ad ad

राजनीति


मोदीले रोक्लान् त भारतमा यस्तो प्रलय?

मोदीले रोक्लान् त भारतमा यस्तो प्रलय?

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (तस्बिरः वनइण्डीया)


दि इकोनोमिस्ट
माघ ५, २०७८ बुधबार २१:१५, काठमाडौँ

‘सबै हिन्दुले हतियार उठाएर अब सफाइ अभियान सुरु गर्नुपर्छ,’ गत महिना उत्तरी भारतमा भएको एउटा ‘धर्म संसद्’ मा एक हिन्दु साधु चिच्याए। अर्की वक्ताले अझ उग्र भाषण गरेर भिडलाई उत्तेजित तुल्याइन्– ‘हामीमध्ये सय जना सैनिक बनेर तिनीहरुका २० लाख जनालाई मार्यौँ भने हाम्रो जित हुनेछ।’

‘तिनीहरु’ भनेर उनले भारतका २० करोड मुस्लिमलाई इंगित गरेकी थिइन्।

यी रगतका प्यासा साधुसन्तहरु भारतका एक्ला धर्मान्ध होइनन्। नरेन्द्र मोदीको हिन्दु–राष्ट्रवादी सरकारको नेतृत्वमा विश्वको सबैभन्दा धेरै जनसंख्या भएको लोकतान्त्रिक मुलुक भारतमा असहिष्णुताको लहर बढिरहेको छ। दिल्लीनजिकैको गुडगावँमा अरुको ‘भावनामा चोट’ पुग्ने भन्दै मुस्लिमहरुलाई खुला ठाउँमा नमाज पढ्न दिइएको छैन। उनीहरुलाई मस्जिद बनाउने अनुमति पनि दिइएको छैन। अन्यत्र, काट्नका लागि गाई ओसारपसार गरेको आशंकामा वा गाईको मासु भेटिँदा मुस्लिमहरुलाई पिटेर हत्या गरिएको छ। मुस्लिमहरुको व्यापारलाई बहिष्कार गरिएको छ। पछिल्ला महिनाहरुमा हिन्दु कट्टरपन्थी युवाहरुले एप बनाएर चर्चित महिला मुस्लिमहरुलाई ‘लिलामी’ समेत गरेका छन्। 

हिन्दु अन्धराष्ट्रवादको निसानामा मुस्लिमहरु मात्र परेका छैनन्। हिन्दु मन्दिरहरुको सहर वाराणसीमा गैरहिन्दुहरुलाई प्रवेश नगर्न चेतावनी दिँदै पोस्टर टाँसिएको छ। एकदमै सानो अल्पसंख्यक समूह क्रिस्चियनहरुमाथिको आक्रमण बढेको छ। 

केही दिनअघि बहुसंख्यक सिखहरुको बसोबास रहेको पञ्जाबमा प्रधानमन्त्री मोदीको सवारी केहीबेर रोकियो। तत्कालै सत्तारुढ भारतीय जनता पार्टीमा सम्बद्ध व्यक्तिहरुले १९८४ को नरसंहार दोहोर्याउने धम्की दिए। १९८४ मा प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनकै सिख अंगरक्षकहरुले गोली हानी हत्या गरेपछि हजारौँ सिखहरुको नरसंहार गरिएको थियो। 

अल्पसंख्यकमाथि सामाजिक भेदभावबारे इजरायलस्थित बार इलान युनिभर्सिटीले गरेको अध्ययनमा भारत साउदी अरबभन्दा पनि खराब र इरानकै स्थितिमा छ। भारतमा घृणाजन्य अपराधका घटना कति संख्यामा भए, थाहा पाउन असम्भव छ। किनभने सरकारले स्वतन्त्र रुपमा यसको लेखा राख्नेहरुलाई २०१७ र २०१९ मा बन्द गरिदियो। सरकारले २०१७ देखि यससम्बन्धी तथ्यांक संकलन गर्नै छाडिदियो। 

चिन्ताको अर्को विषय हो, सरकारको मौनता। प्रधानमन्त्री र उनी मातहतका वरिष्ठ नेता तथा अधिकारीमध्ये एक जनाले पनि उत्तेजना फैलाउने घटना र अभिव्यक्तिको भर्त्सना गरेका छैनन्। बीबीसीले यसबारे प्रश्न गर्दा भाजपाका एक नेताले माइक्रोफोन चुँडाएर अन्तर्वार्ता नै छाडेर हिँडे। प्राज्ञ, पूर्वकर्मचारी र सेवानिवृत्त सैन्य अधिकारीहरुले शान्तिको आह्वान गर्न आग्रह गर्दै मोदीलाई पत्र पठाए। तर, अहिलेसम्म उपराष्ट्रपतिबाहेक कसैले पनि बोलेका छैनन्।

