चर्चित भारतीय वेब सिरिज ‘मिर्जापुर’ मा आधारित रहेर फिल्म बन्ने भएको छ। हालै ‘मिर्जापुर’ सिजन ३ को सफलतापछि अमेजन एजीएम स्टुडियोज र एक्सेल इन्टरटेनमेन्टले फिल्म बनाउने घोषणा गरेका हुन्।
‘मिर्जापुर यसको रोचक पात्र, अविस्मरणीय संवाद र आकर्षक कथाका कारण आजको सबैभन्दा लोकप्रिय फ्रेन्चाइज भएको छ । हामी हाम्रा दर्शकको प्राथमिकता अनुरूपका सामग्री सिर्जना गर्नमा गर्व गर्छौं। मिर्जापुरको बढ्दो लोकप्रियतालाई आत्मसात गर्दै हामी यो फ्रेन्चाइजलाई थिएटरमा ल्याउन उत्सुक छौं,’ प्राइम भिडियोका कन्टेन्ट प्रमुख मनिष मेन्घानीले भने।
पुनित कृष्णद्वारा निर्मित यस यस फिल्मलाई गुरमीत सिंहले निर्देशन गर्नेछन्। यस फिल्ममा मिर्जापुर सिरिजकै चर्चित पात्रहरु कालिन भैया (पंकज त्रिपाठी), गुड्डु पण्डित (अली फजल) र मुन्ना त्रिपाठी (दिव्येन्दु) सहित अभिषेक बनर्जी मुख्य भूमिकामा देखिनेछन्। क्राइम थ्रिलर जनरामा बन्ने यो फिल्म सन् २०२६ मा रिलिज हुनेछ।
सिनेमाहलमा रिलिज भएको आठहप्तापछि यो फिल्म प्राइम भिडिओमा स्ट्रिमिङ हुने समेत बताइएको छ। २४० भन्दा बढी देशहरूबाट प्राइम सदस्यहरूले हेर्न पाउनेछन्।
चर्चित मिर्जापुरको पहिलो सिजन नोभेम्बर २०१८ मा र दोस्रो सिजन अक्टोबर २०२० मा रिलीज भएको थियो। २०२४ मा रिलिज भएको शोको तेस्रो सिजनले पनि निकै चर्चा बटुलेको थियो।
Shares

प्रतिक्रिया