कला


शनिबार काठमाडौँमा प्रकाश सपुतको ‘वसन्त-साँझ’

शनिबार काठमाडौँमा प्रकाश सपुतको ‘वसन्त-साँझ’

नेपालखबर
चैत ८, २०८१ शुक्रबार ९:९, काठमाडौँ

यही चैत २२ गते रिलिज हुने फिल्म ‘वसन्त’को अफिसियल ट्रेलर शनिबार सार्वजनिक गरिँदै छ।

काठमाडौँको वसुन्धारास्थित सिटी स्क्वायर मलमा ‘वसन्त-साँझ’  आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारी निर्देशक तथा अभिनेता सपुतले गरेका हुन्।  

चैत ९ गते अपराह्न ४ बजे सिटी स्क्वायर मलअगाडि आयोजना हुने वसन्त-साँझमा अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, गायिका शान्तिश्री परियार, प्रीति आले तथा देवेन्द्र बब्लु (द फिरन्ते) ले प्रस्तुति दिनेछन्।

फिल्मका निर्देशक, अभिनेता तथा गायक प्रकाश सपुतले धेरैभन्दा धेरै दर्शकलाई उपस्थित भएर वसन्त-साँझलाई भव्य अनि सभ्य बनाउन शुभचिन्तकमाझ अपिल गरेका छन्।

प्रकाश सपुतको डेब्यु निर्देशन रहेको फिल्ममा प्रकाश र स्वस्तिमासहित प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीलगायत कलाकारको अभिनय छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमाका कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ।

सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन्। गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौँ र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो।

सिनेमा सुसन प्रजापतिले खिचेका हुन्। फिल्म काठमाडौँ उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad