कला


१७ वर्षपछि मुख्य भूमिकामा देखिए अभिनेता चौरसिया

१७ वर्षपछि मुख्य भूमिकामा देखिए अभिनेता चौरसिया

नेपालखबर
असोज २, २०८२ बिहिबार ७:३८, काठमाडौँ

अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया। झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौँ आइपुग्नुभएका अभिनेता चौरासियाले मुख्य भूमिका प्राप्त गर्न सत्र वर्ष प्रतीक्षा गरे।

यसपालि दसैँको अवसर पारेर फूलपाती अर्थात् असोज १३ गते प्रदर्शन हुने चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उनले पहिलोपटक कथालाई नेतृत्व गर्ने अवसर पाएका छन्।

‘मैले सायद यसैको प्रतीक्षा गररहेको थिएँ किनकि मैले यो समयका लागि धेरै मेहनत गरेको छु। मधेसको कथामा चलचित्र तयार भएकाले पनि निर्माण पक्षको रोजाइमा म परेँ, तर मैले यसका लागि गरेको सङ्घर्षको फल पाउने बेला हो। मैले आफूले सक्ने कोसिस गरेर पात्रलाई जीवन्त बनाएको छु’, अभिनेता चौरसियाले भने।

बाल्यकालदेखि नै चलचित्र हेर्ने बानीले गर्दा उनी कलाकार बनेर ठूलो पर्दामा देखिने सपना बोकेर काठमाडौँ आए। चौरसियाले अभाव र बेरोजगारीको सामना गर्नुपर्‍याे। ‘मलाई घरबाट विदेश गएर काम गर्न धेरै दबाब आएको थियो। मेरो सर्टिफिकेट लिएर वैदेशिक यात्राको प्रक्रिया अगाडि बढाउने कुरा भएको थियो, तर म नेपालमा नै केही गर्न चाहन्थे। त्यसैले मैले आफ्नो शैक्षिक प्रमाणपत्र नै फाले । त्यसपछि परिवारसँग मेरो हार्दिक सम्बन्ध हुन् सकेन’, उनले भने।

चौरसियाले काठमाडौँ मात्र नभई भारतको दिल्लीसम्म पुगेर अभिनय सिक्ने र चलचित्र काम गर्ने प्रयास गरे । उनको अभिनय यात्रा ‘एक्टर्स स्टुडियो’ बाट सुरु भयो । विसं २०७२ को वैशाखमा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मा ‘हरिया’ बनेपछि उनको चर्चा भयो। त्यसताका चलचित्र प्रदर्शन भएको दोस्रो दिनमा नै भूकम्प आएपछि प्रदर्शन रोकियो। बनिसकेको माहोल बिथोलियो। त्यसपछि पुनः चलचित्र प्रदर्शन भयो, तर उनले सोचेजस्तो चर्चा हुन सकेन, तर त्यसबाट उनको अभिनय कलाबारे धेरैले थाहा पाए।

‘त्यसपछि अन्य चलचित्रमा अभिनयका लागि प्रस्ताव आउन थाल्यो। मलाई उस्तै किसिमका भूमिका, सहायक भूमिका मात्र प्रस्ताव भए । म मुख्य अभिनेता बन्न चाहन्थे, केही फरक गर्न चाहन्थे। मैले केही चलचित्रकर्मीलाई ‘नो’ भनेपछि त्यो सबैतिर फैलियो । फलतः मैले बिस्तारै काम पाउनै छाडे’, अभिनेता चौरसियाले भने।

उनले केही समय अभिनय छाडेर माछा बेच्ने व्यवसायसमेत गरे। कोरोना महामारीका कारण त्यो पनि सफल भएन।

‘मैले जे गरे पनि बिग्रिने जस्तो हुन थाल्यो। मैले आफ्नो इमान्दारिताका साथ काम गरे पनि त्यसको नतिजा आउन सकेन। फलतः म शून्य भएँ, के गर्ने भन्ने सोच्नै कठिन थियो। त्यही क्रममा चलचित्रहरू प्रस्ताव हुन थाले, मैले काम त गरेँ, तर ती सब गरिबी हटाउन थिएँ किनकि मैले प्रतीक्षा गरेको मुख्य भूमिका अझै प्रस्ताव भएका थिएनन्’, उनले भने।

फेरि पाँच वर्षपछि ‘रेशम फिलिली’ नामक चलचित्रमार्फत अभिनयमा फर्किएका अभिनेता चौरसियालाई एकदिन निर्माता विनोद पौडेलले फोन गरेर भेट्ने प्रस्ताव राखे।

‘पूर्णबहादुरको सारङ्गी’ निर्माताले बोलाएपछि नभेट्ने कुरै भएन। उनले कार्यालयमा पुगेर चलचित्रको कथा सुने। मधेस र बोर्डर छेउको कथा भएकाले उनलाई आकर्षित गर्नु स्वाभाविक थियो, तर मुख्य अभिनेताको प्रस्ताव आएपछि उनी अक्क न बक्क भए।

‘मैले जे चीजका लागि यत्रो मेहनत गरेको थिएँ, त्यो मैले पाउँदै थिएँ । त्यो क्षणलाई म शब्दमा व्यक्त गर्न सक्दिन। यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ । आफ्नो मेहनतको फल पाएँ झैँ लागेको छ’, अभिनेता चौरसियाले भने।

चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उनले परिवारको सुरक्षा र जिम्मेवारी बहन गर्ने पात्रको भूमिका निर्वाह गरेका छन्। मधेसको पृष्ठभूमिमा आधारित यो चलचित्रमा किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतले अभिनय गरेका छन्। चलचित्रमा मुकेस खनालको लेखन, सुशान्त गौतमको निर्देशन, शरद् महतोको छायाङ्कन र मदन घिमिरेको सम्पादन रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad