फिल्म ‘कल्ली’को आजबाट छायांकन सुरु भएको छ। काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट फिल्मको सुटिङ सुरु गरिएको हो।
केही दिन फिल्मको छायांकन काठमाडौंमा गरिनेछ। त्यसपछि भने बाँकी छायांकनका लागि यसको टिम जुम्ला प्रस्थान गर्नेछ। ३५ दिन लामो सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले फिल्मको छायांकन सुरु गरेका हुन्। निसाल पौडेलले यो फिल्मको छायांकन गरिरहेका छन्।
आज नाजिर हुसेन, वर्षा राउत, उत्तम प्रधान लगायतको दृश्य खिचिएको छ। १३ वर्षपछि फिल्म क्षेत्रमा कमब्याक गर्न लागेका कलाकार उत्तम प्रधान निकै उत्साहित देखिए।
उनले भने ‘यो फिल्मको कथावस्तु मलाई निकै मन पर्यो। मैले यसअघि गरेका फिल्मको भन्दा भिन्न भूमिका रहेकाले काम गर्न लागेको हुँ। मलाई यो बिचमा थुप्रै फिल्मबाट अफर पनि आएको हो। तर, आफ्नो भूमिका नै चित्त नवुझेका कारण मैले फिल्ममा काम गरिनँ।’

सुटिङ सेटमा भेटिएका नाजिर र वर्षा राउतले आफूहरु श्रीमान्–श्रीमतीको भूमिकामा देखिन लागेको बताए। फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन।
लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ। महेश दवाडीको लेखन रहेको यो फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन्।
फिल्ममा उत्तम, नाजिर र वर्षासहित सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ। फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्।
Shares

प्रतिक्रिया