अर्को महिना महत्वपूर्ण चुनाव छ। त्यसैले अवस्था अझ खराब हुनसक्छ। भाजपाका उच्च नेताहरुले सोझै अल्पसंख्यकहरुलाई मार्न आह्वान त गरिहालेका छैनन्, तर उनीहरुले घृणा र उत्तेजना भने फैलाइरहेका छन्। भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आउँदो चुनाव २० प्रतिशतका विरुद्ध ८० प्रतिशतको अर्थात् मुस्लिमविरुद्ध हिन्दुको मतदान भएको घोषणा गरेका छन्। 

केही विश्लेषकहरुको भनाइमा भाजपाले अहिले विभाजनकारी भाषणबाजीको सहारा लिइरहेको छ किनभने सो पार्टी अब विभाजनकारी बाचाहरुमा भर पर्न सक्दैन। यसअघि भाजपाले बहुसंख्यक मुस्लिम भएको जम्मु र कस्मिर राज्यलाई दिइएको विशेष हैसियत खारेज गर्ने र अयोध्यामा बाबरी मस्जिद भत्काइएको ठाउँमा राम मन्दिर बनाउने काम सुरु गर्ने बाचा गरेको थियो। यी बाचाहरु पुरा गरिसकेको भाजपालाई अहिले नयाँ मुद्दाको खाँचो छ। महामारीले ध्वस्त बनाएको अर्थतन्त्र, सीमामा निहुँ खोजिरहेको चीन र प्रत्येक वर्ष श्रमयोग्य बनेका करोडौँ युवाहरुले रोजगारी पाउने क्षीण सम्भावना, यस्तो निराशाजनक स्थितिमा भाजपा सबैभन्दा खराब नाराको सहारा लिइरहेको छ। 

करिब ३० करोड गैरहिन्दुहरुहरु १.१ अर्बभन्दा ठूलो संख्यामा रहेका हिन्दुहरुका लागि खतरा हुन् भन्ने हास्यास्पद धारणा अघि सारेर भाजपाले त्यस्तो समस्या निम्त्याउँदैछ, जसलाई उसैले नियन्त्रण गर्न सक्ने छैन। साम्प्रदायिक रक्तपातले बेग्लै गति पक्रिन सक्छ। विगतमा पनि यसप्रकारका हिंसाबाट भारत पर्याप्त मात्रामा प्रताडित भइसकेको छ। उपनिवेश अन्त्यसँगै भएको विभाजनका क्रममा लाखौँको ज्यान गयो। त्यसपछिका दशकमा पनि पटकपटक नरसंहारका घटना भए। दुष्ट राजनीतिज्ञहरुले चुनावी फाइदाका लागि बारम्बार घृणा फैलाए पनि भर्खरैसम्म यो धर्मनिरपेक्ष मुलुकले धेरै हदसम्म हिंसालाई रोक्ने भूमिका खेलेको थियो। तर, अब त्यो स्थिति छैन। 

रुस र चीनमा अल्झिएको पश्चिमले यसप्रति चासो दिएको छैन। स्थिर र लोकतान्त्रिक भारत निरंकुश चीनविरुद्ध प्रतिसन्तुलन बन्न सक्छ। तर, हिन्दु अन्धराष्ट्रवादी भारत आफ्ना जनताका लागि मात्रै घातक हुने छैन, त्यसले छिमेकमा पनि अस्थिरता पैदा गर्न सक्छ। अझ छिमेकका मुस्लिम मुलुकहरुसँग भारतको सम्बन्ध तिक्त हुँदै जान सक्छ। 

तसर्थ, अमेरिकासहित भारतका मित्रहरुले आफ्नो प्रभावको प्रयोग गरेर घृणाको विस्तारलाई रोक्न मोदी र उनका अनुचरहरुलाई मनाउनुपर्छ। ताकि त्यो व्यापक हिंसामा परिणत नहोस्। मोदीको चाहना पनि यस्तो प्रलयलाई रोक्ने हुनुपर्छ। के उनी हिंसा रोक्न चाहन्छन् त?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .