कला


मंसिर १७ देखि पाटनमा हस्तकला प्रदर्शनी हुने

मंसिर १७ देखि पाटनमा हस्तकला प्रदर्शनी हुने

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार २०:३, काठमाडौँ

नेपाल हस्तकला महासंघले हस्तकला प्रदर्शनी आयोजना गर्न लागेको छ। 

महासंघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १७ गतेदेखि २१ गतेसम्म प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो।

ललितपुर महानगरपालिकाको सहयोगमा कला तथा संस्कृति महोत्सवको अवसरमा प्रदर्शनी गर्न लागिएको महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए।

नेपाली कला र संस्कृतिको परिचायकको रूपमा रहेका हस्तकला वस्तुको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यबाट पाटन दरबार स्क्वायर क्षेत्र र पाटन संग्रहालय परिसरमा हस्तकला प्रदर्शनी आयोजना गरिने उनले बताए।

उनले हस्तकला क्षेत्रले धेरै रोजगारी दिएको र राजस्व संकलनमा पनि ठूलो योगदान दिएको उल्लेख गरे। स्थानीय उत्पादनलाई स्थानीय तहमा नै खपत गर्नको लागि महानगरको वडा नम्बर १६ सँग सहकार्य गरेर प्रदर्शनी आयोजना गर्न लागिएको शाक्यले जानकारी दिए।

उनकाअनुसार हस्तकला प्रदर्शनीमा करिव २१ वटा क्यानोपी र १० वटा टेबुल स्टल रहनेछन्। प्रदर्शनीमा विभिन्न विधाका हस्तकला वस्तुहरूको अलाबा ललितपुर महानगरपालिका वडा नं १६ को हस्तकला प्रवद्र्धन समितिबाट बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना प्रदर्शनी, जातीय पोशाक प्रदर्शनी र सोही वडाको सांस्कृतिक समितिबाट शास्त्रीय संगीत, विभिन्न विधाका चर्या नृत्य, अष्टमात्रिका नाच, कार्तिक नाच, लोकनृत्य लगायत धाः बाजा, दमोखिं बाजा नेपाल भाषाका लोकगीत लगायतको प्रश्तुति गरिने उनले जानकारी दिए।

महासंघले कोरियास्थित इमाको संस्थाको सहकार्यमा मुखौटा प्रदर्शनी समेत गर्ने उनले जानकारी दिए। मुखौटा प्रदर्शनीमा नेपालका ६० वटा र दक्षिण कोरियाको ४० वटा मुखौटा राखिनेछ। 

ललितपुर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले वडा नम्बर १६ हस्तकला क्षेत्रको हव भएको बताए। उनले वडामा हस्तकला महासंघसँग मिलेर कला संस्कृतिको क्षेत्रमा वडाले विभिन्न काम गरिरहेको जानकारी दिए।

उनले प्रदर्शनीको मुख्य उद्देश्य भनेको वडाभित्र रहेका कला, संस्कृति, सभ्यतालाई प्रवर्द्धन र संवर्द्धन गर्नु रहेको बताए। लोप हुन लागेको कला संस्कृतिलाई प्रदर्शनी गर्ने उनको भनाई छ। कला र संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने पनि प्रदर्शनीको उद्देश्य रहेको उनले बताए। 

प्रदर्शनी प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा प्रदर्शनकर्ता तथा आगन्तुकहरूको सुविधाको लागि नेवारी मौलिक खाद्य परिकारका ३ वटा स्टलहरु पनि राखिने महासंघले जनाएको छ। 

महासंघ र ललितपुर महानगरपालिका वडा नं १६ हस्तकला तथा पर्यटन विकास समिति तथा पाटन संग्रहालयको संयुक्त आयोजनामा हुने प्रर्दशनीको बुधवार ललितपुर दरबार स्क्वायरस्थित कार्तिक डबलीमा उद्घाटन हुनेछ। प्रदर्शनी अवलोकन गर्न निःशुल्क प्रवेशको व्यवस्था रहेको महासंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad