चर्चित साँगीतिक ब्यान्ड ‘१९७४ एडी’ ३० औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा गुञ्जिएको छ। शनिबार साँझ बौद्धस्थित हायात ग्राउन्डमा भएको ‘रकयात्रा २’ मा ब्यान्डले चर्चित गीतमा प्रस्तुति दिएर दर्शक झुमायो।
फिरोज स्याङदेनले ‘तिमीलाई पिरतीले बाँधौंला’ गाउँदै ‘रकयात्रा २’ को सुरुवात गरे। त्यसपछि सुरु भयो: ‘१९७४ एडी’ को अन्तिम यात्रा।
दोस्रो प्रस्तुतिको रुपमा ब्यान्डले ‘छुँदैन तिम्रो मायाले’ गाएको थियो। ब्यान्डले तीनघण्टा लामो प्रस्तुति दिँदा दर्शकहरू निकै रमाएँ। कहिले ‘गुराँसै फुल्यो’ प्रेमिल बने त कहिले ‘यो मन त मेरो नेपाली हो’ गाउँदै उत्साहित बने।
ब्यान्डले अन्य चर्चित गीतहरू ‘मुटु भरिभरि’ देखि ‘रातो र चन्द्र सूर्य’, ‘सम्बोधन’, ‘छुँदैन’ ‘जति माया लाए पनि’ ‘मायलुले’, ‘चौबन्दी’ लगायतका गीतहरूमा प्रस्तुति दिएको थियो।
जुन गीतहरूको धुनमा दर्शकहरू झुमिरहेका थिए। ‘नेपाली हो’ गाउँदा त झन रोमाञ्चक माहोल बनेको थियो। अन्तिम गीतको रुपमा ‘रातो र चन्द्र सूर्य’ गाउँदै ब्यान्डले बिट मारे। ‘रकयात्रा २’ मा १० हजार बढी दर्शकहरूको उपस्थिति रहेको थियो।

ब्यान्डले सन् २००० मा काठमाडौँमा ‘रक यात्रा’ गरेको थियो। ६० हजार दर्शकहरूको उपस्थिति रहेको कन्सर्ट अहिलेसम्मको भव्य रहेको ब्यान्डको दाबी छ। त्यसपछि विदेशमा कन्सर्ट गरे पनि नेपालमा रकयात्राले निरन्तरा पाउन सकिरहेको थिएन।
स्थापनाको ३ दशकको अवसरमा ब्यान्डले यसअघि अमेरिका, जापान, अस्ट्रेलियालगायतका देशमा प्रस्तुति दिइसकेको छ। ३० वर्ष मनाउन काठमाडौँमा पहिलोपटक कन्सर्ट गरेको हो। जसकारण पनि यसलाई अन्तिम कन्सर्टको रुपमा लिइएको हो। ब्यान्ड टिममा निराकार याकथुम्बा, मनोजकुमार केसी, संजय श्रेष्ठ, फिरोज स्याङ्देन, मनोज सिंह र एड्रिअन प्रधान छन्।








Shares

प्रतिक्रिया