाँ ग्रस कमाएको छ। सोही अवधिसम्म यसलाई ११ हजार ३७१ जनाले हेरेका छन्।
Shares

प्रतिक्रिया