कला


अनन्त वाग्लेको पुस्तक ‘अपराजिता : जीवन बदल्ने छोरीहरू’ सार्वजनिक

अनन्त वाग्लेको पुस्तक ‘अपराजिता : जीवन बदल्ने छोरीहरू’ सार्वजनिक

नेपालखबर
साउन १८, २०८२ आइतबार १४:३३, काठमाडौँ

बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्लेको लेखन तथा सम्पादनमा ‘अपराजिता: जीवन बदल्ने छोरीहरू’ पुस्तक सार्वजनिक भएको छ। 

शनिबार बालवाङ्‌मय तथा अनुसन्धान केन्द्रको १०औँ वार्षिक साधारण सभाको अवसरमा केन्द्रका अध्यक्ष वाग्लेसहित महासचिव शान्ति सापकोटा, सभाध्याक्ष सिर्जना शर्मा, बाल साहित्य समाजका अध्यक्ष विजयराज आचार्य, बाल साहित्यका अग्रज सर्जकहरू प्रा.डा. चूडामणि बन्धु, के के कर्माचार्य, प्रमोद प्रधान लगायतकाले संयुक्त रूपमा पुस्तक विमोचन गरे। 

हिरोइन मुभमेन्ट कार्यक्रम अन्तर्गत बालवाङ्‌मय तथा अनुसन्धान केन्द्रले प्रकाशन गरेको यस पुस्तकमा जीवनमा संघर्ष गरेर सफलताको सिढी चढेका पाँच जना छोरीहरुको सफलताको जीवन कथालाई समेटिएको छ।

पुस्तकमा म्याराथन धावक मिरा राई, आईटी इन्जिनियर श्रीती श्रेष्ठ, तेस्रो लिङ्गी अभियन्ता पिंकी गुरुङ, गायिका अभया सुब्बा र कान्छी शिक्षाकर्मी रित काफ्लेको जीवन कथा छ। 

लेखक वाग्लेले पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी सामग्री बन्न सक्ने बताउँदै पुस्तक प्रकाशनका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। 

उनले भने, ‘आफ्नो लक्ष्यमा पुग्न निरन्तर लगनशील रहेर कडा मेहनत गरी सफलता चुमेका पाँच नेपाली छोरीका सफलताका कथा समेटिएको यो पुस्तक नयाँ पुस्ताका लागि एक प्रेरक स्रोत सामग्री हुनेछ।’

नील हिरा समाजकी अध्यक्ष गुरुङ, गायिका सुब्बा, कान्छी शिक्षाकर्मी काफ्लले पुस्तकले छोरीहरुको सफलतालाई अगाडि ल्याउने लेखक वाग्ले केन्द्रलाई धन्यवाद ज्ञापन गर्दै खुसी व्यक्त गरे। 

गुरुङले रामराज्यको समयमा पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको रहेको चर्चा गर्दै कलियुगमा बल्ल समुदायले आफ्नो पहिचान स्थापित गर्ने अवसर पाएको बताइन्। वाग्ले जस्ता सर्जकले त्यसलाई अझै स्थापित गर्न सघाउ पुर्‍याएको सुनाइन्।

त्यस्तै गायिका सुब्बाले पितृसत्तात्मक व्यवस्थामा महिलाको उपस्थिति र कार्य सधैं छायामा रहेको अवस्थामा वाग्लले अत्यन्तै सराह्रनीय कार्य गरेको धारणा राखिन्। 

यसैबीच केन्द्रले आजै प्रमोद प्रधानको संयोजकत्वमा सिर्जना शर्मा र प्रा.डा.तारानिधि भट्टराई सहितको तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरी नयाँ कार्यसमित चयन गरेको छ। 

वाग्लेकै अध्यक्षतामा चयन गरेको नयाँ कार्यसमितिमा उपाध्यक्षमा मञ्जु ज्ञवाली, महासचिवमा शान्ति सापकोटा, सचिवमा सन्जोग ठकुरी र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा नेत्र तामाङ, रवीन्द्र मानन्धर, सुशीला तामाङ र हिक्मत दाहाल चयन भए। केन्द्रमा वाग्लेको यो दोस्रो कार्यकाल हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad