कला


सकियो रेखाको फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन

सकियो रेखाको फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन

नेपालखबर
चैत २५, २०८२ बुधबार १२:४४, काठमाडौँ

अभिनेत्री रेखा थापाको निर्देशन रहेको फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन सकिएको छ। २८औँ दिनमा सुटिङ सकिएको निर्माण टिमले जनाएको छ। 

गत फाल्गुन २५ गते छायांकन सुरु भएर काठमाडौँ आसपासकै विभिन्न स्थानमा खिचिएको थियो। ‘माया भनेकै यस्तो होला’ मार्फत अभिनेत्री रेखा आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी उनको यो तेस्रो निर्देशकीय फिचर सिनेमा हो।

अभिनयमा नभएर निर्देशनमा मात्र पूर्ण रूपमा केन्द्रित भएकी रेखाले यसपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ भन्दा बाहिर आएर चलचित्रमा काम गरिरहेकी हुन्। नेपाली चलचित्र इतिहासमा स्थापित महिला निर्देशकले बाहिरी ब्यानरको चलचित्र निर्देशन गरेको यो सम्भवतः पहिलो पटक हो।

‘दिया एन्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारको जम्बो टोली छ। फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ।

विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ। साथै लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ।

यसअघि निर्माण पक्षले चलचित्रको औपचारिक घोषण गर्दा दुई वटा पोस्टर सार्वजनिक गरेको थियो। हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ। 

ध्रुव लम्सालको पटकथा/लेखन रहेको छ। १० वर्षपछि लेखनमा फर्किएका लम्सालले स्क्रिप्टमा निकै मिहिनेत गरिएको बताए।

सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन्।

आगामी वर्षको तीजको अवसर पारेर देशभरका हलमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad