कला


भ्वइसको उपाधिले भन्दा नोराको अँगालोले ज्यादा चर्चा पाएँ : प्रोसेस पाण्डे (भिडिओ)


अनिल यादव
जेठ ३० , काठमाडौँ

गत जेठ ३ गते भारतकी चर्चित अभिनेत्री एवम् नृत्यांगना नोरा फतेहीले आफ्नो प्रस्तुतिमार्फत काठमाडौंस्थित हायातको चौर तताइन्। कन्सर्ट सकिएपछि ब्याकस्टेजमा भेटिए, भ्वाइस अफ नेपाल सिजन ६ का विजेता प्रोसेस पाण्डे। 

‘नाइस टु मिट यु, किप साइनिङ एन्ड रकिङ,’ नोराले प्रोसेसलाई अँगालो हाल्दै शुभकामना दिइन्। नोराले प्रोसेसलाई अँगालो मारेको तस्बिरको यति धेरै चर्चा भयो कि सायद त्यति त उनले भ्वइसको उपाधि जित्दासमेत भएको थिएन। 

‘त्यो मेरा लागि यादगार पल थियो,’ नेपालखबर सो ‘लेट्स टक’मा गफिन आइपुगेका प्रोसेस भन्छन्, ‘जीवनभर यादगार रहनेछ। उहाँको आशीर्वाद पाउनु मेरा लागि ठूलो भाग्यको कुरा हो। हामीजस्ता सानातिना मान्छेले गीत गाएको भरमा उहाँको मन जित्न सक्नु भनेको ठूलै कुरा हो।’ 

नोरासँगको अंकमालको तस्बिरकै कारण मामाघरमा अनौठो पल महसुस गरेका छन् उनले। 

‘त्यसपछि यति धेरै चर्चा पाएँ कि मैले एउटा कमेडी टाइपको कहानी पनि छ,’ उनी हाँस्दै सुनाउँछन्, ‘म हेटौँडा मामाघर गएको थिएँ। त्यहाँ चुरियामाई भन्ने एउटा मन्दिर छ। त्यहाँ एकजना दाइ भेटिनुभयो। उहाँले ‘ओहो, तिमी त नोरासँग अँगालो मार्ने भाइ होइन, एउटा फोटो खिचौँ न’ भन्नुभयो। म त ट्वा परेँ। उहाँलाई भ्वइस जितेको थाहा रैनछ, नोरासँग अँगालो मारेको फोटोचाहिँ देख्नुभएको रैछ। गाउँतिर पनि यस्तो हेर्न भ्याउँछन् है मान्छेहरू भन्ने लागेको थियो।’ 

प्रोसेस अचेल आफ्नै नयाँ एल्बमका लागि गीत रेकर्डिङमा व्यस्त छन्। भ्वइसको विजेता भएपछि आफ्नो जीवनमा धेरै परिवर्तन महसुस गरेका छन् उनले। 

‘पहिले कसैले मतलब गर्दैन थिए, अचेल सबैले वास्ता गर्छन्,’ १९ वर्षीय प्रोसेसले भने, ‘बाटोमा हिँड्दा पनि सबैले नमस्ते गर्छन्। खुसी लाग्छ। यद्यपि यो त मेरो करिअरको सुरुवात मात्रै हो। धेरै उपलब्धि हासिल गर्न बाँकी नै छ।’

रियालिटी सोको प्रतिस्पर्धामा जाने जोकोहीले जितको सपना बुनेकै हुन्छ। प्रोसेसमा पनि यो चाहना थियो नै। यद्यपि सुरुमा उनी त्यति ‘कन्फिडेन्ट’ थिएनन्। 

‘टप १२ मा पुगेपछि ममा आत्मविश्वास बढेको हो,’ उनले भने, ‘ब्लाइन्ड अडिसनमा त एउटा कुर्सीमात्रै घुमिदिँदा पनि काफी हुन्छ भन्ने महसुस भएको थियो। टप १२ पछि चाहिँ अब जित्छु कि क्या हो जस्तो महसुस हुन थालेको हो।’

धादिङका प्रोसेस जन्मेदेखि नै आँखा देख्दैनन्। फरक क्षमताका उनी बाल्यकालमा कीर्तिपुरको ल्याबरोटरी स्कुलमा पढे। बच्चैदेखि संगीतमा रुचि राख्ने उनले त्यहाँ गुरु रमेश सुवेदीमार्फत म्युजिक सिके। एसईई सकेपछि दुई वर्षयता असनमा गन्धर्व संगीत विद्यालयमा चन्दन गुरुसँग संगीत सिकिरहेका छन्। स्नात्तक पनि संगीतमै गर्ने तयारी छ उनको। 

सेमी क्लासिकल गीत गाउन रुचाउने उनी आफ्नो प्रतिभा पहिलोपल्ट गायक यश कुमारले महसुस गरेको बताउँछन्। 

‘१० वर्षअघिको कुरा हो,’ उनले भने, ‘यश कुमार अंकलले अनामनगरका भेट हुँदाखेरी ‘तिम्रो स्वर साह्रै राम्रो छ, तिमी ठूलो मान्छे बन्छौ भन्नुभएको थियो। यतिको ठूलो गायकले यस्तो भनेपछि मैले गर्न सक्छु कि जस्तो लागेको थियो। म उहाँको ठूलो फ्यान पनि हो।’

हामीले प्रोसेसलाई सोध्यौँ– ‘तपाईंले कहिल्यै देख्न नपाएको तर गहिरोसँग ‘महसुस’ गर्नुभएको कुनै सपना या दृश्य छ?’

जवाफमा उनले भ्वइस अफ नेपाल जित्दाखेरीको पल देख्न नपाए पनि गहिरोसँग महसुस गरेकोे बताए। 

‘भ्वइस अफ नेपाल जित्दाखेरीको मोमेन्ट नै हो,’ उनले भने, ‘पक्कै त्यहाँ लाइट थियो होला, झिलिमिली थियो होला, धुवाँसुवाँ उडाइयो होला। देख्न नपाए पनि मेरो दिमागमा यस्तैयस्तै दृश्य घुमिरहेको थियो।’

हामीले उनलाई फेरि सोध्यौँ– ‘जब कसैले तपाईंलाई ‘यो मान्छेले के नै गर्न सक्छ र’ भनेर हेप्यो, त्यतिबेला तपाईंको मनभित्र के पस्यो?’

जवाफमा उनले भने, ‘यसैको अगाडि केही गरेर देखाउँछु भन्ने भयो। जीवनमा यस्तो भा’को छ। एकदुईजना हुन्थे, ठूलै मान्छेहरू। तेरो त कामै छैन, तैँले केही गर्न सक्दैनस् भन्थे। आज म यति हुनु भनेकै सायद उनीहरूले देखिसके।’

हेर्नुस् प्रोसेसले गीत गाउँदै, क्यारिकेचर गर्दै आफ्नो संगीत करिअरबारे खुलेर गरेको कुराकानी ‘लेट्स टक’ :

जेठ ३०, २०८२ शुक्रबार २०:१५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad