निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेब्यु गरेकी छन्।
उनको अभिनय रहेको म्युजिक भिडिओ ‘रिटिङ र्याइँ र्याइँ’ सार्वजनिक गरिएको हो।
गीत रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक अशोक शर्माले छोरी कृतिले म्युजिक भिडिओमा अभिनय गरेर आफूलाई सरप्राइज दिएको बताए।
‘उ सिनेमाको पर्दामा भन्दा पनि पर्दा पछाडि काम गर्न रुचाउने मान्छे हो। उसले यसअघि पानी फोटो र रातो टीका निधारमालगायत सिनेमामा सहायक निर्देशकका रूपमा काम गरेको थियो। उसलाई अभिनय गर्ने इच्छा छ भन्ने थाहा भएको भए मेरो सिनेमाबाट नै डेब्यु गराउन तयार थिएँ’, निर्देशक शर्माले भने।
मोडल सुनील क्षेत्रीले नै अभिनय र निर्देशन गरेको म्युजिक भिडिओमा गायक वसन्त थापा र एलिना चौहानको स्वर छ। गीतको शब्द वरिष्ठ गीतकार राजेन्द्र थापाले रचना गरेका हुन्।
अभि वाग्लेको कोरियोग्राफी रहेको गीतमा सुरवीर पण्डितले पनि अभिनय गरेका छन्।
नवराज उप्रेतीले छायांकन गरेको भिडिओलाई अमृत चापागाईले सम्पादन तथा कलर गरेका हुन्। कृति शर्माले मोडल तथा सुनील क्षेत्रीको अफर मन परेको र उनीसँग भाइब्ससमेत मिलेकाले अभिनय गर्न तयार भएको बताइन्।
‘पहिलोपटक म्युजिक भिडिओमा अभिनय गर्दाको अनुभव रमाइलो त भयो नै। त्यससँगै डान्सिङ नम्बर भएकाले नृत्य गर्न केही असहज समेत भयो’, शर्माले भनिन्।
आगामी दिनमा राम्रो म्युजिक भिडिओबाट प्रस्तताव आएको खण्डमा अभिनयलाई निरन्तरता दिने उनको भनाइ छ। यससँगै आफ्नो सपना सिनेमा निर्देशन भएकाले त्यसमा पनि उत्तिकै फोकस हुने उनले बताइन्।
गीतको भिडिओ-
Shares

प्रतिक्रिया