गण्डकी


कास्कीमा पहिरोले एकैदिन एउटै घरका ६ सहित ११ जनाको मृत्यु

कास्कीमा पहिरोले एकैदिन एउटै घरका ६ सहित ११ जनाको मृत्यु

पोखरा १९ तल्लाकोट टारीस्थित कुलबहादुर परियारको घरमा पहिरो खस्दा पुरिएकाहरू खोज्दै सशस्त्र प्रहरी।


वाशुदेव मिश्र
असार २८, २०८१ शुक्रबार ८:२६, पोखरा

कास्कीमा पहिरोले पुर्दा एकैदिन एउटै घरका ६ सदस्यसहित ११ जनाको मृत्यु भएको छ। 

कास्कीको  मादी गाउँपालिका वडा नम्बर ११, तल्लो ताप्लेमा बस्ने ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या ११ पुगेको हो। 

उनको ढुंगामाटोले बनेको एकतले कच्ची घरमाथि राति १ बजेतिर पहिरो खसेको थियो। 

इलाका प्रहरी कार्यालय शिसुवाबाट गएको प्रहरी टोलीले उनका छोरा ५५ वर्षीय ओमबहादुरको भने उद्धार गरेको छ। 

यसअघि पोखरा–१९ तल्लाकोट टारीस्थित कुलबहादुर परियारको टिनले छाएको  घरमा पहिरो खस्दा ६ जनाको मृत्यु भएको थियो।

प्रहरीका अनुसार पहिरोमा परी सो घरमा बसेका घरभूली ४६ वर्षीय कुलबहादुर, उनका श्रीमती ४३ वर्षीया मनकुमारी, आमा ८५ वर्षीया लक्षीमा परियार, छोरी १५ वर्षीया प्रशना परियारका साथै चितवनबाट माइत आएका छोरीज्वाइँ २५ वर्षीय अस्मित परियार र २० वर्षीया प्रभा परियारको पनि मृत्यु भएको हो। 

घटनापछि उद्धारका निम्ति पुगेकी छिमेकी ५६ वर्षीया राधिका परियारको पनि सोही क्रममा लडेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गणले जनाएको छ।

घटनामा परी सोही घरका छोरा १७ वर्षीय पवन परियार र उद्धार क्रममा मृत्यु भएकी राधिकाका छोरा २९ वर्षीय कुमार परियार घाइते भएका छन्। 

यस्तै पोखरा महानगरपालिका–३२ चैनपुर बाह्रबिसेमा गएराति आरती ओझाको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ।

घटनामा आरतीका छोरी १८ वर्षीया अनिता, छोरा ९ वर्षीय प्रतीक र छोरी ११ वर्षीया अनुष्का ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad