कथाकार गुरुप्रसाद मैनालीले लेखेको कथा ‘परालको आगो’मा आधारित फिल्म बन्ने भएको छ।
मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणका लागि मञ्जुरी दिएको हो।
‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ।
फिल्मका निर्माता सुशीलकुमार पोखरेललाई कथाकार मैनालीका छोरा माधवप्रसादले ‘कथाको मर्म नबिग्रने गरी’ निर्माणको अनुमति दिएका हुन्।
यसै नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म बनाएका थिए।
निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए।
निर्माता पोखेलका अनुसार फिल्मको प्रदर्शन २०८२ को दसैँमा हुनेछ। निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने फिल्म फागुनदेखि छायांकनमा जाँदै छ।
निर्माण पक्षले कलाकार फाइनल हुन बाँकी रहेको जनाएको छ।
कथा ‘परालको आगो’मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ। निर्माता पोखरेलले यसअघि ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ फिल्म निर्माण गरिसकेका छन्।
Shares

प्रतिक्रिया