ad ad

समाज


रुबी खान भन्छिन्ः प्रहरीको ज्यादती हेर्दा ज्युँदो फर्किन्छु भन्ने लागेको थिएन

रुबी खान भन्छिन्ः प्रहरीको ज्यादती हेर्दा ज्युँदो फर्किन्छु भन्ने लागेको थिएन

समर्पण श्री
कात्तिक २, २०७८ मंगलबार १६:४२, काठमाडौँ

अधिकारकर्मी रुबी खानले १२ दिनको अनशन मंगलबार दिउँसो दुई बजे माइतीघरबाट तोडिन्। गृह मन्त्रालयका तर्फबाट प्रवक्ता फणिन्द्रमणि पोखरेलसँग लिखित सहमति भएपछि रुबीले अनशन तोडेकी थिइन्। 

उनी निकै गलेको अवस्थामा थिइन्। नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि नेपालगञ्जबाट १९ दिन हिँडेर १५ जनाको नेतृत्व गर्दै काठमाडौं आएकी थिइन् रुबी। काठमाडौं माइतीघरमा धर्ना बसेको पहिलो साँझ उनीहरुलाई प्रहरीले पक्राउ गर्यो। 

भोलिपल्ट अरु अधिकारकर्मी तथा पीडितलाई रिहा गरे पनि रुबीलाई भने प्रहरीले बेपत्ता बनायो। उनलाई दिउँसै नेपालगञ्ज पुर्याएर प्रहरीले लुकायो। सर्वोच्च अदालतले उपस्थित गराउने आदेश दिँदा पनि उपस्थित नगराएको प्रहरीले अन्ततः पुनः सर्वोच्चको आदेश बमोजिम रुबीलाई रिहा गर्यो। 

यसबीचमा रुबीले प्रहरीबाट कस्ता ज्यादती सहनुपर्यो? माइतीघरमा प्रहरीले गरेको ज्यादतीबारे उनले अनशन तोड्ने क्रममा यसरी सुनाइन्ः

वीर अस्पतालको ट्रमा सेन्टरमा ब्यान्डेज गराउँछु भनेर प्रहरीले मलाई यहाँबाट लगेको हो। तर, त्यहाँ ब्यान्डेज गराएन। फोका फुटेर रगत र सेतो घाउ देखिरहेको थियो। त्यतिबेला प्रहरी निर्दयी भयो। 

मेरो उपचार नगराएर सिधै सोह्रखुट्टेमा लगेर हुलिदियो। मलाई एक कल फोन पनि गर्न दिएन। पक्राउ पुर्जीसमेत दिएन। फोन खोसिदियो। न मेरो घाउको वास्ता भयो, न मेरो। तपाईंहरू सामु आउन सक्छु भन्ने विश्वास मलाई थिएन। त्यो डर थप बढ्यो, जब कसैलाई जानकारी नगराई मलाई छिटोछिटो नेपालगञ्ज लगियो। त्यतिबेला मलाई महसुस भयो, म  ज्युँदो यहाँहरूको माझ आउँदिनँ। 

मलाई प्लेनमा बन्दी बनाएर लगियो। एअरपोर्टसम्म ४० देखि ५० जना प्रहरी मेरो अगाडि थिए। म आमरण अनशन बसेकी थिएँ, आराम पनि गर्न नपाउँदा र घाउ दुखिरहेको हुँदा उभिन सक्ने अवस्थामा थिइनँ। 

जब नेपालगञ्जमा पुगेर प्लेनको ढोका खुल्यो, पाँच वटा प्रहरीका गाडी मेरा वरिपरि थिए। मलाई यस्तो बनाइयो कि कति ठूलो अपराध गरेर यहाँ आएको छु। डीएसपीले नेपालगन्जमा मिडिया लिएर गएका थिए। यति धेरैले क्यामेरा चलाइरहेका थिए कि मेरो घाउ कसैले हेरेनन्। मेरो पीडा कसैले हेरेनन्। एउटा अभियुक्तको रुपमा मलाई त्यहाँ प्रस्तुत गरियो। 

त्यहाँबाट मलाई इन्स्पेक्टरको क्याबिनमा लगियो। मेरो वकिललाई फोन गर्छु भन्दा मलाई एक कल फोन पनि गर्न दिइएन। कम्तीमा धर्नामा बसेका मेरा साथीहरू हुनुहुन्छ उहाँहरूलाई गर्छु भन्दा मलाई फोन गर्न दिइएन। अनि तुरुन्त मसँग बार्गेनिङ गर्न थालियो, ‘तपाईं तुरुन्तै धर्नामा बसेकाहरूलाई फोन गरेर धर्ना स्थगन गर्न लगाउनुस् र अनशन तोड्नुस्। अनि तपाईंलाई रिहा गर्छौं र तपाईंको मुद्दा खारेज गर्छौं।’ 

मलाई उहाँहरूले दिनमा ६ पटकसम्म बार्गेनिङ गर्नुहुन्थ्यो। तर मैले मानिनँ। 

मलाई लुकाएर राखिएको थियो। ओछ्याउने पनि केही थिएन। ओढ्ने पनि केही थिएन। पटक पटक आग्रह गरेपछि बल्लबल्ल पाएँ। मलाई २४ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउने भन्ने कता कताबाट जानकारी पाएको थिएँ। लैजालान् कि भन्ने थियो, तर त्यो पनि भएन। यहाँबाट पुनः उपस्थित गराउने जुन कुरा सर्वोच्च अदालतबाट भयो, त्यतिखेर यहाँहरूले यसरी ल्याउनुभयो कि कुनै मान्छेलाई हैन वस्तुलाई ल्याए जसरी, निर्ममतापूर्वक उठाएर गाडीमा हाल्नुभयो। त्यहाँबाट महिला प्रहरी समेत ल्याइएन। इन्स्पेक्टर आफैँ आए। म एकदम गलेको थिएँ।

भेरी अस्पतालमा लगेर पनि मलाई पुरा रातभरि छाडिदिएका थिए। सबै जना आएर हेर्थे। प्रहरीहरूले मेरो सबैको अगाडि बदनाम र चरित्रहत्या गर्ने प्रयास समेत गरे। मेरो सामान कहाँ छ त्यो अहिलेसम्म जानकारी छैन। 

सम्मानित सर्वोच्च अदालतले नै ‘रिसिइवी साँध्नकै लागि यस्तो गरेको’ भनेको थियो। तर पनि अहिलेसम्म गृह मन्त्रालयबाट कुनै एक्सन देखिएको छैन। तर एक्सन हुन्छ भन्ने विश्वास छ। गृह मन्त्रालयका प्रवक्ताले एक्सनमा जाने प्रतिबद्धता जाहेर गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .