ad ad

रोचक


९० वर्षमा पीएचडी गरेकी डा. हर्बर्ट : जसले रोजेकी थिइन् करिअर छाडेर अरूको सेवा

९० वर्षमा पीएचडी गरेकी डा. हर्बर्ट : जसले रोजेकी थिइन् करिअर छाडेर अरूको सेवा

डा. ब्रनवन हर्बर्ट


एन्जेला प्रिस्टले
पुस ५, २०८० बिहिबार १४:४५, काठमाडौँ

दशकौँसम्म उनले एक अभिभावक, समुदायको सदस्य, शिक्षा र समाजसेवीको रुपमा विभिन्नखाले अनुभव हासिल गरिन्। जब बूढेसकाल लाग्यो, ९० वर्षको उमेरमा विद्यावारिधि (पीएचडी) गरिन् र बनिन् डा. ब्रनवन हर्बर्ट। 

यो आफैँमा एउटा असाधारण उपलब्धि हो, जुन यही हप्ता मेरो लिंक्डइनमा देखा पर्‍यो। जहाँ प्रयोगकर्ताहरूले सन् २०२३ को समाप्तिका खातिर धेरैखाले कोशेढुंगा र अन्य उपलब्धिहरूसँगै उनको तस्बिर सेयर गरेका थिए। 

त्यसो त डा. हर्बर्ट आफैँ भने लिंक्डइनमा देखा पर्दिनन्। तर गत हप्ता जब युनिभर्सिटी अफ क्विन्सल्यान्डले आफ्नो स्कुल अफ नर्सिङ, मिडविफरी एन्ड सोसल वर्कबाट सोसल वर्कमा उनले पीएचडी गरेको समाचार सेयर गर्‍यो, त्यसपछि उनको सफलताको कथा फैलियो। 

यो केवल जीवनपर्यन्त सिकाइको कथामात्र होइन जुन यहाँ प्रशंसायोग्य छ (उनी सन् १९६२ मा विश्वविद्यालयमा भर्ना भइन्) तर आफैँमा एउटा सेवा र दृढताको लामो विरासत पनि हो, जसबाट हामी हाम्रो जीवनकालमा देखापर्ने फरक बाटाहरूमा देख्ने र अनुभूति गर्ने ती तमाम समस्याहरूको समाधान खोज्न सक्छौँ।    

सन् १९८२ मा सोसल वर्क (सामाजिक कार्य)मा स्नातकोत्तर (मास्टर) पूरा गरेकी डा. हर्बटले घरवारविहीनहरूमा परेको अन्तर्पुस्तेनी प्रभावहरूमाथि केन्द्रित आफ्नो थेसिससँगै वर्षौँसम्म उनीहरूको बदलिएको मुहार हेरेकी छिन्।   

घरमा बच्चा हुर्काउनुपर्ने र अरुको ख्याल राख्नुपर्ने हुँदा उनको करिअर एकैखालको रहेन र उमेरले ५० को दशक पार नगर्दासम्म सोसल वर्क करिअर पनि दौडिएन। तर यसले उनलाई युवा र वैकल्पिक सेवा तथा संकटमा परिवारलाई साथ दिनेजस्ता विविध कुराहरूमा वास्तविक सहानुभूति ल्याउन सक्रिय बनाउने काम गर्‍यो। 

यसका बाबजुद डा. हर्बर्टका सुरुवाती अनुभवहरू भने विशेषगरी रुपान्तरणकारी बनेका छन्। २३ वर्षको उमेरमै पहिलो श्रीमान् गुमाएर एकल महिला बन्दा उनको पेटमा पहिलो बच्चा हुर्किरहेको थियो। 

परिवारसँगै घरवारविहीन बन्ने एउटा बच्चा हुर्किँदै जाँदा पनि कसरी सोही अवस्थामा बाँचिरहेका हुन्छन् भन्ने वर्षौँसम्म आफूले देखेको बताउँछिन् उनी। उनी यो समस्यालाई फरक किसिमबाट कसरी समाधान गर्न सकिन्छ भनेर परीक्षण गर्न चाहन्थिन्। 

