ad ad

ग्लोबल


छैटौं पुस्ताको लडाकु विमान बनाउन जापान र बेलायतको हातेमालो, अरु ककसले बनाउँदैछन्?

महाशक्ति–द्वन्द्वको आशंकाले बढ्याे शक्तिशाली लडाकु विमान निर्माणको प्रतिस्पर्धा
छैटौं पुस्ताको लडाकु विमान बनाउन जापान र बेलायतको हातेमालो, अरु ककसले बनाउँदैछन्?

जापानको छैठौँ पुस्ताको एफ–एक्स लडाकु विमानको डिजाइन


नेपालखबर
माघ ६, २०७८ बिहिबार ८:८, काठमाडौँ

छैठौँ पुस्ताको लडाकु विमानको इन्जिन विकास गर्न जापान र बेलायतले सहकार्य गर्ने भएका छन्। अत्याधुनिक लडाकु जहाज बनाउने विश्वव्यापी प्रतिस्पर्धामा अरुभन्दा अगाडि रहन यी दुई मुलुकले सहकार्यको घोषणा गरेका हुन्।

इन्जिन निर्माणको यो सहकार्यमा जापानको प्रतिनिधित्व मित्सुबिसी हेभी इन्डस्ट्रिज र इसिकावाजिमा हेभी इन्डस्ट्रिज तथा बेलायतको प्रतिनिधित्व रोल्स रोयस र बीएई सिस्टम्सले गर्नेछन्।

त्यस्तै, दुई मुलुकबीच विमानबाटै आकासमा प्रहार गर्न मिल्ने क्षेप्यास्त्र विकासमा पनि सहकार्य हुँदैछ। यो क्षमताले आकासमा प्रभुत्व स्थापित गर्ने लक्ष्य उनीहरुले लिएका छन्। 

अहिले जापान र बेलायत दुवैले अमेरिकामा बनेको पाँचौँ पुस्ताको एफ–३५ विमान चलाउँछन्। तर, यो विमान आकासमा समग्र प्रभुत्व स्थापित गर्न नभई आक्रमण क्षमता बढाउन मात्र बनाइएको हो। 

एफ–३५ ले चीनको जे–२० र रुसको एसयू–५७ सँग आकासमै प्रतिस्पर्धा गर्नसक्नेमा जापान र बेलायत विश्वस्त नरहेको यसले देखाउँछ।

छैठौँ पुस्ताको लडाकु विमान कस्तो हुन्छ, त्यसमा कस्ता क्षमता हुन्छन् भन्नेमा विज्ञहरु एकमत छैनन्। तर, ती विमानको मोड्युलर डिजाइन हुने, पाइलटचालित र स्वचालित दुवै क्षमता हुने, ड्रोनको झुण्ड परिचालन गर्न सक्ने, आर्टिफिसियल इन्टेलिजेन्स, भर्चुअल रियालिटीजस्ता विशेषता समेटिएको हुने अनुमान छ।

जापानको एफ-१५ लडाकु विमान

जापानले अहिले छैठौँ पुस्ताको एफ–एक्स लडाकु विमान बनाउने तयारी गरिरहेको छ। यो विमान २०३१ मा निर्माण सुरु गरेर २०३५ मा सेवामा प्रवेश गराउने उसको लक्ष्य छ। जसले चीनसँग रहेको पाँचौँ र चौथो पुस्ताका लडाकु विमानलाई सजिलै हराउने उसको आकलन छ। 

सेन्काकु टापुको विवादलाई लिएर सन् २०१९ मा चीनले आफ्ना विमान जापानको हवाई प्रतिरक्षा पहिचान क्षेत्रभित्र ६ सय पटकभन्दा बढी प्रवेश गराएको थियो। त्यसलाई रोक्न जापानले आफूसँग रहेको चौथो पुस्ताको २ सय वटा एफ–१५ विमान परिचालन गरेको थियो। त्यसपछि नै जापानले अत्याधुनिक लडाकु विमान निर्माण गर्ने तयारी थालेको हो।

जापानले अमेरिकाबाट पाँचौँ पुस्ताका एफ–२२ विमान खरिदको प्रयास पनि गरेको थियो। तर, अमेरिकाले सो विमान निर्यातमा प्रतिबन्ध लगाएको छ। त्यसमाथि सो विमानको उत्पादन समेत रोकिएको छ। यसले पनि जापान आफ्नै विमान बनाउन बाध्य भएको हो।

बेलायतले पनि चौथो पुस्ताको युरोफाइटर टाइफुन विमानलाई विस्थापित गर्न टेम्पेस्ट कार्यक्रम अघि सारेको छ। जसले २०३५ मा एफ–३५ लाई सघाउने लक्ष्य राखिएको छ। 

बेलायतले २००३ देखि युरोफाइटर विमान उडाउँदै आएको छ। र, सो विमान २०४० सम्मै बेलायती सेनाको मेरुदण्ड रहने बताइएको छ। 

बेलायतको युरोफाइटर टाइफुन

१९८० को दशकदेखि युरोफाइटरलाई अपग्रेड गरिँदै आएको छ। तर, ती अपग्रेड अत्यन्त महंगा हुने भएकाले बेलायत पुराना विमानलाई सेवाबाट हटाउन बाध्य हुँदै आएको छ। जसले गर्दा बेलायतको विमान संख्या घटिरहेको छ। 

बेलायत र जापानले मिलेर छैठौँ पुस्ताको विमान बनाउने योजना बनाइरहँदा जर्मनी र फ्रान्सबीच पनि ‘फ्युचर एयर कम्ब्याट सिस्टम’ (एफसीएएस) कार्यक्रममा सहकार्य भइरहेको छ।

एफसीएएसले फ्रान्सको राफेल र जर्मनीको युरोफाइटर टाइफुन विमानलाई सन् २०४० को दशकमा विस्थापित गर्ने योजना छ। यसलाई युरोपको सबैभन्दा ठूलो सहकार्यमूलक प्रतिरक्षा परियोजनाका रुपमा हेरिएको छ। फ्रान्स र जर्मनीले २०२६ मा सो विमानको ‘प्रोटोटाइप’ विकास गर्ने, २०३० सम्ममा विकासको काम सक्ने र २०४० बाट सेवामा विमान प्रवेश गराउने योजना बनाएका छन्।

उनीहरुले अमेरिकी सैन्य प्रविधिमाथि युरोपको निर्भरतालाई घटाएर युरोपको रणनीतिक स्वतन्त्रता बढाउने लक्ष्य पनि लिएका छन्। 

विश्वका शक्तिशाली मुलुकको रक्षानीति प्रतिआतंकवादबाट अब महाशक्तिबीचको द्वन्द्वतर्फ सोझिएपछि यी मुलुकले अत्याधुनिक लडाकु विमानको आवश्यकता महसुस गरेका हुन्।

अर्कोतिर, अमेरिकाले पनि ‘नेक्स्ट जेनेरेसन एयर डोमिनेन्स’ कार्यक्रम सुरु गरिसकेको छ। जसको उदेश्य छ– विश्वमा रहेको अमेरिकी हवाई प्रभुत्वलाई कायम राख्नु। तर, यसबारे अमेरिकाले धेरै सूचना सार्वजनिक गरेको छैन।

फ्रान्सको राफेल विमान

छैठौँ पुस्ताको लडाकु विमान बनाउन रुस र चीनले पनि आआफ्नै कार्यक्रम अघि सारेका छन्। रुसले अहिलेको एसयू–५७ कै आधारमा हवाई प्रभुत्व कायम गर्ने नयाँ कार्यक्रम ल्याउने तयारी गरेको छ। 

चीनको छैठौँ पुस्ताको लडाकु विमानको सम्भावित ‘प्रोटोटाइप’ गतवर्ष स्याटलाइट तस्बिरमा कैद भएको थियो। पुच्छरबिनाको सो डिजाइन अमेरिकाले प्रस्ताव गरेको डिजाइनजस्तै देखिएको थियो।

(एसिया टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .