मंगलबार साँझ। सूर्य ढल्किएसँगै प्रकाश धूमिल हुँदै थियो। तर, काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भने छुट्टै रौनक छायो। डबलीभरि खचाखच दर्शकको भिड, जसले पर्खिरहेका थिए मनपर्ने आवाज। त्यो सुमधुर आवाज, जसमा उनीहरू आफूलाई भेट्छन्।
कहिले तीनपातेमार्फत आफ्नो प्रेमलाई स्वीकार्छन् त कहिले एक्लै भए नि भन्दै छोडिजाने मायालाई सम्झिन्छन्। प्रेममा परेपछि लजाउने, रिसाउने र फकाउने त झन् स्वाभाविकै भइहाल्यो। जुन भावहरू ताजा गराउन आतुर थिए दर्शकहरू।
पृष्ठभूमिमा बजिरहेको ऊनको स्वीटर गीतको प्रेमिल धुन। जसले गायक सुजन चापागाईंलाई मौन स्वागत गरिरहेको थियो। त्यसैबेला उद्घोषकबाट घोषणा भयो– सुजनको नाम।
मञ्चमा ब्यान्ड देखिए पनि सुजन भने केहीबेर देखिएनन्। जसले दर्शकमा अझै कौतूहल बढिरहेको थियो। त्यसैबीच मुस्कुराउँदै मञ्च ढोग्दै देखापरे सुजन।

त्यसपछि के चाहियो? लामो समयदेखि पर्खिरहेका दर्शकबाट तालीको वर्षात्।
आखिर सुजनले कुन गीत गाउँछन् त? मनमा प्रश्न आइरहेको थियो। सोहीबीच सुजनले सुरूवातमै गाए:
लजाएर एक्लै किन
बसेकी मायालु
अब छाता छोड, एक्लै नओढ मायालु
काँपिएको हात समाई
यादहरूको नयाँ घर बनाई
एकफेर बोली हेर न
मायालु, मायालु
त्यसपछि त दर्शकहरू सुजनको गायकीमा मन्त्रमुग्ध भइहाले। उनले लगत्तै गाए– बाफ र मायालाई फकाउने गीत: गाला पुक्क।
ती प्रेमिल गीतहरूमा मन्दमन्द डुबिरहेका थिए दर्शक। त्यही माहोलबीच सुजनले गाए– मनैमनमा माया तीनपातै भइदियो। जुन गीत सुजनको करिअरको टर्निङ प्वाइन्ट बनेको थियो। किनकि यो गीत आएसँगै सुजन थुप्रै दर्शकश्रोतामा चिनिए। त्यसैले पनि सुजनका लागि यो गीत विशेष छ।
सुजन मात्रै होइन, गीतकार हर्क साउद र निर्देशक नवीन चौहान पनि यसै गीतबाट नोटिसमा परे। त्यसपछि तीनै जनाले सहकार्य गरेका सबैजसो गीत हिट छन्। कन्सर्टमा पनि आफ्नो र आर्टमान्डुको लागि यो गीत विशेष रहेको सुजन भनिरहेका थिए। फिल्मको टाइटल गीत ऊनको स्वीटर छुट्ने त कुरै भएन।
प्रज्ञा प्रतिष्ठानको डबलीमा राजनीतिज्ञदेखि कलाकारहरुको समेत उपस्थिति थियो। उप-सभामुख इन्दिरा रानामगरदेखि संसद सोबिता गौतम र सुहाङ नेम्बाङ सुजनलाई सुन्न पुगेका थिए। त्यस्तै, ‘ऊनको स्वीटर’ का विपिन कार्की र मिरुना मगर अनि अन्य कलाकारहरू अञ्जना बराइली, दीया मास्के पनि उपस्थित थिए।

सोहीबीच जब सुजनले मेरो अधुरो प्रेम (एक्लै भए नि) गीत गाए, तब प्रेमिल माहोल एकाएक भावुक बन्यो। मुस्कुराइरहेका दर्शक आँखामा आँसु रोक्न सकेनन्।
चार महिनाअघि सिर्जना सुवेदीले आफ्नो श्रीमान् विवेक पंगेनीलाई गुमाइन्। यो जोडी विवेकलाई क्यान्सर हुनुभन्दा अगावै टिकटकमा भाइरल थियो। बिरामी भएपछि सिर्जनाले आफ्ना श्रीमानलाई निकै माया र हेरचाह गरिन्। अनेक कोसिस गरे पनि अन्तत: गत पुस ४ गते विवेक सदाका लागि बिदा भए। र, एक्लै भइन् सिर्जना।
‘सायद हाम्रो प्रेम अधुरो लेखेको रहेछ’ गीतभित्र एक डाइलग छ। त्यहीं डाइलगझैँ सायद भगवानले पनि उनीहरूको प्रेम अधुरो लेखिदिएछ। त्यही जोडीलाई समर्पित गर्दै सुजनले ‘एक्लै भए नि’ गीत गाएका थिए। विवेकप्रति श्रद्धास्वरूप गीत गाउँदा दर्शकदीर्घामा सिर्जना स्वयम् उपस्थित थिइन्।

त्यसैले सुजन सिर्जनालाई आड दिँदै भनिरहेका थिए, ‘उहाँ एक्लै हुनुहुन्न। हामी सबै उहाँको साथमा छौं भनेर हामीले पनि साथ दिऊँ। उहाँ पनि आज हामीसँगै यहीँ कतै हुनुहुन्छ, उहाँलाई पनि गाह्रो भइरहेको छ होला! धेरै सबैसँग खुल्न र व्यक्त गर्न पाउनुहुँदैन। त्यसैले उहाँलाई धेरै सम्मान र स्वागत गर्दै म अबको गीत सुरु गर्न चाहन्छु।’
त्यसपछि सबैका आँखा रसाए। उत्साहित वातावरण शान्त भयो। सायद धेरेले विवेकलाई सम्झेका होलान्। हुन पनि यो गीत सार्वजनिक हुनु र विवेकले संसार छोड्नु सँगसँगै भएको थियो। विवेकका अन्तिम संस्कारका बेलाका सिर्जनाका भिडिओहरु यसै गीतमा टिकटकभरि छाएका थिए। त्यसैलै पनि दर्शकहरु यो गीत बज्दा यो जोडीलाई सम्झिन्छन्।

भावुक वातावरणलाई केही रमाइलो बनाउन लगत्तै सुजनले फूलथुँगे रानी गाए। यसले दर्शकहरुको मनले केही राहत पायो। अन्त्यमा फिल्म ‘ऊनको स्वीटर’ मा समावेश ‘मखमली’ गीत गाउँदै कार्यक्रमको बिट मारे सुजनले।
हिट म्युजिक फिल्म दिन सफल आर्टमान्डुको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ वैशाख २६ गते रिलिज हुँदै छ। यसै अवसरमा हिजो काठमाडौंमा ‘ऊनको स्वीटर साँझ’ कार्यक्रम राखेको थियो। जहाँ गायक चापागाईं एन्ड इन्फिनिटी ब्यान्ड २ घण्टासम्म गुञ्जियो। बीचमा ‘ऊनको स्वीटर’ गीतमा समावेश गीत ‘फकाउँछ काफ्ले’मा फिल्मकै कलाकार एलेक्स पारस र परीक्षा लिम्बुले नृत्य गरेका थिए।
Shares

प्रतिक्रिया