माध्यमिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘एक जोर जुत्ता’ कथामा लघुचलचित्र निर्माण भएको छ। लघुचलचित्र ‘एक जोर जुत्ता’ को पटकथा तथा निर्देशन मोहन अभिलाषीले गरेका छन्। ऐना आर्टसको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्रलाई नारायण जिसीले छायांकन गरेका हुन्।
‘एक जोर जुत्ता’ कथालाई लेखक महेशविक्रम शाहले लेखेका हुन्। आफू विदेश यात्रामा रहँदा भएको यथार्थ घटनामा आधारित भएर लेखिएको कथा ‘एक जोर जुत्ता’ कथामा चलचित्र निर्माण हुँदा शाहले खुशी व्यक्त गरे। उनले लेखेको कृति ‘छापामारको छोरो’ ले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो।
सर्टफिल्म ‘एक जोर जुत्ता’ मा श्रमिका लुइँटेल, सुरज पराजुली, रामबाबु रेग्मी, गीताश्री थापा, समिरा थापा, सितास्मा खड्का, सहदेव बस्नेत र राजु कारंजितको अभिनय रहेको छ।
कला निर्देशन सुमित राई र निर्माण व्यवस्थापन कविर शाक्यले गरेका छन्। छायांकनअघि मुन क्रियशन फिल्म एकेडेमीमा कार्यशाला गरिएको लघुचलचित्रलाई अनिल कुमार महर्जनले रंग संयोजन तथा सम्पादन गरेका हुन्।
लघुचलचित्रको निर्माणसँगै कास्टिङ डिरेक्सन रंगकर्मी सुरेन्द्र क्षेत्रीले गरेका हुन्। बालबालिकाको क्षेत्रमा लामो समयदेखि कार्यरत क्षेत्री काठमाडौाका विभिन्न स्कूलहरुमा पनि नाटक प्रशीक्षण गर्दै आईरहेका छन्। अहिले विद्यालयहरुमा पढाउने तरिका नै परिवर्तन भईरहेको अवस्थामा विद्यार्थीहरुका लागि कथा बुझ्न अझ सहज होस् भन्ने हेतुले लघुचलचित्र निर्माण गरिएको निर्माता क्षेत्री बताउँछन्।
मोहनको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘पाउलो’, ‘द स्कूल वाल’ ले विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर अवार्डसमेत प्राप्त गरेको थियो।
Shares

प्रतिक्रिया