गतवर्षको असोज ताका फिल्म ‘मायावी’को सुटिङ गर्न पाउँदा अभिनेत्री दीपिका प्रसाईं दंग थिइन्। ‘मायावी’ दीपिका र उनका श्रीमान दिवाकर भट्टराईले देखेको सपना थियो। जुन सपना पाँचवर्षपछि पूरा हुँदै थियो।
आफ्नो ड्रिम प्रोजेक्ट सुटिङमा व्यस्त थिइन् दीपिका। तर, सुटिङ गरिरहँदा उनले आफू गर्भवती भएको थाहा पाइन्। जुन कुरा उनका लागि अप्रत्याशित थियो। किनकि आमा बन्नेबारे दीपिकाले सोचेकी पनि थिइनन्।
जीवनमा कहिलेकाहीँ नसोचेको कुरा भइदिन्छ। जसलाई स्वीकार्नुबाहेक विकल्प हुँदैन। त्यस्तै, दीपिकाले पनि त्यो अवस्थामा आफूलाई गर्भवतीको रूपमा स्वीकार गरिन्। अनि सन्तान र फिल्म दुवैलाई रोजिन्।
‘यो फिल्म हामीले पाँच वर्षअघि देखेको सपना हो। पेटमा सन्तान हुर्किनुभन्दा अघि मायावी हुर्केको थियो। यद्यपि, कोरोनाका कारण समयमा बन्न सकेको थिएन। तर, मायावीकै सुटिङको बेला गर्भवती भएको थाहा पाएँ,’ उनले भनिन्, ‘त्यो अवस्थामा के गर्ने, कसो गर्ने भनेर निकै गाह्रो भएको थियो। फिल्म र सन्तानमध्ये एउटालाई छान्ने स्थिति नआओस् भन्ने लागेको थियो। सबै कुरा भगवानमाथि छाडेर दुवैलाई रोजेर अघि बढेँ।’
गर्भवती भएपछि महिलामा थुप्रै शारीरिकदेखि मानसिक परिवर्तनहरू देखा पर्छन्। जसले अरुबेलाजस्तो दैनिकी सहज हुँदैन। त्यस्तोमा सुटिङ गर्नु निकै चुनौतीको कुरा थियो। दीपिकाले दिवाकरसँग अर्को हिरोइन राख्ने प्रस्ताव पनि गरिन्। तर, दिवाकरले भने फिल्मको क्यारेक्टरमा उनीबाहेक नसोचेको बताए र दीपिकालाई ‘तिमी सक्छौ’ भनेर आँट दिए।

श्रीमानको हौसलाले दीपिकाले जोखिम मोलेर फिल्मको सुटिङलाई निरन्तरता दिइन्। श्रीमानसँगै देखेको सपनालाई साकार गर्न लागिन्। तर, गर्भावस्थाको तीनमहिनादेखि ६ महिनासम्म सुटिङ सेटमै हुँदा निकै गाह्रो भएको उनको भोगाइ छ।
‘तीन महिना हुँदा प्रेगनेन्ट भएको थाहा पाएँ। ६ महिनासम्म सुटिङ गरियो। सुटिङमा हुँदा भोक, निन्द्रा कम्प्रोमाइज गर्नुपर्ने हुन्छ। हर्मोनल परिवर्तन हुँदा मर्निङ सिकनेसदेखि मुड स्विङ धेरै हुन्थ्यो। बेबी हुर्किंदा शरीरमा परिवर्तन हुँदै जान्छ। क्यामेरामा धेरै मोटो देखिएजस्तो लाग्थ्यो। तर, सिनेमाटोग्राफर दाइले सहज फिल गराउनुहुन्थ्यो। सबैको सहयोगले सम्भव भयो,’ उनले सम्झिँदै भनिन्।
एकदिन रोमान्टिक दृश्यको सुट हुँदै थियो। जुन सिन गर्दा दीपिका निकै भावुक भइन् र सेटमै धरधरी रोइन्। उनलाई देखेर सबै अचम्म परे। तर, किन रोइन् त? जसको जवाफ उनीसँग अहिले पनि छैन।
४५ दिनमा मुस्ताङसहित पोखरामा सुटिङ गर्ने सेड्युल थियो। तर, मौसम खराबीले गर्दा सुटिङ सकिन ६५ दिन लागेको सुनाउँछिन् उनी। तयार पारिएको पहिरन पनि साँघुरो भएर समस्या भोग्नुपरेको उनको भनाइ छ।
भन्छिन्, ‘हामीसँग सुटिङमा लगाउने लुगा लगभग सकिसकेको थियो। अन्तिममा एउटा गीतको सुटिङ बाँकी थियो। एउटा मात्रै लुगा थियो, पेट ठूलो हुँदा त्यो लुगा नै फिट भइरहेको थिएन। फिट लगाउँदा बेबीलाई गाह्रो होला भन्ने चिन्ता भयो। हामीसँग अरु अप्सन थिएन। त्यसपछि त्यही प्यान्टलाई फराकिलो बनाएर टाँका दिएर लगाएँ।’

गत चैतमा दीपिकाले सन्तानलाई जन्म दिइसकेकी छिन्। वास्तविक जीवनमा मातृत्व अनुभव गरिरहेकी उनी यतिबेला फिल्मको प्रचारमा व्यस्त छिन्। ‘मायावी’ फागुन १४ गते शिवरात्रीको अवसरमा रिलिज हुँदैछ। यस फिल्ममा निकै दु:ख गरेको बताउँदै दीपिका ‘मायावी’ लाई दोस्रो सन्तान भन्न रुचाउँछिन्।
अहिले सुटिङका दिन सम्झिँदा दीपिकालाई सामान्य नै लाग्छ। अरु महिलाझैँ आमा बन्दाको भोगाइ भएकाले स्वाभाविक लागिरहेको सुनी सुनाउँछिन्।
तर, एक वर्ष नपुगेको बच्चालाई छोडेर प्रमोसनमा हिँड्दा मातृत्वको रमाइलो अनुभूति गर्न नपाएको उनलाई लाग्छ। आफ्नो बच्चालाई समय दिन नपाएको महसुस गर्छिन्।
‘बिहान निस्केपछि साँझ मात्रै बच्चासँग भेटघाट भइरहेको छ। एकजना दिदी भएर सहज भएको छ। तर, दिउँसोभरि बेबी निकै मिस हुन्छ। घर गएपछि बेबीलाई अँगालोमा बेरेर चुम्बन गर्छु। बिस्तारै बोल्न थालेको छ। रमाइलो लागिरहेको छ,’ उनले भनिन्।
भिडिओ
दीपिकाले ‘ऐश्वर्य’ र ‘छक्का पञ्जा ३’ जस्ता फिल्म खेलिसकेकी छिन्। यी फिल्मबाट तारिफ बटुलेकी उनलाई आशा लाग्दी अभिनेत्रीको रूपमा हेरिएको थियो। तर, बीचमा फाट्टफुट्ट फिल्म गरे पनि उनी चर्चामा आइनन्। के दीपिका यसलाई कमब्याक फिल्मको रूपमा लिन्छिन् त?
‘त्यो चाहिँ होइन, कमब्याक भन्नलाई म हराएकै थिइनँ। उहाँहरूले खासै नदेखेपछि हरायो भन्नु स्वाभाविकै हो। तर, कलाकारिताबाहेक मैले केही सोचेकी छैन। लामो समयको अन्तरालपछि यस क्षेत्रमा आइरहेको छु। यसलाई नयाँ सुरुवात पनि भन्न सकिन्छ,’प्र साईंले भनिन्।
‘छक्का पञ्जा ३’ रिलिजपछि दीपिकाले निर्देशक दिवाकर भट्टराईसँग बिहे गरिन्। कतिपयले त बिहे गरेपछि दीपिका फिल्मक्षेत्रमा टाढिएको समेत भन्न भ्याए। तर, फिल्म नखेल्नुमा श्रीमानको हात नरहेको उनी स्पष्ट पार्छिन्।

‘छक्का पञ्जा ३ पछि बिहे भयो। स्वास्थ्यमा पनि समस्या देखियो। अलिकति म्यारिज लाइफलाई समय दिन मन लाग्यो। उहाँको केही हात छैन। मेरो जीवनमा सबैभन्दा ठूलो सपोर्ट सिस्टम भनेकै मेरो श्रीमान् हो। उहाँ मेरो मेरुदण्ड हो। तिमीले अगाडि बढ्नुपर्छ, गर्नुपर्छ भन्ने मान्छे नै उहाँ हो। यो फिल्म दुवैको लागि पनि नयाँ सुरुवात हो,’ उनी सुनिइन्।
पछिल्लो समय फरक धारको फिल्म आइरहेका बेला दर्शकलाई ‘मायावी’ फरक लाग्ने सुनाउँछिन् उनी।
उनले भनिन्, ‘फरक धारको मुभी देखिरहेको बेला शुद्ध प्रेमकथा हेर्न पाइनेछ। प्रस्तुतीकरणमा फरकपन हुन्छ। धेरै लामो समयदेखि हेर्न चाहिरहेको कथा दर्शकले हेर्न पाउनेछन्। मायावी सबै उमेर समूहले हेर्न सक्नुहुनेछ। हेर्दा नबिझाउने र एकचोटि हेर्नेपर्ने सिनेमा बनेको छ।’
यस फिल्मलाई दर्शकहरूले मन पराउनेमा दीपिका निकै विश्वस्त सुनिइन्। यो क्षेत्रबाहेक केही नसोचेकाले बताउँदै दीपिकाले आगामी दिनमा फिल्ममा निरन्तरा दिने बताइन्। दिवाकरकै निर्देशन र लेखन रहेको यस फिल्ममा दीपिकासहित पल शाह मुख्य भूमिकामा छन्।
Shares

प्रतिक्रिया