कला


कर्णालीमा छायांकनका लागि प्रदेश सरकारले एक करोड छुट्याउने सहमति छ: ज्ञानेन्द्र शाही

कर्णालीमा छायांकनका लागि प्रदेश सरकारले एक करोड छुट्याउने सहमति छ: ज्ञानेन्द्र शाही

नेपालखबर
असार १, २०८३ सोमबार १५:१, काठमाडौँ

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करणको विशेष आकर्षणको रूपमा रहेको ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको आवेदन दिने समयसीमा थप गरिएको छ।

काठमाडौँमा सम्पन्न एक विशेष कार्यक्रमबीच परिमार्जित समय तालिका र विस्तृत नियमहरू सार्वजनिक गरिएको हो। कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेश सरकारले नेपाली चलचित्र छायांकनको लागि एक करोड बजेट छुट्याउने सहमति भएको जानकारी दिए।

‘हामीलाई कर्णाली प्रदेश सरकारले वाचा गर्नुभएको छ, यो वर्ष चलचित्रकै लागि भनेर एक करोड बजेट छुट्टाउने सहमति छ। म सरकारलाई पुनः त्यो वाचा सम्झाउन चाहन्छु,’ शाहीले भने। 

कर्णाली क्षेत्रका अनगिन्ती र मौलिक कथालाई सिने/पर्दामा उतार्न तथा स्थानीय लेखक, युवा र सर्जकलाई चलचित्र लेखनमा प्रोत्साहन गर्ने उद्देश्यले यो नवप्रवर्तनात्मक कार्यक्रम अघि सारिएको हो। प्रतियोगिता सार्वजनिक भए लगत्तै विशेष गरी कर्णाली क्षेत्रका स्थानीय सर्जक, लेखक तथा दूरदराजमा रहेका प्रतिभाबाट भौगोलिक विकटता, कार्यव्यस्तता र सिर्जनात्मक तयारीका लागि थप समय आवश्यक रहेको भन्दै अनुरोध आएपछि महोत्सव सचिवालयले आवेदन दिने अवधि थप गर्ने निर्णय गरेको हो।

कोही पनि योग्य एवं प्रतिभावान सर्जक यो सुनौलो अवसरबाट नछुटुन् र कथाहरूमा परिपक्वता आओस् भन्ने हेतुले यो निर्णय लिइएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले प्रस्ट पारे। देश तथा विदेशमा रहेका सिर्जनशील लेखकबाट आह्वान गरिएका कथाहरूमध्ये विशेषज्ञ निर्णायक मण्डलद्वारा पारदर्शी ढंगले उत्कृष्ट १५ कथाको छनोट गरिनेछ।

छनोट भएका कथालाई महोत्सवको ‘फिल्म स्टोरी बैंक’मा सुरक्षित राखिनेछ। साथै लेखकलाई पटकथा लेखनसम्बन्धी विशेष तालिम प्रदान गरिने आयोजकले जनाएको छ। 

सर्वोत्कृष्ट तीन कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्रसहित विशेष सम्मान गरिनेछ। स्वदेश तथा विदेशका चलचित्र निर्माता एवं निर्देशकलाई आमन्त्रण गरी ती कथामा व्यावसायिक चलचित्र निर्माणका लागि मार्गप्रशस्त गरिनेछ भने चलचित्र निर्माण हुने निश्चित भएमा कथाकारलाई नामसहित उचित व्यावसायिक पारिश्रमिक र परामर्शसमेत प्रदान गरिनेछ।

प्रतियोगितामा स्वदेश तथा विदेशमा बसोबास गर्ने जुनसुकै उमेर समूहका नेपाली नागरिकले भाग लिन सक्नेछन्। सहभागी हुन नेपाली नागरिकता वा परिचयपत्र आवश्यक पर्नेछ भने कथा पूर्ण रूपमा मौलिक, अप्रकाशित र अनिवार्य रूपमा कर्णाली क्षेत्रको संस्कृति, परम्परा, इतिहास वा सामाजिक यथार्थमा आधारित भई नेपाली भाषामा लेखिएको हुनुपर्नेछ।

कथाको शीर्षकसहित तीनदेखि पाँच हरफको मर्म (लगलाइन) शीर्ष स्थानमा राखी एमएस वर्डमा टाइप गरिएको कम्तीमा तीन पृष्ठको सारांश वा बढीमा सात पृष्ठको विस्तृतीकरण पेश गर्नुपर्ने नियम तय गरिएको छ। सहभागीले आफ्नो परिचयपत्र र कथा सुरक्षित गर्न दिएको अनुमतिपत्रसहित महोत्सवको आधिकारिक इमेलमा परिमार्जित अन्तिम म्याद आगामी मंसिर १४ गतेभित्र आफ्नो सिर्जना पठाइसक्नुपर्नेछ।

आगामी पुस १६ गते नतिजा प्रकाशन गरिनेछ भने छनोटमा परेकाहरूलाई चौथो महोत्सवको आयोजना समयमा चलचित्र स्क्रिप्ट लेखन तालिम प्रदान गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad