कला


डलर तिरेर किनिएका हुन् युट्युब कन्टेन्टका भ्युज?

डलर तिरेर किनिएका हुन् युट्युब कन्टेन्टका भ्युज?

लक्ष्मी बलायर
माघ १२, २०८१ शनिबार ८:४६, काठमाडौँ

१२ दिनअघि कृषा चौलागाईं निर्देशित फिल्म ‘पिताम्बर’ को टिजर सार्वजनिक गरियो। सार्वजनिक भएको २४ घण्टामै युट्युबमा टिजरलाई १० लाखपटक हेरियो। प्रदीप खड्काको एक्सन अवतारको निकै चर्चा पनि चल्यो।

चर्चाबीच दुई दिनमा टिजरले १५ लाख भ्युज कटायो। छोटो समयमा अत्यधिक भ्युज पाएपछि निर्देशक चौलागाईंले मिडियासँग खुसी समेत व्यक्त गरिन्।

तर, त्यसपछि भने भ्युजको गति रोकिएको छ। माघ २ गते बुधबार १५ लाख पुगेको भ्युज शनिबार बिहानसम्म १६ लाख ६७ हजार मात्र छ। जुन सुरुवाती रफ्तारभन्दा निकै कम हो। 

अझ रोचक त लोभलाग्दो भ्युज पाए पनि हाल यो टिजर युट्युबको कुनै पनि सेक्सनको ट्रेन्डिङमा आउन सकेन। भ्युजअनुसारको कमेन्ट र लाइक पनि आएको छैन। ४७ हजारले लाइक गर्दा झण्डै ३ हजार कमेन्ट आएका छन्।

केही समयअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुईवटा म्युजिक भिडिओ खेलिन्। महँगो बजेटमा बनेका भिडिओमा साम्राज्ञीको बोल्ड लुक थियो। जुन भिडिओले पनि छोटो समयमै लाखौँ भ्युज बटुले।

‘मालती’ले २४ घण्टामै १८ लाखभन्दा बढी भ्युज पाएको थियो। झण्डै तीन महिनाअघि सार्वजनिक यस भिडिओ हालसम्म ४४ लाखपटक हेरिएको छ। त्यस्तै, ५६ हजार लाइक आउँदा झण्डै तीनहजार मात्रै कमेन्ट छन्।

त्यस्तै, अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक भएको अर्को गीत ‘हारेँ हारेँ’ ले पनि राम्रै भ्युज पाएको छ। साम्राज्ञीकै अभिनय रहेको यस गीतलाई २७ लाखपटक हेरिएको छ। यद्यपि, २० हजार लाइक आउँदा ४८२ कमेन्ट छन्।

यी त भए पछिल्ला उदाहरण। केही वर्षयता धेरै फिल्मको ट्रेलर र गीतले एकै दिनमा लाखौँ भ्युज पाउँछन्। तर, केही दिनमै भ्युज ठप्प हुन्छ।

किन यस्तो हुन्छ?
पछिल्लो समय कुनै पनि कन्टेन्ट सार्वजनिक गर्दा ‘बुस्ट’ गर्ने ट्रेन्ड बढ्दो छ। धेरै दर्शकमाझ आफ्नो कन्टेन्ट छिटो पुगोस् भनेर युट्युबदेखि सामाजिक सञ्जालमा ‘बुस्ट’ गरिन्छ। जसकारण सुरुमा भ्युज धेरै हुने गरेको ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल बताउँछन्।

‘पब्लिसिटी गरेकाले सुरूमा ह्वात्तै बढेको हुन्छ। बुस्ट गरेका नयाँ कन्टेन्ट आउँदा धेरै मान्छेले हेरेको हुन्छन्। जसकारण सुरूमा धेरै हुने र पछि भ्युज कम भएको हुनसक्छ,’ अग्रवालले भने, ‘अर्को, युट्युबमा कन्टेन्ट पनि धेरै आइरहेको हुन्छ। मान्छेको मनमा बस्ने कन्टेन्ट आउँदा धेरैपटक हेरिन्छ। तर, धेरै कन्टेन्ट आउँदा कति हेरौँ भन्ने हुन्छ। त्यसले पनि पछि कम आउन सक्छ।’

तर, कहिलेकाहीँ प्राविधिक समस्याका कारण पनि भ्युज नबढ्ने र ट्रेन्डिङमा नपर्ने गरेको अग्रवालको तर्क छ। यसअघि पनि धेरै कलाकारहरूले प्राविधिक समस्या भोगिसकेका छन्। जति नै चर्चा र भ्युज बटुले पनि विष्णु माझीका गीतहरू युट्युबको ट्रेन्डिङमा आउँदैनन्।

ट्रेन्डिङमा नआउने समस्या बेलाबखत आफूले पनि भोग्नुपरेको अग्रवालले सुनाए।

उनले भने, ‘कहिलेकाहीँ च्यानलमा कपिराइट लगायतको समस्या आउँदा ट्रेन्डिङमा नआउने समस्या हुनसक्छ। हाम्रो च्यानलमा चारपाँच महिनासम्म ट्रेन्डिङमा नआएका पनि छन्। फिल्म बोक्सीको घरको गीत ‘बुझिनँ मैले’ पाँच करोड बढी भ्युज हुँदा पनि ट्रेन्डिङमा आएको थिएन।’

के ‘भ्युज’ पनि किनिन्छ?
आफ्नो सामग्री धेरै दर्शकसामु पुर्‍याउन बुस्ट गर्नु सामान्य नै मानिन्छ। धेरै फेसबुकमार्फत आफ्नो कन्टेन्टलाई पैसा तिरेर बुस्ट गरिरहेका हुन्छन्। जसले फेसबुकहरूमा ‘स्पोन्सर’ भनेर लेखिन्छ। जुन देखेपछि दर्शकहरूले हेर्दा मात्रै भ्युज आउँछन्। यस्तो भ्युजलाई सामान्य नै मानिन्छ।

तर, बुस्टबाहेक नेपाली फिल्म र संगीतको कन्टेन्टहरूमा भ्युज किन्ने ट्रेन्ड पनि रहेको एक आईटी इन्जिनियर बताउँछन्।

‘फेक भ्युज किन्ने ट्रेन्ड मौलाएको छ। जुन फिल्मक्षेत्र र आधुनिक गीतहरूमा बढी देखिएको छ। एक दिनमै लाख वा १० लाखबढी पुर्‍याउने गरिन्छ। युट्युबमा भ्युज किन्नु चाहिँ दर्शकहरूलाई झुक्याउनु हो,’ उनले भने।

अनलाइनमा भ्युस्टा, भ्युजफोयु, एसएमएमलाइट डट कम, भिडआक्यु लगायतका वेबसाइटहरू उपलब्ध छन्। जसमा डलर तिरेर युट्युबको भ्युजदेखि सब्सक्राइबर, कमेन्ट र लाइक किन्ने मिल्ने प्रस्टै उल्लेख गरिएको छ। त्यहाँबाट फेसबुक, इन्स्टाग्राम र टिकटकको फ्लोअर्सदेखि लाइक पनि किन्न मिल्छ।

त्यसले तत्काललाई फाइदा भए पनि च्यानल र भिडिओ कन्टेन्टमा समस्या देखिन सक्ने उनको भनाइ छ।

उनी भन्छन्, ‘विभिन्न वेबसाइटहरू छन्। जसबाट फेक भ्युज पनि किन्न मिल्छ। तर, फेक गरिसकेपछि युट्युबले त्यसलाई बन्देज गर्छ र सितिमिति बढ्दैन। त्यसले पछि आफैँलाई घाटा हुन्छ।’

तर, ओएसआर डिजिटलका सञ्चालक भने भ्युज किन्ने कुरामा सहमत देखिएनन्। पब्लिसिटी गर्दा भ्युज बढ्ने बताउँदै उनले भ्युज किन्न नमिल्ने सुनाए।

‘भ्युज किन्ने चाहिँ हुन्न, त्यो मान्छेले नबुझेका हुन्। कुनै पनि कन्टेन्टको पब्लिसिटी गर्दा भ्युज बढ्छ। त्यसलाई किनेको भन्न मिल्दैन,’ उनले भने, ‘होर्डिङ बोर्ड राख्दा हामीले पैसा दिएर राख्छौँ नि। त्यसरी नै धेरै मान्छेको माझ पुगोस् भनेर बुस्ट गरेको हुन्छ। जुन मान्छेले हेरेकै हो। त्यो भ्युज बढाएको होइन्। भ्युज चाहिँ फेक होइन जस्तो लाग्छ।’

केही सेलेब्रिटीहरूले भने आफ्नो कन्टेन्टको प्रचारमा एक पैसा खर्च गर्दैनन्। जसमा प्रकाश सपुत, विष्णु माझी, सुशान्त केसी, प्रकाश दुतराज, सुजन चापागाईं लगायतका गायकगायिका पर्छन्।

कतिपय भने बलियो सिर्जनाका कारण हेरिन्छन्। टिकटकदेखि सामाजिक सञ्जालमा व्यापक चर्चा भएपछि दर्शकहरू त्यो कन्टेन्ट खोज्दै युट्युबसम्म पुग्छन्। र, कहिलेकाहीँ विवादित कन्टेन्टले पनि राम्रै भ्युज पाइरहेका हुन्छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad