बालेन शाहको नेतृत्वमा सरकार बनेसँगै पुराना सरकारी नियुक्तिहरू खारेजी गर्ने विषय चर्चामा छ। पार्टीबाट नियुक्ति पाएकाहरूलाई हटाउने चर्चा चलिरहेका बेला चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले भने आफ्नो नियुक्ति राजनीतिक नभएको बताए।
२०८१ साल भदौ ११ गते डिसी बोर्डको १८औँ अध्यक्ष पदमा नियुक्त भएका थिए। त्यतिबेला अध्यक्षका लागि ६ जनाको नाम सिफारिस गरिएको थियो। तर अन्तिममा डिसीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निकटताको कारण अध्यक्ष पद पाएका थिए। ओलीले क्षमता देखेर आफूलाई पत्याएको उनको भनाइ थियो।
डिसी सत्तारूढ एमालेनिकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष र जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य समेत हुन्। यद्यपि, उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले आफूलाई क्याबिनेटमार्फत नियुक्त गरेको भए पनि त्यो सिधै गरिएको नियुक्ति नभएको दाबी गरे।
‘नयाँ सरकारले मलाई जाऊ भनेको छैन। दोस्रो, यो राजनीतिक नियुक्ति होइन। सिधै गरिएको नियुक्ति चाहिँ राजनीतिक नियुक्ति हुन्छ। त्यतिखेर सूचना र विज्ञापन गरेर गरिएको नियुक्ति राजनीतिक नियुक्ति हुँदैन,’ डिसीले भने, ‘अब सरकारले अहिले हामीलाई काम गर्न सहज गरिदेऊ भन्यो भने जान पनि तयार हुनुपर्छ। त्यसलाई नकारात्मक रूपमा लिनु भएन।’
बोर्डको अध्यक्ष पदको कार्यकाल २ वर्षको हुन्छ। जसअनुसार डिसीको कार्यकाल आगामी भदौ ११ गतेसम्म छ। यद्यपि, बालेन शाहको नेतृत्वमा सरकार बनेसँगै सिनेवृत्तमा बोर्ड अध्यक्ष परिवर्तन हुने चर्चा चलिरहेको छ।
डिसीले आफू पदमा टाँसिरहने पक्षमा नरहेको स्पष्ट पारे।
‘सरकारले गरेको निर्णय मान्दिनँ भन्ने त कुरै हुँदैन। सरकारले आफ्नो नयाँ टिम बनाउन चाहनु र उसका समर्थकले पदको चाहना राख्नुलाई मैले स्वाभाविक रूपमा लिएको छु। उहाँहरूले भन्नुभयो भने राजीनामा दिन म तयार छु,’ उनले भने।
डिसीले आफूलाई हटाउने चर्चा केवल बाहिरको हल्ला मात्र भएको सुनाए।
‘अहिलेसम्म त्यस्तो आएको छैन। यो सबै बाहिरको हल्ला मात्रै हो। नराम्रो काम गरेको जो भए पनि नयाँ चेन्ज गर्ने भन्ने लाइनबाट सुनिन्छ। तर, नराम्रो गरेको छैन। मन्त्रीज्यूले सकारात्मक नै कुरा गर्नुभएको छ,’ उनले भने।
डिसी थप्छन्, ‘राम्रो काम गर्नेलाई निरन्तरता दिने सरकारको आशय बुझिन्छ। उहाँहरूले जाऊ भन्नुभएको छैन। भदौ ११ गते राति १२ बजेसम्मका लागि मलाई अपोइन्ट गरिएको, म त्यो दिनसम्मका लागि छु। तर सरकारले निर्णय गरेमा त्यसलाई चुनौती दिने वा मान्दिनँ भन्ने कुरै हुँदैन।’
Shares

प्रतिक्रिया