संसारमा विचित्र विचित्र सोच भएका मानिस हुन्छन्। जसले अनौठा अनौठा क्रियाकलाप गरिरहेका हुन्छन्। एउटा यस्तै अचम्मको घटना भएको छ - ब्राजिलमा। जहाँ एक व्यक्तिले आफू मरेको नाटक गरेर धेरैलाई केही बेर दुःखी र पछि छक्क पारिदिएका छन्।
६० वर्षीय बाल्टाजार लेमोस नामका व्यक्तिले सेरेमोनियालिस्ट’का रूपमा सयौँ जनाको अन्त्येष्टि गरिसकेका छन्। यस क्रममा उनले कसैको अन्त्येष्टिमा थोरै मानिस त कसैको अन्त्येष्टिमा धेरै जना सहभागी हुने गरेको पाए। अनि उनलाई पनि उत्सुकता लाग्यो– म मर्दाचाहिँ कति जना आउलान्? त्यसपछि उनले मरेको नाटक गरे।
जनवरी १० तारिखमा कसैले बाल्टाजार लेमोसको सामाजिक सञ्जालमा तस्बिरसहित उनको निधन भएको कुरा लेख्यो। जसमा भनिएको थियो, ‘....बाल्टाजारको निधन भएको दुःखद खबर दिन चाहन्छु। थप जानकारी चाँडै दिनेछु।’ यसको एक दिनअघि साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालअगाडि बसेको उनको तस्बिर पोस्ट गरिएको थियो, त्यसैले उनको निधनको खबरलाई धेरैले साँचो ठाने।
बाल्टाजारका अनलाइनका साथीले उनको निधनको खबर सेयर गर्न थाले। कमेन्टमा धेरैले श्रद्धाञ्जली लेखे र के कारणले मृत्यु भयो भनेर सोधे। तर यसबारे केही जानकारी दिइएको थिएन। अन्तिम संस्कार भने कहाँ र कहिले हुनेछ भनेर फेसबुकमा जानकारी दिइएको थियो।
जनवरी १८ तारिखका दिन बाल्टाजारका साथीभाइ र आफन्त उनको पैतृक घर भएको सहर कुरिटिबामा भेला भए, जहाँ उनको कथित अन्त्येष्टि भइरहेको थियो। यस क्रममा बाल्टाजारले आफ्नो जीवनबारे बोले। त्यति बेला धेरै मानिस रोए, किनकि उनीहरूले त्यो रेकर्ड गरिएको होला भनेर ठाने। त्यसपछि एउटा ढोका खोलियो र बाल्टाजार सबैसामु उपस्थित भए।
उनलाई देखेर कोही रुन थाले, कोही मुख खोलेर हेर्न थाले। तर जब उनले आफूले मरेको नाटक गरेको भनेर बताए तब त्यहाँ उपस्थित धेरै जना रिसाए।
बाल्टाजार लेमोसको कथा सोसल मिडियामा भाइरल भयो। कतिले किन त्यस्तो गरेको भनेर उनीसँग सम्पर्क पनि गरे। जवाफमा उनले कसैलाई दुःखी बनाउने आफ्नो उद्देश्य नभएको मात्र आफ्नो मृत्यु हुँदा को–को आउँछन् भनेर थाहा पाउन त्यस्तो गर्न मन लागेको बताए।
उनले भने, कसैलाई दुःखी बनाउने मेरो उद्देश्य थिएन। म सबैसँग माफी चाहन्छु।’ एजेन्सी
प्रतिक्रिया