नेदरल्याण्डका एक सिरियल वीर्यदाताले वीर्य दान गरी ५५० भन्दा बढी बच्चा जन्माउन मद्दत गरेको खुलेको छ।
डोनरकाइन्ड फाउन्डेसनले विश्वभरका सयौँ महिलालाई भ्रममा पारी ५५० भन्दा बढी बच्चा जन्माउन भूमिका खेलेको भन्दै अदालतमा मुद्दा हालेपछि घटना बाहिरिएको हो।
४१ वर्षीय जोनाथन जेकब मेइअरले हाडनाता करणी बढ्नेगरी गैरकानूनी रूपमा सयौँ महिलालाई वीर्यदान गरी बच्चा जन्माउने भूमिका खेलेको आरोप फाउन्डेसनको छ। मेइअरले आफूले वीर्यदान गरी जन्मिएका बच्चाको बारेमा लुकाएको बताउँदै उक्त फाउन्डेनस वीर्यदानबारे सत्यततथ्य जानकारी दिन र अब वीर्यदान गर्न रोक्न माग गर्दै अदालत पुगेको हो।
डोनरकाइन्डले उनलाई कुनै पनि क्लिनिकमा वीर्य दान गर्न प्रतिवन्ध लगाउन र उनले वीर्य दान गरेका क्लिनिक पत्ता लगाउनेगरी अन्तरिम आदेश दिन अदालतलाई अनुरोध गरेको छ। उक्त संस्थाले ती क्लिनकबाट मेइअरको वीर्य नष्ट गर्नुपर्ने पनि माग गरेको छ।
डच वीर्यदान क्लिनिकको मापदण्डअनुसार एक जना पुरुषले बढीमा २५ जनासम्म बच्चा जन्माउनेगरी वा १२ जनासम्म महिलालाई मात्रै वीर्यदान गर्नुपर्छ।
मेइअरले सन् २०१७ मै नेदरल्याण्डका १० वटा क्लिनिक्समा वीर्यदान गरी १०२ बच्चा जन्माइसकेका थिए। डच प्रसूति तथा स्त्रिरोगविज्ञान सोसाइटीले त्यहीबेला मेइअरलाई पहिलोपटक वीर्यदान नगर्न चेतावनी दिएको थियो।
उनलाई त्यसबेला नेदरल्याण्डले वीर्य दान गर्न नपाउनेगरी कालोसूचीमा राखेको थियो। त्यसपछि मेइअरले डेनमार्क र युक्रेनलगायतका देशमा वीर्य निर्यात गरेको आरोप उनीमाथि छ।
सन् २०१८ मा मेइअरको वीर्यदानबाट आमा बनेकी एक डच महिला इभाले भनिन्, 'मेइअरको बारेमा थाहा पाएपछि म मेरो सन्तामा देखिन सक्ने जोखिमबारे सोचेरै बिरामी भएकी थिएँ। यदि मैले पहिले नै उनी १०० भन्दा बढी बच्चाका बुवा भइसकेको थाहा पाएको भए म कहिल्यै उनलाई छनोट गर्थिनँ।'
इभा र डोनरकाइन्ड संयुक्त रूपमा मेइअरलाई वीर्यदान गर्न प्रतिवन्ध लगाउने र क्लिनिकहरूमा सुरक्षित रहेको उनको वीर्य नष्ट गर्नुपर्ने बताउँदै आएका छन्।
प्रतिक्रिया