चीनका एक करोडपतिले विश्वविद्यालय प्रवेश परीक्षामा आफू २७ औँ पटक फेल भएको बताएका छन्। ५६ वर्षी लियाङ सीले आफूले ७५० पूर्णांकमध्ये ४२४ मात्र ल्याएको बताए।
पास हुन उनलाई ३४ नम्बर पुगेन।
चीनमा गाओकाओ भनिने विश्वविद्यालय प्रवेश प्ररीक्षा निकै कठिन मानिन्छ। यस वर्ष झण्डै एक करोड ३० लाख विद्यार्थीले सो परीक्षा दिएका थिए।
विद्यार्थीहरुले चिनियाँ भाषा, म्याथ र अंग्रेजी अनिवार्य तथा साइन्स वा मानविकीमध्ये एउटा रोजेर परीक्षा दिनुपर्ने हुन्छ।
यो परीक्षामा २०२१ मा झण्डै ४२ प्रतिशत विद्यार्थी मात्र पास भएका थिए।
लियाङ १९८३ देखि यो परीक्षा दिइरहेका छन्। यसपटकको नतिजाबाट आफू निराश भएको उनको भनाइ छ।
‘म फेल भएँ भन्ने पत्याउनै गाह्रो भो भन्न बानी परेको थिएँ। तर, यसपटक मेरो मन छियाछिया भएको छ,’ उनले भनेका छन्।
आफ्नो सपना कहिल्यै पुरा नहुने हो कि भन्ने चिन्ता लागेको उनले बताए।
१९५० को दशकदेखि नै यो परीक्षा चीनको शिक्षा प्रणालीको केन्द्रीय हिस्सा रहँदै आएको छ। सांस्कृतिक क्रान्तिका बेला केही समय यसलाई बन्द गरिएको थियो।
खासगरी गरिब परिवारका विद्यार्थीका लागि यो परीक्षा जीवनमरणको सवाल बन्ने गर्छ। किनभने राम्रो जागिरका लागि विश्वविद्यालयको डिग्री चाहिन्छ। त्यसको एक मात्र बाटो यो परीक्षा पास गर्नु हो।
लियाङले प्रतिष्ठित विश्वविद्यालयमा भर्ना हुने र ‘बौद्धिक’ बन्ने आफ्नो चाहना रहेको बताएका छन्।
१९८३ मा १६ वर्षको उमेरमा पहिलो पटक फेल भएपछि अलगअलग काम गर्दै लियाङले १९९२ सम्म उमेर हद हुन्जेल हरेक वर्ष जाँच दिइरहे। त्यसपछि उनले आफ्नै काठको व्यापार सुरु गरे। पहिलो वर्षमै उनले १० लाख युआन कमाए।
२००१ मा सरकारले गाओकाओका लागि उमेर हद हटाएपछि उनले फेरि जाँच दिन थाले। जाँच दिनकै लागे उनले मदिरा र जुवा छाडे। तैपनि पास हुन सकेनन्।
‘जाँच दिइराखुँ कि छाडुँ भनेर सोच्दैछु,’ उनले भनेका छन्, ‘सायद मैले आफूलाई राम्ररी हेर्न जरुरी छ। अर्को वर्ष मैले हार मान्छु होला। अर्को वर्ष जाँच दिएँ र फेल भएँ भने म आफ्नो थर लियाङ नै छाडिदिन्छु।’ एजेन्सी
Shares
प्रतिक्रिया