गण्डकी


पोखराका ‘अटेरी’लाई पर्यटन मन्त्रालयको जिम्मेवारी

‘लौरो’ले बनायो बालेनको हितैषी, रवीन्द्र अधिकारीपछि कास्कीले पायो फेरि पर्यटनमन्त्री
पोखराका ‘अटेरी’लाई पर्यटन मन्त्रालयको जिम्मेवारी

वाशुदेव मिश्र
चैत १३, २०८२ शुक्रबार १२:२९, पोखरा

२०७९ सालको स्थानीय चुनावमा पोखरा-१४ मझेरीपाटनका गनेस उर्फ खड्गराज पौडेल पोखरा महानगरपालिकाको मेयर पदका प्रत्यासी बने।

त्यसबेला ग्यालेक्सी फोरके टेलिभिजनमा ‘सिधा कुरा’ कार्यक्रम सञ्चालक हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनीसँग प्रत्यक्ष कुराकानी गरेका थिए।

रविले सोधेका थिए,‘तपाईंले जसका लागि अटेरी अभियान चलाउनुभएको छ, उसले नै यसलाई अस्वीकार गर्ने हुन् कि?’

जवाफमा गनेसले भनेका थिए,‘अटेरीको अर्थ ठुलो स्वरमा मान्दिनँ भन्नु हो। दलहरूले दिएको उम्मेदवारलाई इन्कार गर्नु नै हो। पजेटिभ चिजलाई इन्कार गर्ने हैन, नेगेटिभलाई इन्कार गर्ने हो।’

सो वार्तालापमा गनेस चुनाव जित्नेमा ढुक्क देखिन्थे तर अटेरी अभियानअन्तर्गत ‘लौरौ’ चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका उनी पहिलो हुन सकेनन्।

एकीकृत समाजवादीका तर्फबाट कांग्रेससहितको गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले ५८ हजार ८९३ मत पाउँदा गनेस चौथो स्थानमा सीमित भए। गनेसको पोल्टामा जम्मा ३ हजार ३० मत आयो।

त्यसभन्दा अगाडि नै गनेसको परिचयको चौघेरा फराकिलो भइसकेको थियो। पोखरामा पठन संस्कृतिको विकास गराउन र्‍यान्डम रिडर्स भन्ने संस्थासँग जोडिएका गनेसले २०७४ सालमा नै ‘पैताला’नामक उपन्यास प्रकाशन गरिसकेका थिए।

पैतालाले समालोचकहरूको राम्रै प्रतिक्रिया पायो।

अखबारमा लेख-रचना प्रकाशन गरिरहेने गनेसले विश्वप्रसिद्ध लेखक जोन स्टेनबेकको पुस्तक ‘अफ माइस एन्ड मेन’को नेपाली संस्करण ‘मुसा मानुष’को अनुवाद पनि गरेकै थिए।

पोखराको साहित्यिक जमघटमा अक्सर सामेल भइरहने गनेस सामाजिक मुद्दाहरूमा पनि उत्तिकै प्रखर देखिन्थे। कुनै बेला उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भइरहेको ढिलाइ तथा जग्गा अधिग्रहण प्रक्रियामा पनि असहमति जाहेर गरेका थिए।

२०७५ साउन २१ गते पोखरा महानगरपालिका वडा नम्बर १४ लाई विमानस्थल कार्यालयले पूर्वउत्तरतर्फ थप ४०० मिटर, दक्षिणतर्फ थप ४० मिटर र दक्षिणपूर्वी भागमा थप एक किलोमिटर जग्गा अधिग्रहण गनुपर्ने बेहोराको पत्र पठाएको थियो।

संयोगले जग्गा अधिग्रहणका निम्ति सहजीकरणको जिम्मेवारीमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी थिए। २०७५ सालको साउनमा विमानस्थलका लागि थप जग्गा अधिग्रहण गर्ने निर्णय गरेपछि चाहिँ मझेरीपाटनका बासिन्दा आक्रोशित बनेका थिए।

पटकपटक कति जग्गा दिने भन्ने स्थानीयको प्रश्न बोक्ने काम संघर्ष समितिका संयोजकका रूपमा गनेसले नै गरेका थिए। जग्गाको उचित मुआब्जा दिने निर्णयपछि उनको संघर्ष समिति मत्थर बनेको थियो।

राजनीतिमा ‘अटेरी’ बनेका गनेसको राजनीतिक यात्रा भने त्यसपछि पनि मत्थर भएको रहेनछ। अटेरी अभियान सञ्चालन गरेका गनेस त्यही बेला काठमाडौँबाट स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहसँग नजिकिएका थिए।

गनेस र बालेनको चुनाव चिह्न एउटै अर्थात् लौरो थियो।

त्यही नाताले जेनजी आन्दोलन अघि र पछि पनि गनेस र बालेन हितैषी भए। बालेन पोखरा आउँदा अक्सर गनेसको मझेरीपाटनको घरमा बस्थे। जब बालेन रास्वपाको वरिष्ठ नेता बन्ने निश्चित भयो तब गनेस पनि रास्वपाको केन्द्रीय सदस्य चुनिए।

गएको फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले गनेसलाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवार बनायो।

रविले टेलिभिजन कार्यक्रममै भनेका थिए,‘तपाईंलाई बधाई दिनुमा मैले राजनीतिक पक्षधरता मानेको छैन। फेरि शुभकामना।’

अहिले रवि रास्वपाका सभापति छन् भने त्यही पार्टीका तर्फबाट चुनाव जितेका गनेस पर्यटनमन्त्री बन्दै छन्।

पोखराको मझेरीपाटनका गनेसलाई पोखरा भनेको पोखरी र चौताराको सहर भएको पनि थाहा छ।

बाल्यकालदेखि नै चौतारातिर सुस्ताउने बानी परेका गनेसले यसअघि पटकपटक पोखराको चौतारा र पोखरी मासिएकामा सार्वजनिक रुपले नै चिन्ता जाहेर गरेका थिए।

सम्पदा र संस्कृति संरक्षणको जिम्मेवारी पनि अहिले उनकै काधँमा आएको छ। फिरन्ता चरित्रका गनेसले नेपालको पर्यटन प्रवर्द्धन र संस्कृति संरक्षणका लागि के गर्छन् भन्ने प्रतिक्षाकै विषय छ।

तर, आफ्नो खुसीका लागि लेख्ने र समाजको हितका लागि काम गर्ने धोको पालेका गनेसले गलत गर्दैनन् भन्ने विश्वास पोखरेलीले गरेका छन्। 

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटना परी बितेपछि कास्कीले अर्को पर्यटनमन्त्री पाएको छ।

त्यसअघि कास्कीकै नेपाली कांग्रेसका नेता महादेव गुरुङले सहायकका रूपमा पर्यटन मन्त्रालय सम्हालेको इतिहासलाई न्याय गर्ने अवसर गनेसले पाएका छन्। 

उनका एक आख्यान र अर्को गैरआख्यान पुस्तक प्रकाशनको तयारीमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad