गण्डकी


गण्डकीमा गठबन्धनको डुंगामा छिद्र, एमाले दंग

‘कोसीमा जसरी कांग्रेसले धोका दिएको छ, हामीलाई गम्भीर बनाएको छ’
गण्डकीमा गठबन्धनको डुंगामा छिद्र, एमाले दंग

गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित गठबन्धनका तीन नेता


वाशुदेव मिश्र
माघ १२, २०८० शुक्रबार ७:३८, पोखरा

गण्डकीमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका ३ जनाले नै राष्ट्रिय सभाको यात्रा सुनिश्चित गरे। कांग्रेसबाट अन्य (खुला) मा उम्मेदवार बनेका किरणबाबु श्रेष्ठ, महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा र अपाङ्ग/अल्पसंख्यकमा कांग्रेसका पदम परियार सहजै विजयी भए। 

गठबन्धनमा आबद्ध दलहरूसँग कुल तीन हजार ८२७ र प्रमुख प्रतिपक्षी एमालेसँग दुई हजार ४३९ मतभार थिए भने एक्लै चुनाव लडेको राप्रपासँग दुई सांसद अर्थात् १०६ मतभार थियो। स्वतन्त्र निर्वाचित मनाङ निस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङसँग १९ मतभार थियो। 

गठबन्धन कसिलो भएको भए त्यसका उम्मेदवारहरुले कम्तीमा ३ हजार ८२७ मत पाउनैपर्थ्यो। लोकप्रिय भएको भए स्वतन्त्रको १९ मत पनि थपिन्थ्यो अनि अपाङ्गतातर्फ उम्मेदवारी नदिएको राप्रपाको १०६ मत पनि उसकै पोल्टामा आउने सम्भावना पनि उत्तिकै हुन्थ्यो। 

तर, बिहीबार सम्पन्न निर्वाचन परिणामले त्यस्तो देखाएन। गठबन्धनमा रहेका दलहरुसँग रहेको मत ‘क्रस’ नहुने दाबी फेल खायो। अन्यतर्फ हेर्ने हो भने गठबन्धनका किरणबाबु श्रेष्ठले ३ हजार ८०८ मतमात्र पाए। प्रदेश सभामा रहेका गठबन्धनका सबै सांसदको मत पाएका उनले पालिकातर्फ २ जनप्रतिनिधिले मत दिएनन्। स्वतन्त्रको मतलाई छाड्दा पनि गठबन्धनमै रहेका एकजनाले उनलाई रुचाएनन्। उता, एमालेका चक्रबहादुर पराजुलीले एमालेको कुल मतभारभन्दा ३८ मत बढी अर्थात् २ हजार ४७७ मत पाए। 

महिलातर्फ गठबन्धनकी मनरुपाले त सबैभन्दा कम मत ल्याइन्। उनलाई प्रदेश सांसदमध्ये एकजना र स्थानीय तहबाट ५ जनाले मत दिएनन्। प्रदेश सांसद र पालिकातर्फको एक/एक मत चाहिँ बदर भयो। उनले जम्मा  ३ हजार ६६० मतभार प्राप्त गरिन्। जसले गर्दा गठबन्धनसँग रहेकोभन्दा उनको  १६७ मतभार कम हुनपुग्यो। उता, एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाइन्। उनलाई स्थानीय तहतर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए। एमालेको स्थानीयतर्फ ६८ जनामात्र जनप्रतिनिधि छन्। स्वतन्त्रको मत यहाँ पनि एमालेलाई नै गएको देखियो।

खुलामा रोमबहादुर भण्डारी र महिलामा गौमाया श्रेष्ठलाई उम्मेदवार बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको अपाङ्ग/अल्पसंख्यकमा उम्मेदवारी थिएन। राप्रपाको हकमा आफूसँग भएको १०६ मतभार अर्थात् दुई सांसदको मतमा तलमाथि भएन।

अपाङ्गता/अल्पसंख्यकतर्फ पनि त्यस्तै भयो। कानुन बनाउने जिम्मेवारी बोकेर संसद पुगेका ३ जना सांसदले मत नै बदर गरिदिए। जसले गर्दा गठबन्धनका उम्मेदवार पदम परियारले ३५ प्रदेश सांसदको मात्र भोट पाए। बदरमध्ये २ मत राप्रपाको मान्ने हो भने गठबन्धनका एक सांसदले पनि पदमलाई मत दिन चाहेनन्।

जसले गर्दा उनले ३ हजार ७७४ मत मात्र पाउन सके। यहाँ मत क्रस भएको देखिएन, बरु स्वतन्त्र पालिका उपाध्यक्षको मत यहाँ पनि विपक्षी एमालेका हेमचन्द्र शेरचनलाई नै गयो। जसले गर्दा उनले कूल  २ हजार ४ सय ५८ मतभार पाए। 

