पूर्वएनसीबी अधिकारी समीर वानखेडेले शाहरुख खानका छोरा आर्यन खानलाई प्रस्तुत गर्ने वेब सिरिजको सम्बन्धमा दिल्ली उच्च अदालतमा मानहानि मुद्दा दायर गरेका छन्।
समीर वानखेडेले अभिनेता शाहरुख खान र गौरी खानको स्वामित्वमा रहेको रेड चिलीज इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड, ओटीटी प्लेटफर्म नेटफ्लिक्स र अन्य पक्षविरुद्ध मुद्दा दायर गरेका हुन्।
रेड चिलिजद्वारा निर्मित र नेटफ्लिक्समा प्रसारित वेब सिरिज ‘ब्याड्स अफ बलिउड’ ले झुटा, दुर्भावनापूर्ण र मानहानिपूर्ण सामग्री प्रस्तुत गरेको वानखेडेले आरोप लगाएका छन्।
निवेदनमा समीर वानखेडेले २ करोड क्षतिपूर्ति मागेका छन्, जुन उनले क्यान्सरका बिरामीहरूको उपचारका लागि टाटा मेमोरियल क्यान्सर अस्पताललाई दान गर्ने प्रस्ताव गरेका छन्।
वेब सिरिजमा एनसीबी अधिकारी समीर वानखेडेजस्तो देखिने पात्र छ, जसले बलिउडका व्यक्तित्वहरूलाई पछ्याउँछन्।
शृङ्खला रिलिज भएपछि यो पात्रको सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा भएको थियो।
ध्यान दिनुपर्ने कुरा के छ भने चार वर्षअघि २०२१ अक्टोबर २ मा समीर वानखेडेले एनसीबी टोलीसँग मिलेर मुम्बईको कर्डेलिया क्रुज जहाजमा छापा मारेर आर्यन खानसहित २० जनालाई पक्राउ गरेका थिए।
त्यसबेला वानखेडेमाथि लागुऔषध मुद्दामा पक्राउ परेका आर्यन खानलाई रिहा गर्न २५ करोड रुपैयाँ घुस लिने षड्यन्त्र रचेको आरोप लागेको थियो।
Shares

प्रतिक्रिया