दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङः केटी हराएको सूचना’को प्रिमियर शो गरिएको छ।
बुधबार साँझ ललितपुरको लबिम मलमा गरिएको प्रिमियरमा अधिकांश चलचित्रकर्मीले फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष र प्राविधिक पक्षको तारिफ गरे।
भोलि (शुक्रबार) बाट रिलिज हुने यस फिल्ममा नाजिर हुसेन र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्। प्रिमियर शोमा फिल्मटिमसहित मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, निश्चल बस्नेत, छविराज ओझालगायत पुगेका थिए।
अभिनेत्री प्रियंका कार्कीले आफूहरुले हेरिरहेको मूलधारका फिल्मभन्दा फरक रहेको बताइन्। अभिनेता आयुष्मान देशराज जोशीले नेपाली फिल्ममा चलिरहेको जनराभन्दा फरक जनराको फिल्म भएकाले राम्रो लागेको बताए।
निर्देशक निश्चल बस्नेतले निर्देशक दीपेन्द्र गौचनको फिल्म हेर्ने धेरै पहिलेदेखि इच्छा भएकोमा त्यो इच्छा पुरा भएको सुनाए। उनले निर्देशकले आफूले भन्न मन लागेको कुरा फिल्मको माध्यमबाट भनेको जनाए।
अभिनेत्री स्वस्तिमा खड्काले धेरै पछि एउटा फरक जनरा र फ्रेस कथाको फिल्म हेर्न पाएको बताइन्।
अभिनेत्री केकी अधिकारीले आफूलाई यस्तो कथाको फिल्म हेर्न एकदमै मनपर्ने बताइन्। अभिनेत्री मिरुना मगरले सृष्टिको काम देखेर आफू खुशी भएको प्रतिक्रिया दिइन्।
निर्देशक प्रदीप भट्टराईले निर्देशक दीपेन्द्र गौचनबाट रेगुलर फिल्मको अपेक्षा नभइरहेको अवस्थामा उनले फरक तरिकाले कथा भनेको बताए।
निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले मधेश प्रदेशले यो फिल्मलाई सहयोग गर्नुपर्ने बताए । विषयवस्तु र पर्यटकीय हिसाबले फिल्म राम्रो रहेको उनले खुलाए।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। गौचनकै कथा र लेखज रहेको फिल्मको नकिम उद्दिन कार्यकारी निर्माता रहेको हुन्। यो फिल्म भोलि शुक्रबारबाट रिलिज हुँदैछ।


Shares

प्रतिक्रिया