भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीले उत्तर प्रदेशको २०२२ मा हुने विधानसभा निर्वाचनमा आफ्नो पार्टीले ४० प्रतिशत टिकट महिलालाई दिने घोषणा गरेकी छिन्। लखनऊस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग बोल्दै यस्तो घोषणा गरेकी हुन्।
मंगलबार प्रियंका गान्धीले सञ्चारकर्मीसँग यस्तो घोषणा गनुपूर्व उत्तर प्रदेशको कांग्रेसले पनि सामाजिक सञ्जालमा उक्त घोषणा हुन सक्ने संकेत गरेको थियो। उत्तर प्रदेश कांग्रेसको ट्वीटर ह्यान्डलबाट गरिएको पोस्टमा महिलालाई ४० प्रतिशत दिन सक्ने संकेत गरी ह्यासट्यागमा ‘४० कि शक्ति’ राखिएको छ।
उत्तर प्रदेशमा कांग्रेसको भाजपा, सपा र बसपालगायत पार्टीको जस्तो जातिगत भोटबैंक छैन। विश्लेषकका अनुसार यही कमी पूरा गर्न प्रियंका गान्धीले राजनीतिक हिसाबमा महत्वपूर्ण निर्णय गरेकी हुन्। पछिल्लो केही दिनयता प्रियंका गान्धी उत्तर प्रदेशको राजनीतिमा सक्रिय रहँदै आएकी छिन्।
केही समयअघि उत्तर प्रदेशको लखिमपुरको खिरीमा किसानको आन्दोलनमा भएको झडपकाे मुद्दामा केन्द्रीय मन्त्री अजय मिश्रका छोराको गिरफ्तारीको लागि आन्दोलन चलाएकी थिइन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रमा पनि चुनावी सभा गरेकी थिइन्।
Shares

प्रतिक्रिया