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति तथा गठबन्धनका तर्फबाट निर्वाचन परिचालन समितिका संयोजक शुक्रराज शर्माले मत क्रसलाई गम्भीरतापूर्वक लिएको बताउँदै छानबिन गरिने दाबी गरे। 

माओवादीका एक नेताले चाहिँ अघिल्लो चुनावको विश्लेषण सुनाउँदै  कांग्रेसका सबै मत नआउने पहिल्यै आकलन भएको जिकिर गरे। यो विषयलाई गठबन्धनको बैठकमा राखेर गम्भीर समीक्षा गरिन्छ भन्नचाहिँ उनले पनि छुटाएनन्।

उनले हाँस्दै नेपालखबरसँग भने,‘कति कचकच गर्नु? यसलाई ठूलो भाँडो रसाएको रुपमा बुझ्दा हुन्छ कि, बरु कोसीमा जसरी कांग्रेसले धोका दिएको छ, त्यसले चाहिँ हामीलाई गम्भीर बनाएको छ। देखिने गरी कांग्रेसको एउटा गुट एमालेसँग मिलेको अवस्थालाई हाम्रो पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्छ।’

एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले एकजना प्रदेश सांसदको मत बदर गराउने अवस्था सिर्जना हुनु र गठबन्धनको मत अन्यत्र जानुलाई जनप्रतिधिको नेतृत्वप्रतिको असन्तुष्टिका रुपमा व्याख्या गरे। 

‘हामीलाई अझ बढी जनप्रतिनिधिले मत दिने आश्वासन थियो तर अन्तिममा उहाँहरुले कस्नुभएछ। गठबन्धनका जनप्रतिनिधि नै पार्टी नेतृत्वसँग असन्तुष्ट भएको सन्देश त गयो नि’, उनले भने, ‘हामी उत्साहित छौँ।’

प्रदेश सांसद एकजनाको मतभार ५३ र स्थानीय पालिकाका जनप्रतिनिधिको मतभार  १९ थियो। जसअनुसार पालिकातर्फ  ३ हजार २२१ र प्रदेश सांसदको मतभार ३ हजार १८० हुन्छ। दुवै जोड्दा ६ हजार ४०१ मतभार हुन आउँछ।

यसलाई पार्टीगत रुपले हेर्दा भने यस्तो आँकडा निस्कन्छ। कांग्रेसका तर्फबाट प्रदेशसभामा २७ सांसद, स्थानीय १५ नगरप्रमुख, ११ उपप्रमुख, २१ गाउँपालिकाका अध्यक्ष र २० जना उपप्रमुख छन्। २७ प्रदेशसभा सदस्यको मतभार एक हजार ४३१ हुन्छ। स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार एक हजार २७३ हुन आउँछ। दुवै जोड्दा राष्ट्रिय सभामा कांग्रेसको मतभार दुई हजार ७०४ हुन्छ। 

सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रका तर्फबाट गण्डकीमा आठ प्रदेशसभा सदस्य छन्। उनीहरूको मतभार ४२४ हुन आउँछ। माओवादीबाट गण्डकीमा दुई नगरप्रमुख, सात उपप्रमुख, नौ गाउँपालिकाका अध्यक्ष र १२ उपाध्यक्ष छन्। उनीहरूको मतभार ५७० हुन आउँछ। प्रदेश र स्थानीय तह गरी माओवादीसँग कुल ९९४ मतभार छ। 

गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादीसँग ७२ मतभार छ। यो मतभार निर्विरोध निर्वाचित भई सो पार्टीमा प्रवेश गरेका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) तथा पोखरा महानगरका मेयर धनराज आचार्यको हो। राष्ट्रिय जनमोर्चाका तर्फबाट एक नगरप्रमुख, गाउँपालिका अध्यक्ष एक र उपाध्यक्ष पनि एक छन्। यी तीन जनप्रतिनिधिको मतभार ५७ हुन आउँछ।

प्रमुख प्रतिपक्षी  एमालेका तर्फबाट २२ प्रदेशसभा सदस्य मतदाता थिए। एमालेका तर्फबाट स्थानीय तहमा आठ नगरप्रमुख, नौ उपप्रमुख, २७ गाउँपालिकाका अध्यक्ष र २४ उपाध्यक्ष छन्। एमालेसँग प्रदेशसभा सदस्यको मात्र एक हजार १६६ र स्थानीय तहका जनप्रतिनिधिको एक हजार २९२ मतभार थियो। प्रदेशसभा सदस्य र स्थानीय तहको गरी एमालेसँग कूल दुई हजार ४५८ मत हुन आउँछ। ढोरपाटन नगरपालिकाका मेयर देवकुमारको मत घटाउँदा  एमालेसँग दुई हजार ४३९ मत थियो। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट दुई प्रदेशसभा सदस्य छन्। उनीहरूको मतभार १०६ हुन आउँछ। गण्डकीमा मनाङ निस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङ स्वतन्त्र रूपमा निर्वाचित भएका हुन्। उनीसँग १९ मत रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .