यम शेर्पाको निर्देशन रहेको फिल्म ‘मिरमिरे’का दुई वटा पोस्टर सार्वजनिक भएका छन्।
सार्वजनिक पोस्टरमा मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङ्लेखु फिचर्ड छन्। पहिलो पोस्टरमा दयाहाङ राई र शाइसा गौचन छन्। मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा दयाहाङ र शाइसा देखिन्छन्।
उनीहरू बाउ र छोरीजस्तो रहेको देखिन्छ। दुवै केही तनावमा छन्। कसैको पर्खाइ वा वियोगमा रहेजस्तो देखिएको छ। दयाहाङले छोरीप्रति आमाको जिम्मेवारी पनि निभाइरहेको संकेत पोस्टरमा गरिएको छ।
दोस्रो पोस्टरमा प्रकाश र सिर्जना छन्। प्रकाश विद्यार्थी र सिर्जना शिक्षिकाको रुपमा देखिन्छन्। मन्द मुस्कानमा सिर्जना र मजाको हाँसोमा छन् प्रकाश।
यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’ आउँदो माघ १ गते रिलिज हुँदै छ। फिल्ममा दयाहाङ, प्रकाश र सिर्जनासहित माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, बाल-कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।
दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो। यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गरेका हुन्। यसअघि उनको ‘कार्साङ’मा पनि दयाहाङ मुख्य भूमिकामा थिए। ‘मिरमिरे’को निर्देशनसँगै स्टोरी पनि यमले लेखेका छन्। फिल्मको छायाँकन आलोक शुक्लाले गरेका हुन्।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह-निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्। यो फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मस्का सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल छन्। वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
Shares

प्रतिक्रिया