नेपाली मनोरञ्जन वृत्त विचित्रकै छ, यहाँ कलाकारहरु बेलाबखत दर्शकलाई पर्दाभित्र मात्रै होइन, पर्दाबाहिरै ‘रमिता’ देखाउँछन्। पछिल्लो उदाहरण हो–फेसबुकमा चलिरहेको ज्योति मगर र समीक्षा अधिकारीको ‘व्यंग्य’को जुहारी।
आइतबारबाट सुरु भएको यो जुहारी हालसम्म जारी छ। आइतबार दिउँसोको १२ः४५ बजे गायिका अधिकारीले उडानमा ढिलाइ भएपछि श्री एयरलाइन्सप्रति आक्रोश पोख्दै एक स्टाटस लेखिएको थियो।
स्टाटसमा भनिएको थियो, ‘आफ्नो मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ। अन्य एयरलायन्सले धमाधम प्लेन उडाइरहेका छन्। केहि दिनअघि पनि मैले यहि एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको थियो। आज पनि म बिहानैदेखी काठमाडौं एयरपोर्टमै छु। श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होईन। यस्तो घटना कि त अन्य एयरलायन्ससंग कमिसन खाने कर्मचारीले घटाउछन्, कि त यो एयरलायन्स काम छैन।’
समीक्षाको यो गुनासो स्वाभाविक थियो। तर, खोइ किन हो, ज्योतिलाई पचेन। उनले नाम नै इंगित त गरिनन् तर समीक्षाले स्टाटस लेखेको डेढ घन्टापछि अर्थात् दिउँसो २ः३२ बजे ‘भर्खर भर्खर प्लेन चढ्न थालेका कलाकार’ भन्दै स्टाटस लेखिन्।
उनले स्टाटसमा लेखेकी थिइन्, ‘म अचेल प्रत्यक दिन २ ओटा जति फ्लाइट गर्छु। एक दिन त मैले बिहान बिराटनगर टु काठमान्डौं टु पोखरा टु काठमान्डौं टु नेपालगन्ज गरेर ४ ओटासम्म फ्लाइट गरेँ। मौसमको कारण भर्खरै मात्र माघ १ गते र माघ ५ गते २ ओटा ठुला कार्यक्रम रद्द गर्नुपर्यो। किन कि प्रकृति भन्दामाथि हामी कोही छैनौँ।’
उनी यतिमै रोकिएकी छैनन्। उनले थप लेखेकी छन्ऽ ‘भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकारहरु आज भोलि अधिकाशं एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफूलाई भयंकर ठूलो स्टार सम्झेको देख्दा मलाई हाँसो उठ्छ बरै। नेपालको एयरपोर्ट एयरलाइन्सको बारेमा बुझ पाखेहरु। कुनै पनि एयरलाइन्सले जानी जानी दुख दिँदैनन्। एयरपोर्ट सानो छ, अन्तर्राष्ट्रिय उडानदेखि डोमेस्टिक उडान एउटै ‘रनवे’मा हुन्छ। विभिन्न टेक्निकल कुराहरु हुन्छन्। जहाजहरु उड्न, उडाउन पार्किङ गर्न, सबै कुराको अनुमती दिने निश्चित निकायहरु हुन्छन्। एउटा प्यासेन्जरले सिट बेल्ट मात्रै लाउन नमानिदिँदा ‘टेकअफ पोइन्ट’मा पुगेको जहाजसम्म फर्काउनुपर्ने सास्ती एयरलाइन्सवालाले भोग्नुपर्छ। साझा बस चढेर ड्राइभर र बस स्टाफलाई मनलागि गाली गर्या जस्तो होइन। फलानो एयरलाइन्स ठिक छ, फलानो एर्लाइन्स धोकेबाज भन्दै मन गणन्ते फाल्तु कुरा गर्नु बेवकुफी हो। प्रिय कलाकारहरु आजभोलि एउटा नियम छ, एयरपोर्टभित्र जाहाजको वरिपरि फोटो खिच्न पाइँदैन। पिलेनतिर फर्केर फोटो खिचेर आफुलाइ भयंकर ठूलो व्यस्त कलाकार नदेखाउनु होला। कलाकार हुनुभन्दा अगाडि नियम कानुन पालना गर्ने सभ्य नागरिक बनौ धन्यवाद तोर्पेज्यु हरु। ’
अन्त्यमा उनले ‘यो स्टाटस पुरा पढौँ, केही कुरा सिकौँ र सिकाऊ’ भन्दै थप नोट पनि लेखेकी छन्। ज्योतिको यो स्टाटस सिधैँ समीक्षालक्षित हो भने बुझ्न दर्शकलाई गाह्रो भएन। ज्योतिले समीक्षालाई खेदो खनेको भन्दै ज्योतिको खेदो खन्न फेरि समीक्षाको प्रशंसकहरु सामाजिक संजालको मैदानमा उत्रिए।
नाम नतोकिकन लेखेपनि दर्शकले थाहा पाएपछि सायद ज्योतिलाई च्वास्स बिज्यो। कमेन्टमा थामिनसक्नु गाली आएपछि ज्योतिले राति ८ः २६ बजे समग्र कलाकारको प्रवृत्तिप्रति नै लक्षित गरेर यो स्टाटस लेखेको भन्दै स्पष्टीकरण नै दिनुपर्यो।
उनको स्टाटसमा भनिएको थियो, ‘अस्ती कोही एक जना गायिकाले भोगेको घरेलु हिंसाको बारेमा कसैको नाम नै नतोकिकन छुस्स छोडिदेको, वकिल, जज शुभचिन्तकको ओइरो लाग्यो। फलाना नै हुन्, बिचरा फलानालाई बचाउ, फलानालाई के भा’को रैछ भनेर आपसे आप चिन्ता ब्यक्त गर्दै कमेन्ट गर्दै कन्टेन्ट बनाउँदै फलाना नै हुन् भन्दै स्ट्याम्प लगाइ रोइलो गरे। आज एयरपोर्ट र एयरलाइन्सको परिस्थिति, मौसम, एयरपोर्टभित्रको सिस्टमको बारेमा जानकारी नि लेउ है भनेर समग्रमा कलाकारिताको पोज मार्नेहरु लाई छुस्स दे’को, फेरि यो त फलाना लाई नै हो भन्दै आपसेआप शुभचिन्तक ज्ञानीहरुको ओइरो लाग्दैछ। हेलो ‘बिन बुलाय’ शुभचिन्तकहरु भन्न खोजेको २ वटा कुरा हो। अस्ती घरेलु हिंसाको बिरुद्दमा लड्नु भन्नु खोजेको हो, आजको चाँही अनावश्यक स्टार पोज नमार, एअरपोर्ट एयरलाइन्सको सिस्टमको बारे मा बुज भन्या हो। अझै भन्छु, पिलेन वरिपरि पोज मारेर फोटो खिच्नु पाइदैन। आफू लाई महान् र ब्यस्त देखाउनलाई नियम बिपरित काम नगर भन्या हो। कमन सेन्स’मरु’। लु शुभ चिन्तकहरु बिन बुलाय मनगणन्ते डिफेन्स गर्दै गर्नु। म लागे स्टेजतिर..।’
ज्योतिले ‘भर्खर भर्खर प्लेन चढेका कलाकार’ भन्दै व्यंग्य गरेपछि समीक्षालाई पनि कहाँ पच्थ्यो र। उनले क्षणक्षणमा प्लेन चढेर महोत्सव गइरहेको तस्बिर, भिडियो र स्टोरी फेसबुकमा हालिरहेकी छन्। र लेखिरहेकी छन्– ‘दुश्मन हेरेको हेर्यै।’
ज्योतिले प्लेनअगाडि पोज मारेर फोटो नखिच्नु भन्दै सुझाव दिएर होला, त्यसको जवाफमा उनी पोज पोजमा प्लेनअगाडि उभिएर तस्बिर हालिरहेकी छन्। मंगलबार दिउँसो मात्रै उनले ‘दुश्मन हेरेको हेर्यै, आज म्याग्दी महोत्सवमा भेटौँ है त’ भन्दै प्लेन अगाडि उभिएको पोज पोजको तस्बिर राखेकी छन्।
धेरैलाई लागेको हुनसक्छ, ज्योति–समीक्षाको यो द्वन्द्व यही प्लेनको स्टाटसबाट सुरु भएको हो। तर, उनीहरुको सम्बन्ध पल शाह प्रकरणदेखि नै बिग्रिएको थियो। समीक्षाले पलविरुद्ध जर्बजस्ती करणीको जाहेरी दिएपछि ज्योति उनको विरुद्धमा उभिएकी थिइन्।‘बलात्कार त हुँदै होइन। सुरुसुरुमा मायाजाल अहिले आएर महाजाल,’ उनले समीक्षाविरुद्ध फेसबुकमा खुलेरै स्टाटस लेखेकी थिइन्।
समीक्षाविरुद्ध ज्योतिको लगातार आक्रमणपछि यतिखेर प्रशंसकहरु उनलाई सर्वत्र प्रश्न गरिरहेका छन्, ‘आखिर कहिलेसम्म समीक्षाको खेदो खन्ने हो ज्योतिजी?’
Shares

प्रतिक्रिया