दीपक रौनियारको निर्देशन रहेको फिल्म ‘राजागंज’को टिजर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ।
फिल्मको ट्रेलरमा सांसदका छोरासहित दुई बच्चाको अपहरणपछि तिनलाई मुक्त गर्न प्रहरीले चालेको खोजी अप्रेसनको कथा देखाइएको छ। जहाँ मुख्य भूमिकामा रहेकी आशा मगरातीलाई इन्सपेक्टर पूजाको पात्रमा छिन।
यस फिल्ममा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपती राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतको अभिनय रहेको छ।
दीपक रौनियार निर्देशित यो फिल्म भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा सहभागी भइसकेको छ। यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो।
सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ।
सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्।
यो फिल्म आगामी चैत्र १ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ।
Shares

प्रतिक्रिया