यही असोज ३१ गतेबाट रिलिज हुने फिल्म‘जेरी अन टप’ को पहिलो गीत सार्वजनिक भएको छ। दसैँको घटस्थापनाको अवसरमा सोमबार ‘कस्तूरी’ बोलको गीत युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको हो।
सार्वजनिक गीतको भिडिओमा मुख्य कलाकार अनमोल केसी र आँचल शर्मा फिचर्ड छन्। मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्यहरू भिडिओमा कैद गरिएको छ। भिडिओमा रोमान्टिक देखिएका अनमोल र आँचलको केमेस्ट्री निकै सुहाएको छ। गीतका शब्दअनुसार भिडिओमा समावेश दृश्यहरू प्रेमिल छन् ।
उच्च मेकिङ र कलरफूल देखिने भिडिओमा कोरियोग्राफी किरण थापाको छ। आशिष गुवाजु र सदीक्षा कट्टेलको स्वर रहेको गीत संगीतकार जयन जे वाइबाले तयार गरेका हुन्। वाइबाकै शब्द र साउण्ड डिजाइन रहेको गीतमा अशोक थानेतको मिक्सिङ र मास्टरिङ छ ।
सुयोग गुरुङको निर्देशित यस फिल्ममा अनमोल र आँचलसँगै जसीता गुरुङ, हाँस्य अभिनेता केदार घिमिरे 'माग्नेबुढा', अभिनेता भुवन केसी र उषा खड्गीको अभिनय छ। अभिनेत्री सुरक्षा पन्त पनि फिल्ममा एक विशेष भुमिकामा देखिएकी छिन्।
सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन्। हेमराज बिसीको कथा रहेको फिल्मको पटकथा विस्वास तिम्सिनाले लेखेका हुन्। यो फिल्म सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित छ।
यस फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।
Shares

प्रतिक्रिया