गण्डकी प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्। उनले ६० सदस्यीय प्रदेशसभामा रहेका ३२ सांसदको मत पाए।
जेष्ठ सदस्यको नाताले बैठकको अध्यक्षता गरेका एमालेका मित्रलाल बस्याल मतदानमा सहभागी नहुँदा नेकपा एकीकृत समाजवादीका सांसद दीपक मनाङे धितालको पक्षमा उभिए। मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत लिंंदा पुस २५ गते उनी अनुपस्थित थिए। नेपाली कांग्रेसकी उम्मेदवार सरस्वती अर्यालले २६ मत पाइन।
२७ सांसद रहेको कांग्रेसका सांसद महेन्द्रध्वज जिसी अनुपस्थित रहे। घरमा श्राद्द भएकाले उनी मतदानमा सरिक नभएको कांग्रेसले जनाएको छ।
गोरखा १ ‘क’ बाट विजयी ६१ वर्षीय धिताल माओवादी जनमुक्ति सेनाको कमिसार हुन्। २०५२ सालमा परिवारसहित भूमिगत बनेका उनलाई पार्टीले युद्धसम्बन्धी तालिम लिन भारत पठाएको थियो।
भारतमा उनले बम र बारुद बनाउने तालिम लिए। जनयुद्धकालीन समयमा उनी बम बनाउने दस्तामा काम गर्थे।
भेटेनरीमा आइएस्सी गरेका धिताल एकसमय उनी सरकारी जागिरे थिए। २०४९ सालमा कर्मचारी आन्दोलनमा होमिएको आरोपमा उनको जागिर गर्यो। त्यसपछि उनी निरन्तर माओवादीमै सक्रिय रहे। पार्टीमा हुँदा उनले कास्की, लमजुङ र गोरखाको इन्चार्ज भएर काम गरेका थिए।
उनी माओवादीको केन्द्रीय सदस्य तथा गोरखाको इन्चार्ज हुन्। २०७० सालमा समानुपातिकबाट संसद छिरेका धितालले प्रत्यक्षमा भने पहिलोपटक चुनाव लडेका थिए।
उनले एमाले उम्मेदवार सुरेन्द्र थापालाई ५ हजार ६३५ मतान्तरले पराजित गरेका थिए। उपसभामुखको चुनाव माघ २ गते तोकिएको छ।
प्रतिक्रिया