‘कलिलै उमेरमा हुने घरवारविहीनताले उनीहरूको सम्बन्ध, शिक्षा र रोजगारीमा पार्ने प्रभावबारे थोरै मात्र लेखिएको पाएँ, त्यसकारण मैले त्यसमा रहेको अन्तर पहिचान गर्न जोड दिएँ’, उनी भन्छिन्।

गत हप्ता विश्वविद्यालयले जनाएअनुसार डा. हर्बटले ८१ वर्षको उमेरमा सोसल वर्कबाट अवकाश लिइन् किनभने उनी आफ्नो थेसिस पूरा गर्न चाहन्थिन् र उनीसँग समय पनि थिएन। 

आफ्नो जीवनकालमा विधवा नारीको रुपमा एउटा बच्चालाई जन्म दिनेदेखि मृतशिशुलाई जन्म दिएकी आमासँग एउटै कोठामा बस्नुपरेका देखाइ र भोगाइहरू उनले विश्वविद्यालयसँग साटेकी छिन्। 

‘मलाई केही युवावस्थाका आमाहरूले भोगेका शोक, भत्किएको वैवाहिक सम्बन्ध, भोग्नुपरेको घरेलु हिंसा र खेप्नुपरेका दुव्र्यवहारबाट उनीहरूलाई धेरैभन्दा धेरै साथ र सहयोग चाहिन्छ भन्नेबारे केही महशुस गर्न बाध्य बनायो’, उनी भन्छिन्। 

डा. हर्बर्टले पछि पुनः विवाह गरिन् र अरु तीन बच्चाका आमा बनिन्। सुरुमा उनी सन् १९६१ मा विश्वविद्यालयमा भर्ना भएकी थिइन् तर बच्चा हुर्काउनुपर्ने अवस्थापछि त्यसलाई निरन्तरता दिन सकिनन्। जब उनको ठूलो बच्चाले विद्यालयको पढाइ सकाइरहेको थियो, उनले आफ्नो करिअर फेरि सुरु गर्नेबारे सोचिन्। उनका एक पाका साथीले पनि अध्ययन पुनः गर्न जोड गरेका थिए। 

सन् १९८२ मा स्नातकोत्तरसँगै उनले संकटमा रहेका परिवारलाई साथ दिने लामो करिअर सुरु गरिन्। 

‘मेरो उमेरले ५० को दशक बिताउँदै गर्दा धेरै मानिसहरू उनीहरूको कार्यव्यस्तता धेरै भएकोले अवकाश लिने सोचिरहेका थिए, जब कि मचाहिँ आफ्नो कामलाई निरन्तरता दिन झन् उत्सुक हुँदै गइरहेको थिएँ’, उनी भन्छिन्, ‘र ९१ वर्षको नहुँदासम्म म सक्रिय भएर लागिरहेँ।’ 

तर बितेका केही वर्षहरू उनका लागि कठिन भएका छन्। उनको स्वास्थ्य त बिग्रिएको छ नै, छोराको अकाल मृत्यु र दोस्रो श्रीमानको मृत्युले शोकमा डुबाएको छ। 

अहिले उनी हजुरआमा बनिसकेकी छिन् र पनि उनलाई अझै केही गर्न बाँकी नै छ जस्तो लाग्छ। उनी आफूले सोसल वर्करको रुपमा काम गर्दाका चाखलाग्दा केही केसहरूबारे लेख्न चाहन्छिन् र आर्थिक र भावनात्मक चोटका बाबजुद उनीहरूले प्राप्त गरेका सफलताको अभिलेख राख्न चाहन्छिन्।  

डा. हर्बर्ट व्यक्तिगत रुपमा लिंक्डइनमा त छैनन् तर परिवारका सदस्यहरू उनका कामको तारिफ गरिरहेका भेटिन्छन्। वुमन्सएजेन्डाबाट भावानुवाद 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .