ad ad

गण्डकी


दानवीर श्रेष्ठ परिवार, जसले क्याम्पसलाई दियो करोड

दानवीर श्रेष्ठ परिवार, जसले क्याम्पसलाई दियो करोड

वाशुदेव मिश्र
फागुन २६, २०८० शनिबार १३:२०, पोखरा

अरबौँ भ्रष्टाचारका समाचारले कान पाकेका बेला एक करोड रुपैयाँ सानो सुनिएला। तर आफ्नै पसिना र मिहिनेतबाट करोड कमाउन त्यति सजिलो छैन। खेतीकिसानी गर्नेका लागि मात्र हैन, सामान्य जागिर खानेका लागि पनि एक करोड कमाउनु सपना हो।

तर, समाजमा यस्ता मान्छे पनि छन्, जो दिल खोलेर करोड दान गर्छन्। एउटा यस्तै उदाहरण हो- बागलुङको गलकोट नगरपालिका हटिया निवासी निर्मला श्रेष्ठको परिवार। 

श्रेष्ठ परिवारले क्याम्पसका लागि १ करोड १ हजार १११ रुपैयाँ दान गरेको हो। स्थानीय गलकोट बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले यही फागुन ६ देखि १३ गतेसम्म सञ्चालित श्रीमद्‌भागवत शैक्षिक ज्ञान महायज्ञमा श्रेष्ठ परिवारले त्यति ठूलो रकम दान गरेको हो।

स्वर्गीय पति बद्रीकुमार श्रेष्ठको स्मृतिमा धर्मपत्नी निर्मला श्रेष्ठसहित स्वर्गीय मातापिता बेगमकुमारी श्रेष्ठ र बद्रीकुमार श्रेष्ठको स्मृतिमा छोरा बुहारीहरू मदनकुमार श्रेष्ठ, नन्दना श्रेष्ठ, पुष्पमान श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, डा. विपिनकुमार श्रेष्ठ, डा. रश्मी श्रेष्ठ, दीलिप श्रेष्ठ सुष्मा श्रेष्ठ तथा छोरीहरू शान्ति, ज्योति र मेडिना श्रेष्ठलगायतबाट सर्वाधिक रकम प्राप्त भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष घनश्याम शर्माले जानकारी दिए।

महायज्ञ मूल आयोजक समितिका संयोजकसमेत रहेका शर्माका अनुसार २ लाख ५१ हजार रुपैयाँभन्दा बढी दान गर्नेलाई ताम्दानीमा चढाएर नगर परिक्रमा गराउने कार्यक्रम थियो।

‘दानवीरलाई सम्मान गर्नु हाम्रो कर्तव्य थियो, हामीले त्यस्ता धेरै दानवीरलाई त्यस्तो सम्मान अर्पण गर्‍यौँ’, शर्माले भने,‘तर, श्रेष्ठ परिवारले त्यस्तो सम्मान रुचाउनुभएन। तामझाम गरेर दान हुँदैन भन्नुभयो। सरासर मञ्चमा आउनुभयो, फूलमाला भए पुग्छ भन्नुभयो।’

स्वर्गीय बद्रीकुमार श्रेष्ठका पिता नै गलकोट क्षेत्रमा व्यापारी मात्र नभएर समाजसेवी थिए। त्यो बेला काठमाडौँ गएर स्नातकसम्म पढेका बद्री कुनै बेला गलकोट माध्यमिक विद्यालयमै मास्टरी गर्थे।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँगै उनले सो विद्यालयमा पढाएका थिए।

वामपन्थीहरूको संगतमा रहेका उनी त्यतै झुकाव राख्थे तर उनी राजनीतिमा होमिएनन्। पछि उनले व्यापार नै रोजे। व्यापारबाट राम्रै सम्पत्ति जोडेका उनी गलकोट क्याम्पसका संस्थापक पनि हुन्। 

२०६१ सालमा गलकोट बहुमुखी क्याम्पस स्थापनाका लागि महायज्ञ आयोजना हुँदा सबैभन्दा बढी दान बद्रीकुमारबाटै भएको थियो।

क्याम्पस व्यवस्थापन समितिका संयोजक शर्माका अनुसार २०६१ फागुन १४ देखि २२ गतेसम्म सञ्चालित वाचनशिरोमणि पण्डित नारायणप्रसाद पोख्रेल प्रमुख वाचक रहेको विश्व शान्ति धनधान्याचल ज्ञान महायज्ञमा नगद १ करोड ५० लाख र २५ लाख रुपैयाँ बराबरको जग्गा प्राप्त भएको थियो।

पछि बद्रीकुमारले गलकोट क्षेत्रकै पहिलो निजी विद्यालय सञ्चालककको परिचय बनाए। निजी विद्यालय खोले पनि सामुदायिक विद्यालयको स्तरोन्नति र गुणस्तर सुधारमा उनको चासो रहन्थ्यो।

शर्माका भनाइअनुसार परिवारका सदस्यले पनि पिताको दानवीर शैली छाडेनन् र यति ठूलो रकम दान गरिदिए।

‘उहाँहरूले आगामी दिनमा कलेजको भौतिकसहित शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ शर्माले भने, ‘हाम्रा लागि देशविदेशमा रहनुभएका सबै दानवीरहरू उत्तिकै सम्मानित हुनुहुन्छ। तर श्रेष्ठ परिवारले दिल खोलेर गरेको सहयोग आफैँमा महत्त्वपूर्ण छ।’

स्वर्गीय बद्रीका ४ छोरा, ३ छोरी र २५ जना नाति-नातिना छन्। जेठी श्रीमती बितेपछि दुई छोरी हुर्काउने क्रममा उनले अर्को घरजम गरे।

कान्छी धर्मपत्नी निर्मलाले घर सम्हालिन्। तीमध्ये कान्छा छोरा दिलीप अहिले पनि गलकोटमै बसेर व्यापार गर्छन् भने अरूचाहिँ गुँड छाडेर देशविदेश पुगेका छन्।

साहिँला छोरा कर्णेल डाक्टर विपिन श्रेष्ठले पिताकै पदचाप पच्छ्याउँदै परिवारका तर्फबाट सो सहयोग गरिएको बताए।

‘क्याम्पस स्थापना गर्दा पनि हाम्रा बुबाले संस्थापकका रूपमा दान गर्नुभएको थियो, पिता शैक्षिक क्षेत्रमा भएकाले नै हामी अहिले यत्तिको ठाउँमा पुगेका हौँ, शिक्षित भएका हौँ,’ उनले भने, ‘बुबाको लेगेसी कायम गर्नुपर्छ भनेर हामीले त्यो निर्णय गरेका हौँ।’ उनले आवश्यक परेमा थप सहयोग गर्ने कुरा पनि बताए ।

कान्छा छोरा दीलिप श्रेष्ठले यो दान पिताको शिक्षा क्षेत्रमा भएको लगानीको निरन्तरता स्वरुप गरिएको प्रतिक्रिया दिए। ‘बुबाको योगदान शिक्षामै थियो, उहाँकै इच्छाले यो दान गरिएको हो,’ उनले भने।

लाहुरेको बजारको त्यो क्याम्पस

गलकोटलाई जापानी लाहुरेको बजार भनेर चिनिन्छ। त्यहाँका अधिकांश युवा जापानमा छन्। जापानमा रहेका गैरआवासीय नेपालीको संस्थामध्ये गलकोट समाज सबैभन्दा सक्रिय र सशक्त मानिन्छ। जसले सो क्षेत्रको शैक्षिक र सामाजिक उन्नयनका लागि करोडौँ सहयोग गरेको छ।

यो महायज्ञमा पनि गलकोट समाज जापानले २० लाख रुपैयाँ दान गरेको छ। रेमिट्यान्सले धानिएको गलकोट क्षेत्रको कलेजको अवस्था भने उति राम्रो छैन।

व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माका अनुसार व्यवस्थापन र शिक्षा विषयमा स्नातकसम्म पढाइ हुने क्याम्पसमा २९० जना र गलकोट माध्यमिक विद्यालयमा १२ सय हाराहारी विद्यार्थी छन्।

क्याम्पसमा रहेका २८ प्राध्यापकमध्ये ५ जनामात्र पूर्णकालीन भएको जानकारी उनले दिए। 

‘हुनेखानेहरू सबै बाहिरिएका छन्। क्याम्पस निम्न वर्गहरूका छोराछोरी पढ्नेजस्तो भएको छ,’ उनले भने, ‘हामीले नाम मात्रको शुल्क लिएर विद्यार्थी पढाइरहेका छौँ, यहीँ डिग्री पनि पढाउने व्यवस्था मिलाउने र छिमेकी जिल्लाका विद्यार्थी पनि आकर्षित गर्दै गलकोटलाई शैक्षिक थलो बनाउने हाम्रो अभियान हो।’

अघिल्लो वर्षसम्म गलकोट माध्यमिक विद्यालय र गलकोट बहुमुखी क्याम्पस एउटै कम्पाउन्डमा थिए। स्कुलमा विद्यार्थीको संख्या पनि बढ्यो। नमुना विद्यालय बनाउने अभियानसँगै क्याम्पसका लागि छुट्टै भवनको आवश्यकता महसुस गरिएपछि महायज्ञको सोच बनाइएको क्याम्पस प्रमुख मुकुन्द भण्डारीले बताए।

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्यूएए) को आशयपत्र प्राप्त गरे पनि कथंकदाचित् प्राप्त नभएको अवस्थामा क्याम्पसलाई बचाउन पनि यो अभियान थालिएको उनको भनाइ छ। यो वर्षबाटै होटल म्यानेजमेन्ट विषयको स्नातक कक्षा थाल्ने तयारी पनि उनले सुनाए।

भागवत भाष्कर कमलनयन गौतमको कथावाचन रहेको महायज्ञबाट १२ करोड रुपैयाँजति संकलन भएको उनले बताए। त्यसमा गलकोट समाज पोखराले ३ लाख ३ लाख ३ हजार १३ रुपैयाँ, जमुना कुँवरको परिवारबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ, घनश्याम शर्मा सुवेदीबाट ५ लाख ५५ हजार ५५५ ,पूर्णबहादुर/नन्दकला खत्री परिवारबाट ३ लाख ३३ हजार ३३३ रुपैयाँसहित विभिन्न व्यक्ति र संस्थाबाट सहयोग मिलेको क्याम्पस परिवारले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शर्माचाहिँ अहिले प्राप्त दानको ६० प्रतिशत रकम जग्गा खरिदमा खर्चने र बाँकी शैक्षिक गुणस्तर वृद्धिमा लगाउने योजना सुनाउँछन्।

‘समयसापेक्ष प्राविधिक तथा स्वरोजगारमूलक विषय पढाउने, छात्रावासको व्यवस्था गर्दै रुकुम र रोल्पाका विद्यार्थीलाई पनि आकर्षित गर्ने अनि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने,‘ जग्गा भयो भने कम्तीमा त्यहाँ कृषि कर्म गर्ने र कमाउँदै पढ्ने वातावरण बन्छ, रोजगारमूलक सीप सिकेर देशमै केही गर्ने जनशक्ति तयार पार्न सकिन्छ भनेर हामी लागिरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .