मण्डला थिएटर नेपालले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका ६ वटा स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरिरहेको स्थानीय थिएटर क्लब निर्माण तथा कचहरी नाटक कार्यशाला कार्यक्रम अन्तिम चरणमा पुगेको छ। कार्यक्रमअन्तर्गत सम्बन्धित पालिकामा स्थानीय थिएटर क्लब गठन भइरहेका छन् भने नाटक मञ्चन पनि सुरू भइरहेका छन्।
यसै क्रममा डडेल्धुराको आलिताल गाउँपालिका र बाजुराको त्रिवेणी नगरपालिकामा आजदेखि कचहरी नाटक प्रदर्शन सुरु हुँदै छ। अन्य चार पालिकामा पनि आगामी हप्तादेखि नाटक प्रदर्शन सुरू हुनेछ। प्रत्येक पालिकामा कम्तीमा आठ वटा स्थानमा कचहरी नाटक मञ्चन गरिने योजना रहेको छ।
कार्यक्रमका लागि मण्डला थिएटर नेपालले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका साथै काठमाडौंमा सक्रिय रंगकर्मीहरूलाई एक महिना अघि विशेष प्रशिक्षण प्रदान गरेको थियो। प्रशिक्षणमार्फत कचहरी नाटक सहजीकरण, स्थानीय थिएटर क्लब निर्माण तथा सहभागी नाट्य अभ्यास सम्बन्धी क्षमता अभिवृद्धि गरिएको थियो। त्यसपछि दुई-दुई जनाको टोलीका रूपमा प्रशिक्षित सहजीकर्ताहरूलाई सम्बन्धित पालिकाहरूमा परिचालन गरिएको थियो, जहाँ उनीहरूले १५ दिने कचहरी नाटक कार्यशाला सञ्चालन गरेका छन्।
कार्यशालाबाट विकसित भएका नाटकहरू अब समुदायमाझ प्रस्तुत गरिँदै छन्। स्थानीय समुदायका वास्तविक अनुभव, चुनौती र सरोकारका विषयलाई केन्द्रमा राखेर तयार गरिएका यी कचहरी नाटकले समुदायभित्र संवाद, सहभागिता र सामूहिक समाधानको खोजीलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।
नाटक प्रदर्शनको अनुगमन, दस्तावेजीकरण तथा प्रतिक्रिया संकलनका लागि मण्डला थिएटर नेपालको टोली भोलिदेखि सुदूरपश्चिम प्रदेशतर्फ प्रस्थान गर्दै छ। टोलीले आलिताल गाउँपालिकाबाट अनुगमन यात्रा सुरु गर्नेछ र करिब एक सातापछि कपिलवस्तुको विजयनगर गाउँपालिका मा पुगेर आफ्नो भ्रमण सम्पन्न गर्नेछ।
यो कार्यक्रम मण्डला थिएटर नेपालद्वारा सञ्चालन गरिएको ‘लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा स्वास्थ्य सचेतनाका लागि सहभागी नाटकको संस्थागत विकास’ परियोजनाअन्तर्गतको पहिलो चरणको प्रमुख गतिविधि हो। उक्त परियोजना जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोग तथा स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सहयोग कार्यक्रमसँगको साझेदारीमा सञ्चालन भइरहेको छ।
कार्यक्रमको उद्देश्य सहभागी नाटकमार्फत स्थानीय युवाको नेतृत्व विकास गर्नु, समुदायमा स्वास्थ्य, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी संवादलाई प्रोत्साहित गर्नु तथा स्थानीय स्तरमा दिगो थिएटर क्लबहरूको विकास गर्नु रहेको छ।
Shares

प्रतिक्रिया