यती एयरलाइन्स दुर्घटनामा परेकामध्ये ७० जना मृत भेटिएका छन्।
सोमबार साँझ थप एक यात्रुको शव प्राप्त भएसँगै मृतकको संख्या ७० पुगेको हो। अझै २ जना यात्रुको अवस्था अज्ञात रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए।
उनका अनुसार साँझमा फेला परेको शव सेतीको किनारामा भेटिएको हो। यसअघि विहान सेतीको पानीमै एउटा शव प्राप्त भएको थियो।
सोमबार मात्रै ६ जनाको शव निकालिएको उनको भनाइ छ। आइतबार ६८ जनाको शव फेला पारेपनि ६३ वटा शवमात्रै अस्पताल पुर्याइएको थियो। पाँच जनाको शव दुर्घटनास्थलमै रहेको थियो।
२१ वटा शव पोखरामै पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने क्रम सुरु भएको छ। ४९ वटा शव काठमाडौं पठाइने जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिए। पोष्टमार्टम सकिएका शव आफन्तलाई बुझाउँदै जाने उनले बताए।
काठमाडौंबाट आइतबार विहान १० बजेर ३२ मिनेटमा उडेको ९ एन–एएनसी, एटिआर ७२५०० वायुयान अवतरण गर्नेक्रममा दुर्घटनामा परेको थियो।
विमानमा चालक दलका ४ जना, ३७ जना पुरुष, २५ जना महिला ३ बालबालिका, ३ शिशु, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, एक जना अर्जेन्टिनी, एक जना आइरिस र एक जना फ्रान्सेली नागरिक रहेका थिए।
विमान १० बजेर ५० मिनेट जाँदा सेती खोँचमा खसेको थियो।
प्रतिक्रिया