अभिनेत्री मिरुना मगरले आफू बच्चैदेखि अभिनेत्री निरुता सिंहको फ्यान भएको बताएकी छन्। निरुतालाई आफूले सानैदेखि आइडल मान्ने गरेको उल्लेख गरेकी छन्।
मिरुनाले पहिलोपटक निरुतालाई ८-९ वर्षको हुँदा एक फिल्मको छायांकन सेटमा भेटेकी थिइन्। बुधबार साँझ फेसबुकमा त्यसबेला खिचेको र अहिले भेटेको फोटो राख्दै मिरुना ‘नोस्टाल्जिक’ भइन्।
उनले निरुतासँग सानैमा भेट्दा आफू अभिनेत्री बन्छु भनेर कल्पना समेत नगरेको बताएकी छन्। ‘मैले निरुता सिंह म्यामलाई सानैमा भेट्ने अवसर पाएकी थिएँ, त्यो बेला म आफैं अभिनेत्री बन्छु भन्ने कल्पना समेत गरेकी थिइनँ। उहाँका फिल्महरू हेर्दै र गीतहरूमा नाच्दै म हुर्किएकी हुँ। उहाँ त्यतिबेला पनि मेरो प्रेरणाको स्रोत हुनुहुन्थ्यो र आज पनि हुनुहुन्छ,’ मिरुनाले लेखेकी छन्।
हालैको भेटबाट निरुताबाट अझ प्रभावित भएको उनको भनाइ छ। उनले लेखेकी छन्, ‘वर्षौंपछि फेरि उहाँलाई भेट्दा मेरो सम्मान र प्रशंसा अझ बढेको छ। केवल एक स्टारका रूपमा मात्र होइन, उहाँको व्यक्तित्वले पनि मलाई प्रभावित बनाएको छ। उहाँ साँच्चै प्रतिभा, सौन्दर्य र दयालुताको प्रतीक हुनुहुन्छ। मैले सम्झेझैँ उहाँ आज पनि त्यत्तिकै प्रिय र सुन्दर हुनुहुन्छ। अझ प्रेरणादायी।’
मिरुनाको उक्त पोस्टलाई निरुताले आफ्नो फेसबुक र इन्स्टाग्रामको स्टोरीमा सेयर गर्दै ‘माइ लिटिल स्टार’ भनेर लेखेकी छन्।
उनीहरूको भेट केही दिनअघि सुरवीन राईको नयाँ बानेश्वरस्थित ब्यूटी सलोन ‘अनानिक’मा भएको थियो। उक्त भेटमा दुवैले एकअर्काको फिल्म हेरेको स्मरण गर्दै भविष्यमा सँगै फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका थिए।
Shares

प्रतिक्रिया