जापानका एक राजनीतिकर्मीले युवाहरुमा रोमान्स गर्ने क्षमता नहुँदा मुलुकको जनसंख्या घटेको दाबी गरेका छन्।
लिबरल डेमोक्रेटिक पार्टीका नेता नरिसे इसिदाले मिए प्रिफेक्चर विधानसभामा यस्तो बताएका हुन्। उनले जापानीहरुको रोमान्स गर्ने क्षमता निर्धारण गर्न सर्वेक्षण गर्नुपर्ने पनि सुझाए।
जापानमा विवाह र बच्चा जन्माउँदा पर्ने आर्थिक दबाबका कारण ढिलो विवाह गर्ने र बच्चा कम जन्माउने प्रवृत्ति देखिएको छ।
तर, इसिदाले सदनमा भने, ‘जन्मदर बच्चा जन्माउँदाको खर्चका कारण घटेको होइन। खासमा समस्या भनेको विवाहअघि रोमान्स निषेधित विषय बनेको छ।’
हालै प्रधानमन्त्री फुमियो किसिदाले जापान जनसंख्या संकटको संघारमा पुगेको भन्दै मानिसहरुलाई बच्चा जन्माउनका लागि प्रोत्साहन दिन गरिने खर्चमा व्यापक वृद्धि गर्ने घोषणा गरेका छन्।
तर, विज्ञहरु इसिदाको भनाइसँग सहमत छैनन्। जापानी युवाहरु अनलाइन र सामाजिक सञ्जालमार्फत एकअर्कासँग सञ्चार गर्न सबल रहेको प्राध्यापक माकोतो वातानाबेले बताए।
‘युवाहरु अझै पनि विवाह गर्न, परिवार बसाउन र बच्चा जन्माउन चाहन्छन्। तर, आर्थिक चिन्ताका कारण कार वा घर किन्न निकै कठिन छ। यस्तोमा बच्चा हुर्काउन निकै मुस्किल हुन्छ,’ उनी भन्छन्। एससीएमपी
प्रतिक्रिया