आउँदो माघ २३ गते रिलिज हुने प्रेम कथानक फिल्म ‘कुमारी’ को प्रचार-प्रसारलाई लक्षित गर्दै देशका विभिन्न सहरमा बृहत् ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गर्ने भएको छ। फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले सङ्गीतमार्फत दर्शकसँग प्रत्यक्ष जोडिन कन्सर्ट गर्न लागेको हो।
कन्सर्ट शृङ्खलाअन्तर्गत माघ १ देखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौँ, नेपालगन्ज, चितवन र धरानमा कार्यक्रम गरिने भएको छ। यी सबै कन्सर्टमा फिल्मका प्लेब्याक गायक केहरसिं लिम्बू र उनको ब्यान्ड केहर एन्ड द लुङाले आफ्नो लाइभ प्रस्तुति दिनेछ।
केहर र उनको ब्यान्ड युवा पुस्तामाझ अत्यन्त लोकप्रिय छ। फिल्मका गीतहरू दर्शकमाझ लोकप्रिय बन्दै गइरहेका वेला कन्सर्टले उत्साह अझ बढाउने अपेक्षा गरिएको छ।
यसअघि दुई गीतहरू ‘कता छौ ...’ र ‘तिमी बिना…’ सार्वजनिक भई चर्चामा छन्। कन्सर्ट सुरु हुनु अगावै लोक लयमा आधारित रहने अर्को गीत पनि सार्वजनिक गर्ने तयारी निर्माण समूहले गरेको छ। यी सबै गीतमा केहरसिं लिम्बूको स्वर छ।
‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथात्मक फिल्म निर्देशन गरिसकेका दिनेश राउतको निर्देशनमा बनेको ‘कुमारी’ भ्यालेन्टाइन डेको आसपास रिलिज हुन लागेको छ। त्यसैले फिल्मले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ।
यस फिल्ममा नयाँ अनुहार अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन्।
Shares

प्रतिक्रिया