राजनीति


सामाजिक सद्‌भाव र एकताको बाटो अवलम्बन गर्न सुदन किराँतीको अपिल

सामाजिक सद्‌भाव र एकताको बाटो अवलम्बन गर्न सुदन किराँतीको अपिल

नेपालखबर
साउन १२, २०८३ मंगलबार ९:१४, काठमाडौँ

पूर्वमन्त्री तथा श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले जाति, धर्म र संस्कृतिका नाममा समाजमा द्वन्द्व सिर्जना गरेर देशलाई अशान्तितर्फ धकेल्ने प्रयास भइरहेको बताएका छन्। तर ती दुष्प्रयास सफल नहुने विश्वास उनले व्यक्त गरेका छन्।

सुनसरीमा भएको घटनाका सन्दर्भमा मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले सामाजिक सद्‌भाव र एकताको बाटो अवलम्बन गर्न नेपाली समाजलाई अपिल पनि गरेका छन्। 

साथै उनले दंगा नियन्त्रणका गोली प्रहार गरी नागरिकको ज्यान लिने राज्यको प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाउँदै यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था र आवश्यक सतर्कता अपनाउन सरकारसँग माग गरेका छन्। 

‘हामी स्पष्ट छौँ, देशका विभिन्न स्थानमा पछिल्लो समय भएका घटनाले हामी सबैलाई गम्भीर र संवेदनशील बनाएको छ। जाति, धर्म र संस्कृतिका नाममा समाजमा द्वन्द्व सिर्जना गरेर देशलाई अशान्तितर्फ धकेल्न खोज्ने प्रयास भइरहेका छन्। तर, ती प्रयासहरू सफल हुने छैनन्’, उनले लेखेका छन्, ‘उत्तेजना होइन संयमता, द्वन्द्व होइन संवाद। घृणा होइन, सहिष्णुता, विभाजन होइन, सामाजिक सद्‌भाव र एकताको बाटो अवलम्बन गरौँ। हामी विश्वस्त छौँ कि अन्तत: नेपाली समाजले यही बाटो रोज्नेछ।’

उनले अगाडि लेखेका छन्, ‘किनभने विविधता हाम्रो शक्ति हो र एकता हाम्रो पहिचान हो। यही एकता, सद्‌भाव र आपसी विश्वासबाट मात्र शान्त, समृद्ध र सुरक्षित नेपालको निर्माण सम्भव छ भन्नेमा हामी स्पष्ट छौँ। अन्त्यमा दंगा नियन्त्रणको नाममा लापरबाहीपूर्ण रूपले गोली प्रहार गरी नागरिकको ज्यान लिने राज्यको प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाउँदछु। यस्ता घटना पुनः दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था र आवश्यक सतर्कता अपनाउन नेपाल सरकारसँग माग गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad