पछिल्लो समय नेपाली सिने क्षेत्रमा निर्माता आफैँले लाखौँका टिकट किनेर फिल्म हाउसफुल देखाउने प्रवृति देखिन्छ।
शो राताम्मे देखाउन निर्माताहरूले लाखौँको टिकट खरिद गर्ने गरेको पाइन्छ।
यसैबीच कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्माता विनोद पौडेलले यस विषयमा मुख खोलेका छन्।
चलचित्र विकास बोर्डका अनुसार यस फिल्मले ४६ करोड ८० लाख ग्रस कलेक्सन गर्दै नयाँ रेकर्ड बनाएको छ।
फिल्मले बक्स अफिसमा इतिहास रचे पनि निर्माता पौडेलले वर्षको अन्त्यतिर आएर सनसनीपूर्ण खुलासा गरेका हुन्।
फेसबुकमा लेख्दै उनले फिल्म चलाउन आफूले लाखौँको टिकट खरिद गरेको स्वीकारेका हुन्।
‘इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाए पनि २०/२५ लाखको त टिकट किन्नैपर्छ। १०/१२ लाखको त हामीले पनि किनेकै हो। अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो’, उनले लेखेका छन्।

सुरुवाती दिनमा ‘पूर्णबहादुरको सारंगी’मा दर्शक न्यून थिए। जुन समयमा आफूले लाखौँको टिकट खरिद गरेका हुन्।
पछि भने बलियो माउथ पब्लिसिटीका कारण यस फिल्ममा दर्शकको फ्लो ह्वातै बढेको थियो।
फिल्म क्षेत्रमा यो ट्रेन्ड नौलो नभए पनि फिल्म चलाउन लाखौँको टिकट किनेको स्वीकार गर्ने उनी पहिलो व्यक्ति हुन्।
निर्माताले टिकट मात्रै नभई फिल्मको गीत, टिजर र ट्रेलरमा धेरै भ्युज देखाउन नक्कली भ्युजसमेत किन्ने गरेका छन्।
Shares

प्रतिक्रिया