कलरिस्ट जुनिम गहतराजको निर्देशनमा बनेको फिल्म ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक भएको सिनेमाको टिजरले सिनेमाको कथाको बारेमा प्रष्ट पारेको छ।
फिल्मका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुन्छ। निर्देशक समेत रहेको अभिनेता जुनिमको ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादसँगै अन्त्य गरिएको छ। जसले सिनेमाप्रति दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ। सिनेमाको डार्क थिममा तयार पारिएको टिजरमा सवैजना प्रमुख पात्रलाई स्थान दिइएको छ।
महाशिवरात्रीको अवसर पारेर फगुन ९ गतेबाट प्रदर्शन हुनेछ। फिल्ममा अंकित र जुनिमसँगै पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ।
यस फिल्ममा एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ। सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।
सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्। हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ।
Shares

प्रतिक्रिया